ताजा अपडेट »

शोएब मलिकले लिए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

शनिबार, २१ असार २०७६

इंल्याण्डमा जारी एकदिवशीय विश्वकप क्रिकेटबाट टीम बाहिरिएलगत्तै पाकिस्तानका क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शुक्रबार सन्यासकाे घोषणाा गर्दै उनले जारी विश्वकपमा पछिल्ला दुई खेलमा आफ्नो प्रदर्शनप्रति निराश बनेको बताए ।  शोएब मलिकले अन्तिम वन डे जारी विश्व कपमा भारतविरुद्ध १६ जुन खेलेका थिए । उनी पहिलो बलमै शून्य रनमा आउट भएका थिए । त्यसपछि उनी आलोचकको निशानामा परेका थिए । जारी विश्वकपमा उनी त्यसपछि टीममा परेनन् । 

२० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले भनेका छन्, ‘वर्ल्ड कपपछि वन डे करियरबाट सन्यास लिन्छु भनेर मैले पहिले नै भनेको थिएँ, आज म यहाँ यसको घोषणा गर्दछु । मेरा फ्यानहरुलाई धन्यवाद जसले मलाई समर्थन गरे । म सबैलाई माया गर्छु ।’

बंगलादेशविरुद्ध पाकिस्तान विजयी भएपछि शोएब मलिक मैदानमा आएपछि पाकिस्तानी टिमका सबै खेलाडिहरुले दुईतिर उभिएर उनलाई सम्मानस्वरुप गार्ड अफ अनर दिए ।

शोएब मलिकले सन् १९९९ अक्टुबरमा वेष्टइन्डिजविरुद्धको खेलबाट वन डे करियर सुरुवात गरेका थिए । उनले पाकिस्तानका लागि कुल २८७ खेल खेले । नौ शतक र ४४ अर्धशतकका साथ उनले ७ हजार ५ सय ३४ रन बनाए । उनले १५८ विकेट पनि लिए ।त्यस्तै उनले ३५ टेस्ट म्याच खेलेका छन् भने १११ टी २० म्याच खेलेका छन् । 

विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा हुँदा अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्युजिल्याण्डको स्थान पक्का भएको छ । बंगलादेशलाई जिते पनि नेट रन रेटमा न्युजिल्याण्डभन्दा पछि परेर पाकिस्तान वर्ल्ड कपबाट बाहिरिएको छ ।