ताजा अपडेट »

खान-लाउन अभाव भएपछि जोखिममै तरकारी व्यापार

आइतबार, २३ जेठ २०७८
1 Shares

बुटवल । लकडाउन अघिका दिनहरूमा बुटवलको हाट बजारमा कपडा बेच्ने शकुन्तलादेवी आज-भोलि अपरान्हको ४ बजे जेसिस चोकमा भेटिन्छिन् । उमेरले ५० पुगेकी उनी साइकलमा क्यारेट भरी तरकारी लिएर परिवारको पेट पाल्नकै लागि तररकारी बेच्न आउँछिन् । मुखमा मास्क छ । हातमा कहिलेकाँही पञ्जा पनि लगाउँछिन् । उनी यसरी आउनु आफ्नो बाध्यता भएको बताउँछिन् । कोरोना महामारी देशमा भित्रिए लगत्तै निषेद्याज्ञा/लकडाउन भइदियो । लकडाउनले चलिरहेका उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट , पसल, हाटबजार, सिनेमाहल , स्कुल , व्यवसाय र निर्माणाधिन सम्पूणर् कामहरू ठप्प भए । सुरु-सुरुमा त केही समयसम्म भएपनि आराम मिल्ने भयो भनेर धेरै जना खुसी भए । तर विडम्बना यसले धेरै मजदुरी गर्नेहरूको गाँस खोसियो ।

अघिल्लो लकडाउन लामो भएकोले निकै समस्या परेको सुनाउँदै उनले अहिले समस्या नपरोस भनेर कागती, अदुवा, लसुन बेच्न थालेको बताउँछिन्। उनले भनिन् -‘अघिल्लो पटक खान बस्न नै धौ-धौ भएको थियो, निकै दुःख पाएका थियौँ, केही राहत पाएपनि दैनिक जीवन धान्नको लागि निकै नै समस्या भएको थियो ।’ घरमा उनीसँगै ५ जना सदस्य छन् । तर, कमाउने उनी मात्रै । यसले पनि उनलाई निकै दबाब छ । उनी भन्छिन्- ‘परिवारका सदस्यहरु १ छाक खानै नपाएको भरमा कतै मर्ने हुन् कि भन्ने डरले जहिले सताउँछ त्यसै माथि घरवेटिहरु महिना सकिनासाथ भाँडा माग्न आउँछन।, यहाँ खान लगाउन धौ-धौ भईरहेको बेला कसरी तिर्ने भाँडा? कोसँग गएर गुहार माग्ने? निकै गार्हो छ बाँच्न, त्यसैले अहिले हामि जस्तो मान्छेलाई रोगले भन्दा पनि भोकले मर्ने होकि भन्ने हुटहुटीले सताई रहन्छ ।’

कोरोनाकै कारणले उनले चिनेका जानेका केही आफन्तीहरूको ज्यान गयो । उनको मनमा अत्याधिक डर पैदा भएपनि बालबच्चाको मुख हेरेर तरकारी बेच्न आउने गरेको उनले सुनाईन । थप्छिन साँझको केही घण्टा बसेर तरकारी बेची घरमा जाँदा मनमा खेलेका अनेक कुराहरूले विछिप्त बनाउँछ । आँखाका डिलमा आँसु लुकाउदैे कतै म बाट मेरा परिवार झन जोखिममा पर्ने त हैनन भन्ने कुराले निकै सताउने गरेको सुनाइन् । भुइँतिर हेर्दै घर जाँदासाथ नुहाउने धुने, सकेसम्म एक्लै बस्ने गरेको सुनाउँदै भनिन् - अब कहिलेसम्म होला है यो कोरोना , अझै कति दिन हामीले आफ्नो मर्ने दिन गनेर बस्ने होला ?’

उनी मात्र होइन यता बुटवल गोलपार्कमा १ तले घर भएकी ५३ वर्षकी दुर्गा भन्डारीको पनि उस्तै छ कथा,व्यथा । यो लकडाउनमा घरपरिवार पाल्न र आफ्नो जिविका चलाउन रोगसँग जोखिम मोलेर डोकोमा तरकारी बेच्दै आएकी छन् । कहिले गोलपार्क भित्री क्षेत्र त कहिले जेसिस चोक, उनी डोकोमा हरियो तरकारी बोकेर डुल्छिन् । जेठको गर्र्ममा पसिना पुछ्दै उनले भनिन् ॅछोरा बुहारी घरमा भएपनी आफ्नो लागि गर्दिने को नै हुन्छ र?’ बुटवलमा घर हुनु मात्रै ठूलो कुरा नभएको बताउँदै जिविकोपार्जन गर्न निकै गार्हो भएको उनी बताउँछिन ।
ॅतरकारी किन्न आउने चिने-जानेकाहरुले बुटवलमा घर भएर पनि किन तरकारी बेँच्दै हिँडेको आमा भनेर सोध्छन् म धेरै कुरा नगरी ॅपेट पाल्न’ भनेर जवाफ दिन्छु ।’ उनले भनिन् । मनमनै वुटवलमा घर हुँदैमा धनी हुने भए म किन आउँथे र तरकारी बेच्न मलाई कुनै रहर छैन । यो चर्को घाममा खटिन भन्दै कुरा खेल्ने गरेको उनी बताउँछिन् । आफूहरुको अवस्था निकै कमजोर रहेकोले यसरी तरकारी बेच्दै हिँडेको सुनाइन्।
ॅतरकारी बेच्न पनि कहाँ सजिलो छ र कताबाट नगर प्रहरीले देख्ला भन्ने डर मनमा हुन्छ ,प्रहरीले सिरररर सिठि बजाएर धपाउँदा सकि-नसकी डोको हातमा छोपेर भाग्दा कति तरकारी त्यँिह खसेको हुन्छ ।’उनले गुनासो पोखिन् ।

आफ्ना गुनासा पोख्दा यनी मलिन देखिन्थिइन् । तर, निरन्तर बोलिरहिन्,यस्तो समस्या हामी जस्ता न्यून आयआर्जन भएका ब्यक्तिहले भोगिरहेका छौं। अघिल्लो लकडाउनमा केही समय ठिकै चल्यो तर, पछि-पछि बिहान साँझ खान समेत धौ-धौ भएपछि अहिले जोखिम मोलेरै तरकारी बेच्न हिडेँकी हुँ ।’ उनीहरु त एक उदाहरणीय पात्र मात्रै हुन् । उनीहरु जस्तै तरकारी बेच्नहरुलाई पाल्पा बसपार्कदेखि लक्ष्मीनगरसम्म देख्न सकिन्छ । प्रहरीको आँखा छल्दै तरकारीहरु बेच्ने गरेको उनीहरु बताउँछन । प्रहरीले देख्नासाथ धपाउने गरेको उनीहरुले बताउँछन् ।
जिविकोपार्जन गर्नको लागि केही न केही गर्नुपर्ने भएपनि पछिल्लो समय कोरोनाको कारणले गर्दा धेरै रोजगारबिहिन बन्दा अन्य कार्यहरु गरिरहेका छन् । यता पछिल्लो समय बुटवल उपमहानगरपालिकाले आफ्नो पालिका भित्र बसिरहेका ब्यक्तिहरुलाई खान समस्या भए राहत उपलब्ध गराउने जनाएको छ । यसले रोजगार गुमेका र दैनिक जीवन जिउन समेत समस्या भएका ब्यक्तिलाई केही राहत हुने उपमहानगरले जनाएको छ ।