ताजा अपडेट »

विश्वकप क्रिकेट : फाइनल पुग्न भारत र न्युजिल्याण्ड भिड्दै

मंगलबार, २४ असार २०७६

असार २४,
काठमाण्डौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । आज हुने सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै छन् । भारत र न्युजिल्याण्डबीचको खेल ओल्ड ट्राफोर्ड मैदानमा नेपाली समयअनुसार ३ः१५ बजे सुरु छ ।

न्युजिल्याण्डलाई पराजित गरी फाइनलमा पुग्ने र तेस्रो पटक उपाधि हात पार्ने दाउमा छ, भारत  । त्यस्तै न्युजिल्याण्डको टोली समेत भारतलाई हराएर फाइनल पुग्ने र  पहिलो पटक उपाधि जित्न आतुर देखिन्छ । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकप उपाधि जितेको थियो । न्युजिल्याण्डले अहिलेसम्म एक पटक पनि उपाधि जितेको छैन् । सन् २०१५ को विश्वकपमा फाइनलमा न्युजिल्याण्डलाई अष्ट्रेलियाले हराएको थियो ।

यस पटको विश्वकपको समूह चरणमा भारत विजेता र न्युजिल्याण्ड चौँथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । अहिलेसम्मका खेल हेर्ने हो भने भारतीय टोली निकै सशक्त देखिन्छ । भारतीय ब्याट्सम्यान रोहित शर्मा निकै राम्रो लयमा छन् ।उनले लिग चरणमा पाँच शतक र एक अर्धशतक प्रहार गरेर किर्तिमानी ६ सय ४७ रन बनाइसकेका छन् । कप्तान विराट कोहलीको प्रदर्शन समेत स्तरीय छ । कोहलीले यस पटकको विश्वकपमा ४४२ बनाएका छन् ।

यता भारतीय बलरहरु निकै चुस्त छन् । जसप्रित बुमराहले ८ खेलमा १७ विकेट लिइसकेका छन्  भने मोहमद शमीले चार खेलमा १४ विकेट लिइसकेका छन् । न्युजिल्याण्डको टोली समेत अनुभवी खेलाडीले भरिएको छ । कप्तान केन विलियम्सनको ब्याटिङ उत्कृष्ट रहेको छ । केनले लिग चरणमा  २ शतक र १ अर्धशतकसहित ४८१ रन बनाइसकेका छन् । बलिङमा लकी फर्गुसनले १७ विकेट लिइसकेका छन् । विश्वकपमा यसअघि भारत र न्युजिल्याण्ड ८ पटक भिडेका छन् । जसमध्ये ४ खेलमा  न्युजिल्याण्ड विजयी भएको छ भने ३ खेलमा भारतले जित हात पारेको छ ।