असार २२,
एन.बी.कंडेल/ग्लोबल आवाज
बुटवल । रुपन्देहीको सैनामैना स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाम नेपालकै प्रख्यात र महत्वपूर्ण धाम हो । ‘स्वयम् उत्पत्तिमान एकमात्र बोलबमधाम’ भनेर चिनिने उक्त धाममा हरेक वर्ष श्रावणी मेला लाग्ने गर्दछ । यस वर्षपनि यहि असार ३१ गतेदेखि श्रावणी मेला सुरु हुँदैछ ।
महेन्द्र राजमार्गको बुटवल–नेपालगञ्ज सडकखण्ड अन्तर्गत रानीबगियादेखि २ किलोमिटर दक्षिण रहेको यस धाम जाने मार्गमा हाल असारे विकास भइरहेको छ । अर्थात् सो बीचको सडक पिच कार्य भइरहेको छ । पिचको लागि भत्काइएको तथा तयार गर्न लागिएको उक्त सडक न पूर्ण रुपमा पीच गर्न, न त्यसै छोड्न हुने अवस्थामा पुगेको छ । सडकको अवस्था बेहाल छ ।
सैनामैना नगरपालिका वडा नम्बर १ (साविकको पर्रोहा २) मा अवस्थित बोलबम धाममा भक्तजनको मेला लाग्न ९ दिन मात्रै बाँकी रहँदा धामसम्म पुग्ने सडक बोलबम मार्ग भने अस्तव्यस्त छ । हरेक वर्ष लाग्ने मेलामा हजारौं श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ । यस वर्ष आगामी असार ३१ गते पर्ने गुरु पूर्णिमादेखि साउन पूर्णिमा (साउन ३०) एक महिनासम्म धार्मिक मेला तथा जलार्पण कार्यक्रम हुँदैछ । मेलाको पूर्वसन्ध्यामा १ सय ५० भन्दा बढी स्थानीय (एक महिनाका लागि) लुम्बिनी, त्रिवेणी, स्वर्गद्वारी लगाएत विभिन्न स्थानबाट व्यापारी आउने क्रम सुरु हुन्छ । तर मेला सुरु हुन एक हप्ता मात्र बाँकी हुँदा धाममा पुग्न भने सास्ती खेप्नुपर्दछ । धार्मिक आस्थाको केन्द्रविन्दु धामको सडक समयमा नबन्दा यो वर्षको मेला प्रभावित हुने देखिन्छ । अर्कोतर्फ वर्षातको समयमा निर्माण गरिने सडक कत्तिको गुणस्तरीय हुन्छ भन्ने शंका छ ।

सडकमा बालुवा भरिएका छन्, बीच बीचमा ढुङ्गा तथा गीट्टी थुपारीएको छ भने सडकमा भएको हिलोका कारण दैनिक आवत–जावतमा समेत समस्या छ । असार मसान्तभित्रै सडक मर्मतको काम असम्भव देखेका स्थानिय भक्तबहादुर क्षेत्रीले सरकारले समयमा नै योजना सम्झौता नगर्नुका कारण समस्या भएको उल्लेख गरे । सम्पन्न भएका काम समेत गुणस्तरीय हुनेमा उनको शंका छ ।
बोलबम धाम पुग्ने बाटोमा भइरहेको कालो पत्रेको काम हेर्दा सन्तुष्ट नभएको बोलबम धाम विकास समितिका अध्यक्ष रामबली चौधरीले बताए । ‘बर्खाको समय छ, सबै रोपाईमा लागेका छन्, पीज गर्नका लागि बिछ्याइएको प्राइमर माथि ट्याक्टर लगायतका सवारी चलिरहेका छन्, हिलो टाँसीएको छ, त्यसमै गिट्टी बिछ्याएर पीज गर्छन बाटो कसरी गुणस्तरीय होला ?’ उनले प्रश्न गरे ।
२६ सय मिटर लामो बोलबम मार्गलाई ५ मिटर चौडा हुनेगरी विस्तार गर्न ६ सय ५० मिटर लामो पर्खाल समेत लगाउनुपर्ने छ । पर्खालको निर्माणको काम समेत आधा बाँकी रहेकाले समयमा काम सक्ने अवस्था नदेखिएको स्थानीय कन्हैयालाल चौधरीले बताए ।

प्रदेश ५ सरकारको रु ३ करो १२ लाखमा योजना सम्झौता भई काम सञ्चालन भएको बोलबम मार्ग यही असार मसान्तभित्र सक्नुपर्ने पूर्वाधार विकास कार्यालय रुपन्देहीका इन्जिनियर हरी ज्ञवालीले बताए । गत वैशा २१ गते भौतिक तथा पूर्वाधार विकास मन्त्रालयमा टेन्डर स्वीकृत भई बुटवलको सिद्धार्थ दर्शन विल्डर्श प्रा.लि. ले मर्मतको जिम्मा पाएको हो ।
कम्पनीका इन्जिनियर सन्तोष गौतमका अनुसार असार मसान्तसम्म १ हजार ९ सय मिटर मात्रै सडक कालोपत्रे गर्न सम्भव छ । बोलबम मार्गको रानीबगीयादेखि ९ सय मिटर तथा त्यसपछिको ७ सय मिटर छाडेर बोलबम धाम क्षेत्रको १ किलोमिटर मात्रै पिज गर्न सम्भव हुने उनले बताए । बीचमा रहेको ७ सय मिटर क्षेत्रमा बर्खासँगै सडकमा हिलो तथा पानी जम्ने समस्याका कारण सम्भव नदेखिएको उल्लेख गरे ।

उता, भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले भने असार मसान्त भित्रै सक्नुपर्ने बताउँदै आएको छ । ‘बहुवर्षिय योजना बाहेकका सबै योजनाहरु यसै आर्थिक वर्षभित्र सकिसक्नु पर्छ’ भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अघि भने–‘समयमा काम नसक्ने कम्पनिको धरौटी जफत हुन्छ र कालो सूचीमा नाम राखिन्छ ।’ मन्त्री चौधरीले कुनै पनि निर्माण कम्पनीले आफुले सक्ने गरी कामको जिम्मा लिनुपर्ने भन्दै उनले काम गुणस्तरीय नभए कारबाही गरिने समेत बताए ।
बर्षाको समयमा बजेट सक्नकै लागि मात्र सडक मर्मतको काम गर्ने हो भने गुणस्तरीय नहुने देखिन्छ । सडक कालोपत्रे गर्नका लागि सव वेस, वेस, रोलिङ, प्राईम गर्ने, फस्ट पोर्ट तथा सेकेन्ड पोर्ट गरी ६ चरणको काम सक्नुपर्ने हुन्छ । पानी परिरहने तथा हिलाम्य बाटोमा गरिएको कालोपत्रे गुणस्तरीय नहुनुका साथै बजेट सक्ने मेसो बाहेक केही नहुने जानकारहरु बताउँछन् । असार मसान्तसम्म रानीबगियादेखि दक्षिण र धामदेखि उत्तरतर्फको सडक पिच गर्न सम्भव भएपनि बीचको ६ देखि ८०० मिटरसम्म हिलाम्य छ । र, सो स्थानमा नालि निर्माण समेत भएको छैन । तर, पिच गर्दा गुणस्तर नहुने तथा पिज नगर्दा मन्त्रालयले भने अनुसार काम नहुँने भएपछि दुबै अवस्थामा कम्पनी कारबाहीमा पर्ने देखिन्छ ।

प्रतिक्रिया