भैरहवा । कोभिड महामारीमा सुरु देखि नै सकारात्मक भूमिका खेल्दै आएको प्रतिमान–निमा स्मृति प्रतिष्ठानले अहिले कोभिड–१९ बिरुद्ध लड्न १३ वटा सरकारी अस्पतालाई स्वास्थ्य सामाग्री बितरण गर्न सुरु गरेको छ । भैरहवामा रहेको प्रतिष्ठानले दोश्रो चरणको महामारी समुदायस्तरमा फैलिरहेको कारणले राज्यलाई सहयोग पु¥याउने लक्ष्य सहित “प्रोजेक्ट होप” ल्याएको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतिष्ठानले कार्यक्रमबारे जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले यस परियोजना अन्तर्गत लुम्बिनी प्रदेशमा रहेका ३ वटा प्रादेशिक अस्पताल र १० वटा जिल्ला अस्पताललाई स्स्वास्थ्य सामाग्री प्रदान गरिने जानकारी दिईन । परियोजना अन्र्तगत प्रदेशमा रहेका अस्पतालहरुलाई अक्सिजन कन्सनट्रेटर १० लिटर को ९० थान, अक्सिजन सिलिण्डर १ सय १५ थान, मेडिकल टेन्ट ५ थाल, वाईप्याप मेसीन ५ थान, आईसियु बेड ५ थान, पीपीई सेट १ हजार २ सय थान, सेनिटाईजर १ हजार १ सय ५० लिटर, सर्जिकल मास्क १२ हजार थान, सर्जिकल ग्लोब्स २ हजार थान, फेससिल्ड ४ हजार थान, सर्जिकल क्याप ४ हजार थान वितरण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिईन ।
लुम्बिनी प्रदेशमा रहेका लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, भेरी प्रादेशिक अस्पताल, भिम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल परासी, कपिलवस्तु अस्पताल तौलिहवा, रामपुर अस्पताल पाल्पा, गुल्मी अस्पताल तम्घास, अर्घाखाँची अस्पताल सन्धिखर्क, प्यूठान अस्पताल विजुवार, रोल्पा अस्पताल लिवाङ, रुकुम अस्पताल रुकुम पूर्व र बर्दिया अस्पताल गुलरियालाई उक्त सामाग्री प्रदान गरिने छ ।
यस्तै प्रतिष्ठान र संगसंगै संस्थाको संयुक्त आयोजनामा जेठ १७ गते देखी जिल्लाका ३ वटा पालिकाहरुमा पनि सहयोग गर्दै आएको छ ।
रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकामा सञ्चालन भएका आईसोलेसन र कोभिड विशेष अस्पतालहरुमा पनि सामग्री वितरण गर्ने भएको छ । प्रतिष्ठानले प्रत्येक पालिकामा अक्सिजन कन्सनट्रेटर १० लिटरको १ थान, अक्सिजन सिलिण्डर ५ थान, पीपीई ५० थान, सेनेटाईजर ५० लिटर, सर्जिकल मास्क १ हजार थान, सर्जिकल ग्लोब्स ५० थान, फेससिल्ड ५० थान, सर्जिकल क्याप ५० थान वितरण गर्ने जनाएको छ । यस्तै ती तिनवटै पालिकाका नागरिक ३ महिना सम्मका लागी कोभिड संक्रमणबाट मृत्यु भएमा आश्रित परिवारलाई काजक्रियामा सहयोग पु¥याउनन १० हजार प्रदान गर्ने कार्यक्रम समेत रहेको कार्यकारी निर्देशक थापाले जानकारी दिइन् ।
स्मरण रहोस यस अघि पनि कोरोनाको पहिलो चरणमा प्रतिष्ठानले भैरहवामा रहेको आफ्नो भवन क्वारेन्टाईन र होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्न दिएको थियो । करिब ९ महिना सम्म सोही भवनमा सञ्चालन भएको क्वारेन्टाईन र होल्डिङ सेन्टरबाट करिब २४ हजार नागरिकलाई उनिहरुको गन्तब्य सम्म पुर्याइएको थापाको दावी छ । यस्तै प्रतिष्ठानले रोहिणी गाउँपालिकाको आइसोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यककर्मी र बिरामीको लागी ३ महिनासम्मको लागि निःशुल्क खानाको ब्यवस्था समेत गरेको छ । ‘प्रोजेक्ट होप’ अन्तर्गत बुधबार मात्रै रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा सामाग्रीहरु प्रदान गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठबाट स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया