तानसेन । पाल्पामा कोरोनाको सङ्क्रमण बढेको समयमा पनि युवा कृषि कर्ममै व्यस्त छन् । खेतबारीमै काम गर्दा उत्पादन लिन र कोरोनाको जोखिमसमेत कम हुने हुँदा खेतबारी तथा गोठमा युवा बढी व्यस्त देखिएका छन् । घरआँगन, खेतबारी, गोठमा काम गर्दा सुरक्षित पनि भइने र आम्दानी लिन सकिने कृषक बताउँछन् ।
निस्दीमा च्याउ फार्म सञ्चालन गरेका शेरबहादुर सोतीले फार्ममा गरिने कामले आफूलाई सुरक्षित बनाएको र उत्पादनबाट आम्दानी लिनसमेत सहज भएको बताए । करीब सात हजार गोला च्याउ खेती गरेकामा यस वर्ष उनले ६० क्विन्टल च्याउ उत्पादन गरे । प्रतिकिलो करीब रु १५० सम्ममा बिक्री भएको सोतीको भनाइ छ ।
धर्तिमाता कृषि फार्म सञ्चालन गरेका सोतीले अन्य दुई युवासँग मिलेर सामूहिक रुपमा जैविक च्याउ फार्ममा समेत जोडिएका छन् । लुम्बिनी प्रदेश सरकारको अनुदान र आफूहरुको गरी करीब रु २८ लाख लगानीमा सञ्चालन गरेको फार्मबाट राम्रो आम्दानी लिँदै आएको उनले सुनाए। पाल्पामा विदेशबाट फर्केका युवाले जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली, माथागढी, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिका तथा रामपुर र तानसेन नगरपालिकाका विभिन्न भागमा च्याउ खेती गर्दै आएका छन् । निस्दी गेझाका पूर्णबहादुर पचभैंया २०६९ सालदेखि कृषिमा लागेर केही वर्ष गोलभेँडा, काउली, बन्दालगायत तरकारी खेती गरे पनि पछिल्लो समय यी तरकारी बिक्रीका लागि बजारको समस्या भएपछि च्याउ खेती गरेको बताउँछन् । उहाँ पनि करीब १० हजार गोलासम्म तयार गरेर उत्पादन लिँदै आएका छन् । उनका अनुसार अन्य खेतीभन्दा च्याउ खेती गर्न सहज हुने भएका कारण पनि यसतर्फ लागेको सुनाउँछन् ।
पाल्पामा उत्पादित च्याउ, कास्की, रुपन्देही, स्याङ्जा, चितवन लगायतका जिल्ला पुग्ने गर्दछ । च्याउखेतीसँगै, गाईभैँसी, कुखुरा, बङ्गुरपालनमा पनि युवाको आकर्षण छ । रामपुर नगरपालिका–८ मा विगत केही वर्षदेखि भैँसी पाल्दै आएका नरनारायण अर्यालले पनि बजारको विकास हुँदै गएको रामपुरमा दूधबाट पनि राम्रो आम्दानी लिन सकिने बताए ।
करीब रु दुई करोड ५० लाख लागतमा नागिन एग्रो एन्ड रिसर्च सेन्टर सञ्चालन गरेका अर्यालले ६३ भैँसी पालेका छन् । दैनिक २०० लिटर दूध बिक्री गर्ने अर्यालको गोठमा अहिले २४ लैनो भैँसी छन् । आफ्नै डेरीसमेत सञ्चालन गरेका उनको गोठ तथा डेरीबाट दूध बिक्री हुन्छ । भैँसीका लागि चार रोपनी जग्गा खरीद गरेर घाँससमेत रोपेका छन् ।
कृषि उत्पादन र यसपटक जिल्लामा भएको निषेधाज्ञाको समयमा पनि कृषि उपज बिक्रीका लागि सहज भएकाले पनि कृषकलाई सजिलो भएको बताइन्छ । रामपुरमै हाम्रो आधुनिक कृषि फार्म खोलेर व्यवसाय गर्दै आउनुभएका दिलबहादुर थापाले पछिल्लो समय झन् धेरै आम्दानी दिन सफल भएको बताए । उनले यस वर्ष एक महिनामा मात्रै काँक्रो, घिराँैला, करेला तथा बोडी बिक्रीबाट रु एक लाख ५० हजारसम्म आम्दानी दिन सफल भएको सुनाए।
दुई दाजुभाइ लालबहादुर र दिलबहादुरले पुष्प व्यवसायसँगै तरकारी खेती गर्दै आएका छन् । निषेधाज्ञाको समय भए पनि बिक्रीका लागिसमेत समस्या नभई स्थानीय रामपुर बजारमै तरकारी बिक्री गरेको उनी बताउँछन् । गाउँपालिकामा युवाले मौरीपालन रोजेका छन् । मिहिनेत कम लाग्ने र महबाट आम्दानीसमेत हुने भएपछि सङ्घीय सरकारको रु १२ लाख तथा कृषकको रु १२ लाख लगानीमा घ्युसीबास मिश्रित कृषक समूह गठन गरेर युवा मौरीपालनमा लागेको गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश बोहोरा बताउँछन् । वडा नं २, ३, ५, ८ र ९ का कृषकले मौरीको गोला, मह, मौरीको घारसमेत बिक्री गर्दै आएका छन् ।
विदेशबाट फर्केका युवा आफ्नै गाउँमा बसेर पनि राम्रो उत्पादन लिन सकिने भएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना कृषि व्यावसायिक उत्पादन केन्द्र पकेट कार्यक्रमअन्तर्गत कृषि कार्य गर्न थालेका हुन् । कम लगानीमै राम्रो आम्दानी लिन सकिने र गाउँघरमै बसेर पनि मनग्य आम्दानी हुने भएपछि कृषि आफ्नो रोजाइ रहेको कृषक बताउँछन् ।
प्रतिक्रिया