भैरहवा । रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका बैदेशिक रोजगारीको लागी दक्षिण कोरियामा रहेका युवाहरुले रोहिणी गाउँपालिकालाई नगद सहयोग गरेका छन् ।
दक्षिण कोरियामा बिभिन्न काममा रहेका ९ जना युवाहरुले रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको नाममा निवेदन लेखेरै सहयोग गरेका हुन । सहयोग गर्नेमा रोहिणी गाउँपालिका वडा नम्बर ३ घर भएका ताणकेश्वर मल्लाह, रमेश मल्लाह, असफाक खाँन, धरमेन्द्र मल्लाह, वडा नम्बर २ का सन्तोष यादव, सुखराम खरविन्द, दिलिप प्रजापति, वडा नम्बर ५ का सुभान अन्सारी र देवदह नगरपालिकाका बीरु मल्लाह रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनिहरु सबै जना मिलेर गाउँपालिकालाई १ लाख ४३ हजार २ सय ५४ रुपैया गाउँपालिकाको खातामै रकम पठाई दिएका छन् ।
“विपदको बेला रोहिणी गाउँपालिकालाई अन्य संघ संस्था एवम सामाजिक ब्यक्तित्वहरुले सहयोग गरेका छन् । तर बिदेश बस्ने यी युवाहरुकोे सहयोग अत्यन्तै सराहनिय छ ।” यादवले भने । बिदेशमा आफ्ना पसिना बगाएका युवाहरुले आफ्नो पसिनाको कमाइबाट मातृभूमिलाई सम्झिनु नै ठूलो कुरा भएको उनको भनाई । कोरोना महामारीको समयमा बिदेशिएका युवाहरुको सहयोगी मनलाई रोहिणी गाउँपालिकाको सदैव सम्मान रहेको उनले बताए ।
बिभिन्न सञ्चार माध्यमहरुबाट रोहिणी गाउँपालिकामा पनि कोभिडको प्रभाव उच्च रहेको र अक्सिजन लगायतको कुरा थाहा पाएर थोरै भए पनि सहयोग गरेको युवा ताणकेश्वर मल्लाहको भनाइ छ । “बिदेशमा रहे पनि आफ्नो जन्मभूमिमा अप्ठ्यारो पर्दा केही गर्नुपर्छ भन्ने लागेर हामी ९ जनाले रकम जम्मा गरेर पठाएका हौ ।” उनले भने । गाउँपालिकामा केही विपद वा समस्या परे यो रकम परिचालन होस भन्ने उनिहरुको अपेक्षा छ । भविष्यमा यस्ता सहयोग गरि रहने समेत उनिहरुले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया