गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक गुरु कुञ्जरमणी गौतमज्यूको कोरोना संक्रमणबाट एक्कासी मृत्यु भएको दुःखद खबरले सारा गुल्मेलीहरुलाई स्तब्ध पार्यो । यसो भेट्यो कि फिस्स हाँसेर मात्रै सञ्चो बिसञ्चो सोधपुछ गरिहाल्ने मृदुभाषी श्रृद्धयः गुरुलाई भने हामीले संक्रमित भएको थाहा मात्रै पायौं । तर, उहाँको स्वास्थ्य अवस्था सोध्न र अन्तिम पटक त्यो मुहार नियाल्न पनि पाएनौं । हामीले कुरै नगरौं परिवारकै कतिपय सदस्यहरुले धित मारेर अन्तिम पटक त्यो मुहार हेरिरहन र सुम्सुमाउँदै सधैँका लागि बिदाइका आँशु बगाउन पनि पाउनु भएन।
रेसुङ्गा नगरपालिका–१४ , साविक पराल्मी गाविस–६ रातामाटामा पिता रुकमांगत गौतम र माता हरिकला गौतमको कोखबाट २०२३ साल मंसिर १५ गते जेष्ठ सुपुत्रका रुपमा जन्मिनुभएको स्वर्गिय गौतमको अग्रेजी बिषयमा पिएचडी गर्ने धोको अधुरै रहन पुगेको छ । अग्रेजी बिषयको एमफिल सकेर पिएचडीमा अध्ययनरत भइरहेको बेला उहाँको मृत्यु भएको स्वर्गिय गौतमकी बहिनी ज्वाँई तम्घासका तुल्सीराम पाण्डे बताउनुहुन्छ ।‘उहाँ पिएचडी अध्ययनरत हुनुहुन्थ्यो। पाण्डेले पिएचडी गर्ने धोको अधुरै रह्यो ।’ उहाँले भन्नुभयो । बैशाख २२ गते छोरी निरु गौतमको पाल्पा अर्गलीमा विवाह गरियो । छोरीको विवाहको हर्ष खुशीको एक महिना नपुग्दै उहाँको ५४ वर्षको उमेरमा कोरोना संक्रमणबाट जेठ १८ गते १० बजेर २० मिनेट जाँदा चितवन मेडिकल कलजेमा निधन भयो र उतै देवघाटमा उहाँको दाहसंस्कार गरियो । कमसेकम रिडीसम्म भई दिएको भएपनि हामी कैयौं गुल्मेलीहरु श्रद्धाञ्जली ब्यक्त गर्न र अन्तिम विदाई गर्न पुग्ने थियौं ।
उहाँका तीन दाजु भाई र एक बहिनी श्यामकला पाण्डे हुनुहुन्छ । हाल तम्घासकै क्याम्पसरोडमा घर बनाएर बसोबास गर्नु भएका गौतमकी धर्मपत्नी पार्वता भण्डारी गौतम राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वर काठमाण्डौकी नायव सुव्वा तहकीु स्थायी कर्मचारी हुनुहुन्छ । दुई छोरा दुई छोरीहरु गौतमका रहेका छन् । २०५३ सालदेखि रेसुङ्गा बहुमुखी क्याम्पसमा अग्रेजी बिषयका प्राध्यापक रहेका उहाँले सयौं दक्षजनशक्ति उत्पादन गर्नु भएको छ । त्यस क्यम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्री भन्नु हुन्छ । ‘हामीले एउटा होनाहार सहयोगी र अंग्रेजी बिषयका एक जना दक्ष प्राध्यापक गुमाएका छौं।’ अग्रेजी बिषयका विश्वभरका शिक्षक, प्राध्यापकहरुको छाता संगठन नेल्टा गुल्मीको संस्थापक रहनु भएका गौतम त्यस संगठनमार्फत अमेरिका , बेलायत , क्यानाडा नर्वे लगायतका विभिन्न मुलुकको भ्रमण गरी सक्नु भएको क्याम्पस प्रमुख खत्री बताउनुहुन्छ ।
उहाँले लामो समयसम्म रेसुङ्गा संरक्षण समितिको सचिव रहेर रेसुङ्गा धार्मिक क्षेत्रको संरक्षण र बिकासमा अतुलनिय योगदान पुराउँदै आाउनु भएको थियो । रेडियो रेसुङ्गाका सञ्चालक मध्येका एक उहाँ पत्रकारिता र लेखन क्षेत्रमा पनि कलम चलाउनुहुन्थ्यो । जिल्लाका विभिन्न वित्तिय संस्थाहरुमा समेत आबद्ध गौतमको सामाजिक क्षेत्रमा अग्रणी भुमिका रहेको सदरमुकामबासी बताउँछन ।यसरी हामीले एक झल्को देख्न पनि नपाई थुप्रै प्रियजन गुमाएका छौं । कतिपयको मृत्यु भएको खबर पनि धेरै पछि मात्र थाह पाउने गरेका छौं । पछिल्लो लकडाउन सुरु नहुने दिनसम्म तम्घास पुतली बजारकी पार्वता गौतम दिदी संग मेरो अफिस आवत जावत गर्ने बाटो त्यही भएका कारण पुतलीबजार चोकको पसलमा दिनहुँ जसो भेट हुन्थ्यो । अघिल्लो बर्षको कोरोना संक्रमणका बेला त्यो बाटो हिड्दा संक्रमणबाट जोग्गिएर हिडनु हैं भाई भनेर मलाई हरबखत सम्झाउनु हुन्थ्यो ।
