पानी रहे जमिन रहन्छ, जमिन रहे रुख ।
जल,जमिन,जंगल रहे, मिल्छ बल्ल सुख ।।
पृथ्वीमा आफै उत्पन्न भएका सम्पूर्ण सम्पदाहरुलाई प्राकृतिक श्रोत भनिन्छ । यिनै प्राकृतिक श्रोतको समग्र रुपलाई नै प्रकृति भनिन्छ । प्रकृति अन्तर्गत जल, जमिन, जंगल, भूबनोट, खनिज मात्र हैन यिनले सिर्जना गर्ने अवस्था वा परिवेश पनि पर्छन् । मानिस लगाएत सम्पूर्ण सजीवहरुको अस्तित्व प्राकृतिक श्रोतमा नै अडेको हुन्छ । मानिसको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र मनोरन्जन जस्ता कुराहरु प्रकृतिले नै निर्धारण गरिदिएको हुन्छ, त्यसैले प्रकृतिलाई जीवन भनिन्छ ।
जब हामीहरु आमाको गर्भमा हुर्केका हुन्छ, त्यसबेला आमामै निर्भर रहेका हुन्छौ र जन्मेपछि प्रकृतिमा आश्रित हुन्छौ । बाँच्नको लागि सास फेर्ने अक्सिजन रुख विरुवाबाट प्राप्त हुन्छ । हामीले फालेको कार्बन डाइअक्साइड यिनै बिरुवाले लिन्छन्। विरुवा नहुदो हो त हामीहरुले काठपात, जडिबुटी र खाद्यान्न प्रयोग गर्न कदापि पाउने थिएनौं । हाम्रो शरीरमा ६० प्रतिशतसम्म पानी हुन्छ । यो पानीको श्रोत हाम्रै वरिपरिका तालतलैया, नै नाला र मूलहरु हुन् । यी श्रोतहरु नहुने हो भने मानिसहरुले पानी कहाबाट प्राप्त हुन्थ्यो अनि पानी नहुदो हो त अहिलेसम्म मानव लगाएत अन्य प्राणीहरुको अस्तित्व कसरी जोगिन्थ्यो होला ?
हामीहरु जमिनलाई धर्तीमाता भन्छौं । पूजा–आजा गर्दा शुरुमा ओम पृथ्वी शान्ति… भन्दै जमिनकै पूजा गर्छौ । जमिनलाई त्यत्तिकै धर्तीमाता भनिएको हैन,जमिनले हामीलाई अडिने ठाउँ दिएको छ, सम्पूर्ण सजीवलाई आश्रयस्थल उपलब्ध गराएको छ । पृथ्वीलाई जीवित बनाउने पानी र वनस्पतिहरु यहि धर्तीमा रहेका छन् । जमिनको उर्वराशक्तिले गर्दा नै खाद्यान्न उत्पादन गर्न सकिएको छ । प्राकृतिक सुन्दरतादेखि खनिज सम्पदासम्म यहिँ जमिनबाट प्राप्त गर्न सकिएको छ ।
मानवजाति जल, जमिन र जंगलले निर्माण गरेको प्रकृतिमा उत्पन्न हुन्छ, यसको उपयोग गर्दै रमाउँछ र जीवन चलाउछ । प्रकृति मानिसको आफ्नै जीवन हो । तर, मानिसले आफ्नो भौतिक शरीरको एक प्रतिशत मात्र पनि प्रकृतिलाई माया गरेको देखिँदैन । आफ्नो स्वार्थ पूरा गर्न, विलासी जीवन ज्यून प्रकृति माथि निर्दयी व्यवहार गरिरहेको छ । जंगल मासेर खेत बनाउने, खेत मासेर कंक्रिटका जंगल बनाउने , खोला र तालहरु मासेर बस्ती बनाउने कुरा अहिलेको मानव सभ्यताको लागि नौलो रहेन । बाउबाजेले घाँस दाउरा गरेका जंगलहरु नासिएर अहिले नाङ्गो पाखा बनेका छन् । हिजो हाम्रा पुर्खाहरुले देखेको वन्यजन्तुको चहलपहल अहिले एकादेशको कथा बनिरहेको छ । विकासको नाममा खेतबारीहरु भत्किएका छन्, पानीका मूल, पँधेरा र पोखरीहरु पुरिएका छन् । खनिज पदार्थको दोहनले खोलाहरु पुरिएका छन्, पहाड भत्किएका छन् । यस्ता सबै व्यवहारले प्रकृति खलबलिएको छ, रोइरहेको छ ।
प्रकृति असन्तुलित हुँदै गर्दा अहिले सम्पूर्ण मानिसहरु नै अफ्ठ्यारो अवस्था पुगेका छन् । खानेपानी, स्वच्छ हावा, पर्याप्त खाद्यान्नको समस्या जताततै बढिरहेको छ । जल, जमिन र वायु प्रदूषणले गर्दा जलवायु परिवर्तन भैरहेको छ । तापक्रम बृद्धि, जलचक्रमा परिवर्तन, रोगको संक्रमणमा वृद्धिले मानिसलाई सताइरहेको छ । प्रकृतिमा देखिएका यस्ता समस्याहरुले विभिन्न प्राणि र वनस्पतिहरु लोप हुने क्रमले तीव्रता पाएको छ । यस्तो अवस्था रहिरहे मानिसको अस्तित्व कति समयसम्म जोगिएला ?
प्रकृति रहेसम्म मात्र जीवन सम्भव छ.मानिस लगाएत सम्पूर्ण सजीवहरुको जीवन जोगाउनको लागि प्रकृति संरक्षण गर्नु जरुरि छ । प्रकृति संरक्षणको लागि प्रकृतिमैत्री व्यवहार गर्नु पर्छ । जलवायु परिवर्तन अहिलेको मुख्य समस्या भएकोले हरितगृह प्रभाव कम गर्ने, जलवायु परिवर्तन अनुकूल व्यवहार गर्ने काम गर्नुपर्छ. जल जमिन र जंगलमा परिरहेको चाप कम गर्नको लागि प्राकृतिक श्रोतहरुको कम प्रयोग, पुनः प्रयोग र पुन चक्रण जस्ता कामहरु गर्नुपर्छ । भूक्षय नियन्त्रण, खनिजको दोहनमा नियन्त्रण, वृक्षारोपण, अब्यवस्थीय शहरीकरण नियन्त्रण , वातावरण मैत्री विकास , स्वच्छ औद्योगिकरण जस्ता कार्यहरु गर्नु पर्दछ । प्रकृति संरक्षण र सन्तुलन हुन सकेमा मात्र हाम्रा आवस्यकता अनुसार वस्तुहरु प्राप्त गर्न सकिन्छ र जीवनलाई दीर्घकालसम्म सुखि र सुरक्षित राख्न सकिनेछ ।
अन्तमा,
पानी जोगाउँ, रुख जोगाउँ, जोगाउँ प्रकृति ।
प्रकृति जोगिए जोगिन्छ जीवन, जोगिन्छ सस्कृति ।।
-लेखक कंडेल कालिका मानवज्ञान माबि,कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।
प्रतिक्रिया