असार २७,
ग्लोबल आवाज
बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री सहित छिमेकी देश चीनको दुई प्रान्त सिचुवान र क्वीचौ भ्रमणमा गएको २० सदस्यीय टोली स्वदेश फर्किएको छ । चिनिया कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा दश दिनका लागि भ्रमणमा गएको टोलीले विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन/भ्रमण गर्ने अवसर प्राप्त गरेको जनाएको छ ।
भ्रमणमा केही महत्वपूर्ण समझदारी समेत गरिएको छ । प्रदेश नम्बर पाँच र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर गरेपछि सिचुवान प्रान्तका गभर्नर इन लीले चीन र नेपालबीच असल छिमेकीको सम्वन्ध रहिआएको भन्दै यस्तो उच्चस्तरको भ्रमणले आगामी दिनमा दुई देशबीच र प्रदेश–प्रदेशबीच थप असल सम्वन्ध स्थापित हुने विश्वास व्यक्त गरिएको छ । छलफलमा गभर्नर लीले यो समझदारीले प्रदेश नम्बर पाँचका जनता र सरकारबीचको सम्बन्ध अघि बढाउन पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्रीले यो भ्रमणले दुई प्रदेश, पालिका र जनताबीचको सम्बन्ध अझ बलियो हुने र दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन बल पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा उनले गर्भनर लीलाई शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश पाँच भ्रमणको लागि निम्ता दिए ।
त्यसैगरी मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उपप्रमुख शाओ ल्याङ्गबीच भेटवार्ता भयो । भेटवार्तामा मुख्यमन्त्रीले नेपाल चीन सम्बन्ध निकै पूरानो भएको र यो सम्बन्धलाई प्रगाढ बनाउँदै लैजान द्विपक्षीय भ्रमणले सघाउ पुरयाउने विश्वास व्यक्त गरे । उनले नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले विआरआई नेपाल चीनबीचको कनेक्टिभिटीको महत्वपूर्ण हिस्सा बन्ने र विआरआई मार्फत रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोडिने कुराले प्रदेश पाँचका नागरिक खुशी भएको बताएका छन् ।
उपप्रमुख ल्याङ्गले नेपालले लिएको एक चीन नीतिको प्रतिबद्धताप्रति धन्यवाद दिदै समृद्ध नेपाल र खुशी नेपाली बनाउने लक्ष्यमा चीनको सहयोग रहने बताए । त्यसैगरी भ्रमणकै क्रममा दाङको घोराही उप–महानगरपालिका र सिचुवानको यान सीटीबीच पनि भगिनी सम्वन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र यान सिटीका उपप्रमुख खाइहुन शोङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा यान सिटीका प्रमुख चीन टओको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी भ्रमणकै क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका र क्वीचौ प्रदेशको ल्युफाशोय सहरबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । तीन ओटै समझदारीपत्रमा भएका हस्ताक्षरले दुई देशबीचको सम्वन्ध, दुई देशबीचका जनताको सम्बन्ध र दुई देशबीचका संगठनको बीचमा अझ प्रगाढ सम्वन्ध स्थापित हुँदै जाने विश्वाष व्यक्त गरिएको छ ।
प्रतिक्रिया