ताजा अपडेट »

जनप्रतिनिधिको पिर्के सलामी

सोमबार, २३ असार २०७६

महान राजनीतिज्ञ अब्राहम लिंकनले ‘ प्रजातन्त्र, जनताद्वारा, जनताका लागि जनताले शासन गर्ने पद्धति हो।’ भन्ने परिभाषित गरेका थिए । अर्थात् जनताको बहुमतले जनताकै हितमा जनता माँझबाटै चुनिएको शासकले शासन गर्ने पद्धतिका रुपमा उनले व्याख्या गरेका हुन् । उनले भनेजस्तै राजनीतिक अभ्यासमा यो पद्धति उत्तम मानिन्छ । यसैको आवश्यकता महसुस गरी नेपालमा पनि २००७ सालमा यो पद्धतिको सुरुवात भएको थियो ।

तत्कालिन जहाँनिया राणाशासनको १०४ वर्षे अवधीको अन्त्य गर्दै ठूलो बलिदानी नेपालमा प्रजातन्त्रको उदय भएको थियो । प्रजातन्त्रसँगै जनताले स्वतन्त्र, सुख चयनको अनुभूति गरेका थिए । त्यसका लागि आम निर्वाचन, पञ्च वर्षिय योजना, गरिबी निवारण, मुलुकी ऐन जस्ता महत्वूर्ण योजना तथा कानून बनेका थिए । तर, दुर्भाग्यवश ति योजना तथा कानून व्यववहारिक र प्रभावकारी भएनन् । अर्थात् जनताको जीवन परिवर्तन र समृद्धमा कुनै उल्लेख्य परिवर्तन आएन। त्यसैगरी राजनीतिक अस्थिरताको पनि विजारोपण भयो । प्रजातन्त्रको पद्धति रजनभावना भन्दा मुलुक राजनीतिक अस्थिरता र शासन पद्धतिमा रोमली रहयो ।

यससँगै बहुदललीय तन्त्र र राजनीतिक द्वन्द्वले निरन्तरता पायो । त्यसकै फलस्वरुप मुलुकले १० वर्षे जनयुद्ध खेप्नुपर्यो । यस समयमा करिब २० हजारको ज्यान गयो । हजारौं सयौं परिवार विस्थापित भए । लाखौं युवा विदेशिए । यसबाट मुलुकलाई सामाजिक, राजनीतिकसँगै अरबौंको आर्थिक क्षति भयो । रोजगार, उद्योग, व्यापार लगाएतका क्षेत्र प्रभावित भए । यस दौरान २१ औं शताब्दीमा हामी भन्दा पछि रहेका अन्य मुलुकहरुले विकासको फड्को मारे । तर, नेपाल झन भन्दा झन् पछि पर्यो ।

यसको मुख्य कारण राजनीतिक अस्थिरता नै हो । दलिय स्वार्थ, दलिय द्वन्द्व, एकात्मक शासन पारिवारिक राजनीति जस्ता कारक तत्व हुन् । यस्तै कारक तत्वहरु फेरि सल्बलाएका छन् । अर्थात् वर्तमान जनप्रतिनिधिहरुमा पनि त्यहिँ लक्षण देखएको छ । यसै महिना मात्र करिब एक दर्जन बढी स्थानका जनप्रतिनिधिहरुको पिर्के सलामी सार्वजनिक भएका छन् । र, ति पिर्के सलामीका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । जनताले चुनेका प्रतक्ष्य कार्यकारी जनताभन्दा शक्तिशाली कदापि होइनन् । तर, उनीहरुले आफूलाई शासक, प्रमुख र शक्तिशाली रुपमा प्रस्तुत हुन यस्ता गतिविधि गर्नु गणतन्त्रको मर्म र जनभावना विपरित हो ।

केही औपचारिक कार्यक्रममा आफ्ना प्रतिनिधिलाई सम्मानस्वरुप विशेष स्थान र आशन दिनु र जनप्रतिनिधिले त्यसलाई लिनु सामान्य हो । तर त्यहाँ उनीहको बौद्धिकता, सरलता र व्यवहारिकता आफ्नैं तवरले प्रस्तुत गर्नुपर्ने थियो । संसदमा सांसद पम्फा भुसालले भनेजस्तै सत्ता र महत्वूर्ण निकायमा आफ्ना भएकै भरमा उनका आफन्तहरुलाई पनि विशिष्ट मान्ने र सेवा प्रदान गर्ने प्रवृत्ति हटाउनु पर्दछ । गणतन्त्रको १० वर्ष बढी हुँदापनि आफ्नाका हैसियतबाट फाइदा लिने प्रवृत्ति पनि रोक्नु पर्दछ ।


जनप्रतिनिधि जनताका सेवक हुन् । जनताले आफ्नो सेवाका लागि चुनेका हुन् । सेवाबापत जनप्रतिनिधिहरुले जनताले तिरेको करबाट, तलब भत्ता लगाएत थुप्रै सेवा लिइरहेका छन् । तसर्थ यस पद्धतिमा जनता सर्वेसर्वा हुन्छन् भने जनप्रतिनिधि सेवक । तर, जनप्रतिनिधिहरुका शासकको शैली किन ? परापूर्वकालमा राजा–महाराजा, राणा जस्ता शासकले पछ्याउने शैली, शासन र व्यवहार गणतन्त्रमा सुहाउँछ ? यस्तो सोँच्ले मुलुकमा विकास र समृद्धि कसरी आउँछ ? जबसम्म जनताको आर्थिक र सामाजिक पहुँच बढ्दैन । तबसम्म दिगो विकास र समृद्धि आउँदैन ।

जनप्रतिनिधि स्थानीय स्रोत र साधनको प्रयोग र विकासमा केन्द्रित हुनु पर्दछ । शासकको प्रवृत्ति र स्वभाव त्यागेर पिर्के सलामाीलाई प्राथमिकता दिनु हुँदैन ।स्थानीय जनताकासँग जनप्रतिनिधिले सहकार्य गर्नु पर्दछ । राजा र प्रजाको जस्तो स्वभाव देखाउन गलत हो । केन्द्रबाट प्राप्त र आन्तरिक व्यवस्थापनबाट आएको बजेटको समुचित प्रयोग गरेर विकास र समृद्धितर्फ लाग्नुपर्दछ ।