ताजा अपडेट »

तिनाउको ५ औं गाउँसभा : ३८ करोड बढीको बजेट पारित

विहीबार, २६ असार २०७६

असार २६,
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको ३८ करोड ९७ लाख ८० हजारको वजेत पारित गर्दै ५ औं गाउँसभा सम्पन्न भएको छ । आव २०७६/७७ का लागि संघिय सरकार र प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त रकम समेत जोडि बजेट प्रस्तुत गरिएको थियो ।


गाउँपालिका प्रमुख ओमबहादुर घर्तिमगरको अध्यक्षतामा भएको गाउँसभामा उपप्रमुख दमयन्ती थापाले प्रस्तुत गरेको आव २०७६/७७ को बजेटमा वडा स्तरीय विकास निर्माणका लागि प्रत्येक वडालाई १-एक करोड गरी ६ करो विनियोजन गरिएको छ । पूर्वाधार विकास, कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेको बजेटमा नयाँ सडक खोल्नका लागि ९० लाख, शिक्षाका लागि १ करोड, कृषि तथा स्वास्थ्येका लागि ६०-साठी लाख रुपैयाँ विनियोजन गरिएको छ । पशु विकासका लागि ४० लाख, लक्षित वर्गका लागि ३० लाख, फुसको छानो हटाउन ३० लाख, गाउँपालिका भवन निर्माणका लागि १ करोड तथा तिलोत्तमा माविमा प्राविधिक शिक्षा सञ्चालनका लागि ५० लाख विनियोजन गरिएको छ ।


बजेटले कृषितर्फ कागती खेती, आँप, लिची, दालचिनी र अमृसो खेतीलाई प्रोत्साहन गर्ने गरी प्राथमिकतामा राखिएको प्रमुख घर्तिले बताए । पशुतर्फ सामुहिक वाख्रा पालन, लोकल कुखुरा पालनलाई प्राथमिकतामा राखिएको छ । त्यस्तैगरी गाउँपालिकामा दुग्धउत्पादक कृषकलाई प्रति लिटर २ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने समेत गाउँसभाले निर्णय गरेको छ । स्वास्थ्ये तर्फ थप दुई वटा स्वास्थ्ये ईकाई, एक प्रसुती गृह तथा एक ल्याव सेन्टर स्थापना गर्ने कार्यक्रम रहेको छ ।
गाउँसभाले शिक्षातर्फ पालिका अन्तरगत रहेका ४ वटा माविमा होस्टेल सञ्चालन, ३ वटा विद्यालयमा नैतिक शिक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा खाने पानीका लागि एक घर एक धारा, एक घर एक सहकारी सदस्य, एक घर एक करेसा बारी लगायतका कार्यक्रमहरु रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले जानकारी दिए ।