थुप्रै सामाजिक कार्यमा पनि उहाँको र मेरो सहकार्य हुन्थ्यो । दोश्रो कोरोना लहरको सुरुवाती क्षणमा पनि उहाँ संग भेट भई रहन्थ्यो । जव उहाँलाई कोरोना संक्रमणले छोयो त्यस पछि एउटै टोलमा बस्ने हामी दुरादेशको अपरिचित मानिस जस्तो बन्नुपर्याे र भेट नै नभई उहाँलाई गुमाउनु पर्यो । कोरोना संक्रमणको पछिल्लो लहर अघि सम्म दिनहुँ विहानमासंगै बसेर पसलमा चिया पिउने ती साथी–संगी अहिले कहाँ कुन अवस्थामा छन् थाहा छैन । साँझमा तिनीहरुसंगै बसेर खाजा नास्ता नगरे के नै बिर्सिए जस्तो लाग्थ्यो । पछिल्लो चरण उनीहरुसँग नबसेको झण्डै एक महिना भयो ।
ती मध्ये यति नजिकको सम्बन्ध रहेका कतिपय प्रियजनहरुको त्यो अन्तिम भेट यता मुहार पनि हेर्न नपाई गुमायौं हामीले । अरु कुरा छाडौं संगै घर जोडिएका मानिसहरुको मुहार समेत हेर्न पाएनौं र मृत्युको खबर समेत ढिला पायौं । मैले जमनामा एउटा कविताको हरफ लेखेको थिएँ–‘ कति टाढा भयौं हामी आज एउटै शहरमा…’ तर, अहिले त एउटै शहरमा मात्रै हो र ? एउटै घरमा कति टाढा भएका छौं हामी ।
मैले मेरै कुरा गर्छु । मेरो घरबेटी दाइलाई नदेखेको झण्डै एक महिना हुन लागि सक्यो । कित भने दिनहुँ जसो उहाँसंग हेल्लो–हाई हुन्थ्यो । म विहानै उठ्छु र अफिस तिर लाग्छु । दिउँसो कोठामा खान खान जान्छु । त्यसपछि फर्केर साँझ ८ बजेतिर कोठामा पुग्छु । तर, घरबेटी दाईलाई भेट्नै पाएको छैन । घरको तेश्रो फ्लाटमा उहाँको परिवार बस्छ । दोश्रोमा एक जना दिदी बस्नु हुन्छ र सबैभन्दा तलको फलाटमा हाम्रो परिवार बस्छ । म कोठामा गएको बेला तल माथि गर्न भ्याँउँदिन।
घरबेटीदाई तल गोठ र बारीमा झर्नु हुन्थ्यो । तर, आजकल झरेको देख्दिँन । घरमा सोध्छु , उहाँ र उहाँको परिवार सञ्चै राम्रै छ रे। यसो सोँच्छु कतै म आफैलाई कोरोनाले छुन्छ र घरबेटी दाजुसँग भेटै नहुने पो हो कि ? खै कहाँ छन् ती नजिकका साथी–संङ्गीहरु ? कहाँ छन ती चिया पसल र होटल रेष्टुरेन्टका निकै झम्मिएर बोल्ने ति फरासीला दाजु भाई दिदी बहिनीहरु ? परिचित भएपछि असाध्यै नियास्रो लाग्दो रै’छ । बाटमा हेसो हे¥यो मास्कले चिन्न पनि ग्राहो । अँस्ती मेरै म्याडम भिमचोक तिरबाट आई रहेको रहिछन तर म आफ्नै श्रीमतिलाई चिन्न सकिन । साँच्ची हे प्रियजनहरु असाध्धै नियास्रो लागेको छ, अब कहिले भेट होला हाम्रो ?
एउटै गाउँ–टोल,एउटै शहर र अझ एउटै घरमा कति टाढा भयौं आज हामी ? यस्तो दिन चाँडै हामीबाट टाढा होस् । म वेहद प्रतिक्षामा छु ति प्रियजनहरुसँग भेट्न–बोल्न । हे ईश्वर, चाँडै ती दिनहरु ल्याइदेउ ,आदरणीय गुरु कुञ्जरमणी गौतम र श्रृद्धयः दिदी पार्वता गौतम लगाएतलाई जस्तो एक झल्को देख्न नपाई गुमाउन नपरोस् । उहाँहरुको भौतिक शरिर हामी माझ नरहेपनि सामाजिक क्षेत्रमा उहाँहरुले पुराएको योगदान कदापी मर्ने छैन । गुल्मेली माझ चिरस्मण रहिनै रहने छ । म विवश छु, नचाहेर पनि भावपूर्णं श्रद्धाञ्ली भन्न । गुरु गौतम र दिदी गौतम सहित कोरोना संक्रमणबाट ज्यान गुमाउने सारा प्रियजनहरुप्रति भावपूर्ण श्रृद्धाञ्जली. अर्पण गर्दछु ।
प्रतिक्रिया