बुटवल । बुटवल उपमहानगरका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मीसहित आयुर्वेद औषधि बोकेर संक्रमितको घरदैलोमा पुगेका छन् ।कोभिडको संक्रमणका कारण घरमै आइसोलेशनमा बसेका बुटवलमा नागरिकलाई घर–घरमै पुगेर आयुर्वेद ओखती प्रदान गर्ने र उनीहरुको मनोबल बढाउने उनको अभियानमा नै छ । ‘महामारीलाई जित्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वयमको उच्च मनोबल हो रहेछ, यसैलाई कसरी बढाउन सकिन्छ भनेर घरदैलोमै पुगेर ढाडस दिने काम सुरु गरिएको हो’ प्रमुख सुवेदीले भने ।
बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र खनाल, सदस्य सुश्मा अर्यालसहित स्वास्थ्यकर्मीलाई लिएर शुक्रबार बिहान देवीनगर घरमै आइसोलेशन बसेका संक्रमितलाई भेट्दै प्रमुख सुवेदीले मनोबल उच्च राख्न आग्रह गरे । कुनै पनि स्वास्थ्य समस्या उत्पन्न भएमा तत्कालै सम्पर्क गर्न भन्दै उनले स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसमेतको फोन नम्बर लेखिएको पत्र दिए ।घरदैलो अभियानमा रहेका प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी र उनीहरुलाई सघाउने स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघसंस्था र निजी क्षेत्रसमेत छन् । संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने, मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्ने कामले जनप्रतिनिधिले जनताप्रति निभाउनुपर्ने भूमिका निर्वाह गरेको भन्दै संक्रमितले मेयरको अभियानलाई सराहना गरेका छन् ।
संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उनीहरुको मनोबल उचो राख्न स्वास्थ्यकर्मी लिएर मेयर सहितको टोली घरघरमा पुगेपछि यसको अरु पालिकाले समेत अनुसशण गरेका छन् । बुटवलले महामारी नियन्त्रणका लागि सञ्चालन गरेको अभियानले संक्रमितको मनोबल बढाउने मात्रै होइन सबैतिर सकारात्मक सन्देश समेत प्रवाह गरेको पत्रकार महासंघ लुम्बिनीका पूर्वउपाध्यक्ष भरत केसीले बताए । उनले मेयर नै आफै घरदैलोमा खटेर उदाहरणीय काम गरेको पत्रकार केसीको प्रतिक्रिया छ ।
हालसम्म करिब ६ हजार जनाको घरदैलोमा पुगेर आयुर्वेद ओखती प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाको नियमित जानकारी लिइएको छ । समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधीखोजी र उद्दारदेखि राहत वितरणलाई समेत संगसंगै सञ्चालन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बुटवल उपमहानगरमा हालसम्म ९ हजार संक्रमित भएको तथ्यांक छ ।
अधिकांशले संक्रमण जितेका छन् । संक्रमित भएका, लक्षण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरूको दैनिक निःशुल्क रूपमा परीक्षण भइरहेको उपमहानगरका स्वास्थ्य शाखाबाट परीक्षणको समन्वय गरिरहेकी स्वास्थ्यकर्मी गीता पाण्डेले बताइन । आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार विधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । बुटवलमा संक्रमित भएका करिब ६ हजार जनालाई आयुर्वेद ओखती वितरण गरिएको छ ।
सात्विक भोजन, योगाभ्यास र सकारात्मक शोंच राख्न भन्दै प्रमुखको सन्देशसहित अपिललाई बुटवलका स्वास्थ्य शाखाका प्रमुख उमादेवी थापा, गीतादेवी पाण्डे, युवराज पाण्डे, कल्पना भट्टराई, बैद्य निरिक्षक यमलाल भुसालसहितका जनस्वास्थ्य अधिकृत र वडा तथा टोल स्तरबाट पनि विभिन्न ठाउँमा सञ्चार गरिएको छ ।
सावधानी र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् । जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन सबैले स्वनियममा बस्नुपर्ने र मापदण्ड पालना गर्न आग्रह गरिएको हो । बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने क्रममै समुदायलाई स्वास्थ्य मापदण्ड अपनाउन र कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गरिएको प्रमुख सुवेदीले बताए । योगा, ध्यान र आयुवेद बोकेका स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया