ताजा अपडेट »

राष्ट्र बैंकको भवन शिलान्यास, लगानी दुई अर्ब

सोमबार, २३ असार २०७६

असार २३,
काठमाण्डौं । दुई अर्ब आठ करोडको लगानीमा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवन बन्ने भएको छ । साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने र दुई वर्षमा सम्पन्न हुने बैंकले जनाएको छ ।


वि.स. २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित भएको बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारो शिलान्यास गरिन् । भवन शिलान्यासकाअवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवर्द्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धा्रित समयमै सम्पन्न हुने कामना गरिन् ।

आमनेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । ‘कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।’

सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको दाबी गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए भने बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालय लगायत प्रभावित भए पनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाए ।