ताजा अपडेट »

रुपन्देहीकाे मर्चवार भर्थापुरमा बाढी, मूल बाटो फोडेर गाउँ जोगाउने प्रयास

बुधबार, ०२ असार २०७८

भैरहवा । अविरल बर्षाका कारण रुपन्देहिको मर्चवार क्षेत्र प्रभावित भएको छ । प्रत्येक बर्ष जसो प्रभावित हुँदै आएको मर्चवारको भर्थापुर गाउमा बाढी पसेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमोहान देखि ३ किलोमिटर दक्षिण  रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भरथापुरमा पानी पसेको हो ।

सशस्त्र प्रहरी बल दुईमोहानका शसस्त्र प्रहरी नायब निरिक्षक कृष्ण बहादुर बस्नेतको कमाण्डमा डुबान क्षेत्रमा गएको टोलीले डुबानमा परेकाहरुलाई उद्दार कार्य जारी राखेको छ ।अहिले उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकोले सशस्त्र प्रहरी उद्दार टोली पूर्ण तयारी अवस्थामा रहेको सई बस्नेतले जानकारी दिएका छन् ।यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र महतको नेतृत्वमा गएको टोली उक्त क्षेत्रको कडा निगरानी सहित उद्दारमा खटेको छ ।

उद्दार टोलीले २ दिने सुत्केरी महिला सहित ७ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।लुम्बिनी सान्स्कृतिक नगरपालिका-२ भरथापुरको कुमार मल्लाह, भुलई धुनियाँ, बिपत धुनिया, चिनक धुनिया, अजित धुनियाँ, बिहरी मल्लाह, बगेद मल्लाह, लक्ष्मण मल्लाह, जगतपाल मल्लाहको घरमा पानी पसेको वार्ड नम्बर २ का वडाध्यक्ष रमेश प्रसाद निसादले जानकारी दिएका छन् ।डुबानमा परेकाहरु मध्ये केही जना छिमेकीको घरमा र केही उक्त टोलमा रहेको सामुदायिक बीउ भण्डार तथा सुरक्षित आश्रय स्थलमा बास बसेको वडाध्यक्ष निसादले जानकारी दिएका छन् ।

यसै बीच मर्चवारको शिवपुर गाउमा बाढी पस्न थालेपछी स्थानीयले मर्चवार जाने मुल बाटो फोडेका छन । बनगाइ-मर्चवार मुलबाटोको गरगट्टी र मकरी भन्ने स्थानमा बाटो काटी पानीको निकास बनाइएको छ । यसले अहिले मर्चवार र सदरमुकाम भैरहवाको आवगमन रोकिएको छ ।