ताजा अपडेट »

आज शुक्ल एकादशी : घर-घरमा तुलसी रोपीदैँ

शुक्रबार, २७ असार २०७६

असार २७,
ग्लोबल आवाज

बुटवल । आज असार शुक्ल एकादशी, हिन्दू धर्मावलम्बीको घर–घरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइएको छ ।यस दिन हिन्दू धर्मावलम्बीले निराहार व्रत बसी घरघरमा तुलसी रोप्ने चलन छ । घरको आँगनमा तुलसीको मठ राखी दैनिक पूजा गर्नाले रोगबाट मुक्त हुने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आजैका दिनबाट चतुर्मास व्रत समेत सुरु हुन्छ ।

आजबाट ४ महिनासम्म अर्थात हरिबोधनी एकादशीका दिनसम्म भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने वैदिक विश्वास छ । चर्तुमाशभरि कुनै पनि मङ्गल कार्य जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैनन् । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु सुरु हुन्छन् ।

वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशना गर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीको महिमा वर्णन गरिएको छ । आज ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ । हरिशयनी एकादशीका अवसरमा मुलुकभरका विष्णु मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।