असार २५,
भैरहवा । सुनचाँदी पसलमा बारम्बार चोरी हुँदा पनि प्रहरी प्रशासनले सुरक्षा नदिएको भन्दै रुपन्देहीका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । मंगलबार राती बैंकरोडको एसआर सुनचाँदी पसलमा करिव २५ लाख बराबरको सुन चोरी भएपछि व्यवसायीहरु सुरक्षाको माग गर्दै आज बजार बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
आज (बुधबार) भैरहवामा सुन चाँदी व्यवसायीहरुले पूर्ण रुपमा पसल बन्द गराए भने अन्य व्यवसायीहरुले आंशिक रुपमा बन्द गरेका थिए । रातको समयमा पसलमा रहेको करिव २ क्वीन्टल क्षमताको सुनको सेफ नै उठाएर लगेको सञ्चालक रोशन विकले बताए । उनले ब्यस्त बजारको पसलमा चोरी भएको भन्दै अपराधि पत्ता लगाउन प्रहरी प्रशासन समक्ष आग्रह गरेका छन् ।
यसअघि गत फागुन १७ गते पनि सोही ठाउँमा प्रेम कुमार सेन्चुरीको विके ज्वयलर्समा चोरी भएको थियो । सो चोरीमा संलग्नलाई समेत प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको व्यवसायीहरुको आरोप छ । रुपन्देही सुनचाँदी व्यवसायी संघ र सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको अगुवाईमा प्रदेश सांसद र अन्य सरोकारवालाहरु सहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन गएर ध्यानाकर्षण समेत गराएको छ ।
डेलिगेशन पश्चात भैरहवाको मिलनचोकमा व्यवसायीहरुले कोणसभा समेत गरेका छन् । व्यवसायीहरुले सुरक्षाको माग गरेका छन । लगातार चोरीका घटना भइरहे आफूहरु व्यवसाय गर्न नसक्ने भन्दै प्रहरी प्रशासनले आफूहरुको मागलाई गम्भिरता पूर्वक नलिएकोमा आपत्ति जनाएका छन् । कोणसभामा प्रदेश नम्बर ५ का सांसद सन्तोष पाण्डे, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबि विश्वकर्मा, रुपन्देही उद्योग व्यापार संगठनका महासचिव अनिल ज्ञवाली, मोबाईल संघका बिएन गुप्ता, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणी विश्वकर्मा, सचिव किस्मत विश्वकर्माले बोल्दै सरकारले व्यवसायीहरुको सुरक्षा गर्नुपर्ने भन्दै चोरीमा संलग्नलाई तुरुन्त पक्राउ गर्न आग्रह गरेका थिए । जिल्लाका सबै क्षेत्रमा सुनचाँदी पसलमा चोरीका घटना हुन थालेकाले आफूहरु त्रसित भएको व्यवसायीहरुको भनाई छ ।
प्रतिक्रिया