ताजा अपडेट »

चीनले नेपाललाई दिएको कोभिड खोप कति प्रभावकारी ?

शुक्रबार, २१ जेठ २०७८

काठमाडौँ। चिनियाँ अनुदानमा प्राप्त भेरो सेल खोप अर्को सातादेखि लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार कोरोनाभाइरसविरुद्ध प्रतिरक्षा प्रणाली सुदृढ बनाउने उद्देश्यले उक्त खोप ६० देखि ६४ वर्षका नागरिकहरूलाई दिइनेछ। आगामी मङ्गलवारदेखि भेरो सेल वितरण सुरु गरिने मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बीबीसीलाई बताए।

"चिनियाँ सरकारबाट हामीलाई १० लाख मात्रा खोप प्राप्त भएको छ," उनले भने। उनका अनुसार एक जनालाई दुई मात्रा लगाउनुपर्ने भएकाले १० लाख मात्राले पाँच लाख जनालाई लगाउन पुग्छ। "हामीसँग पहिलेको केही मात्रा पनि बाँकी छ। त्यो सबै मात्रा मिलाएर हामीले राष्ट्रिय खोप कार्ययोजनानुसार ६० देखि ६४ वर्षमाथि उमेर समूहका मानिसहरूलाई लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय छ।"

अहिले नेपालमा उक्त उमेर समूहमा करिब साढे आठ लाखजति जनसङ्ख्या रहेको अनुमान छ। त्यो उमेर समूहका सबैले खोप लगाउन आएमा खोपको मात्रा पुग्छ त? भन्ने प्रश्नमा डा. पोखरेलले भने, "अहिलेको अवस्थामा त्यो उमेर समूहका सबै खोप लगाउन खोप केन्द्रसम्म नआउन पनि सक्छन्।" "हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई कोभिशील्ड खोप दिइसकिएको छ। अन्य कतिपय जिल्लामा पनि दिइएको छ। त्यसैले अहिले भएको खोपले पुग्ने हाम्रो अनुमान छ।"

Presentational white space

उमेर समूह चयनको कारण

पोखरेलका भनाइमा यसअघि सरकारले ६५ वर्ष माथिका नागरिकलाई कोभिशील्ड खोपको पहिलो मात्रा दिइसकेकाले यसपालि उक्त उमेर समूहलाई चयन गरिएको हो। "यो खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने भनेर डब्ल्यूएचओले पास गरेको छ त्यसले गर्दा यो उमेर समूह भन्ने छैन।"

"हामीले ६५ वर्षभन्दा माथिकालाई लगाइसकेकाले अहिलेको प्राथमिकतामा ६५ भन्दा मुनि र ६० वर्षभन्दा माथिलाई राखिएको हो। अहिलेको खोप सकिएपछि पनि फेरि खोप आउँछ त्यसपछि अन्य उमेर समूहलाई पनि क्रमश: लगाइँदै जाने योजना छ।" यसअघि चिनियाँ अनुदानमै प्राप्त भेरो सेलकै आठ लाख मात्रामध्ये केही खोप अहिले बचत रहेको उनले बताए। उक्त खोप वाग्मती प्रदेशका सात जिल्लामा १८ देखि ५९ वर्षका नागरिकहरूलाई लगाइएको थियो।

मन्त्रालयका अनुसार ती जिल्लाका करिब तीन लाख नागरिकले भेरो सेलको खोपको पहिलो मात्रा लगाएका थिए। दोस्रो मात्रा पनि पूरा गर्नेको सङ्ख्या भने केही कम छ। मन्त्रालयको विवरण अनुसार नेपालमा हालसम्म कोभिशील्ड र भेरो सेलका गरी दुवै मात्रा खोप पूरा गर्नेको सङ्ख्या सात लाख जनाभन्दा बढी पुगिसकेको छ। त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या २१ लाखभन्दा बढी भएको छ। तर कोभिशील्ड खोप आउने निश्चित नहुँदा पहिलो मात्रा लगाएका लाखौँ मानिसहरूले दोस्रो मात्रा लगाउने समय घर्किँदा पनि खोप पाउन सकेका छैनन्।

भेरो सेल खोप कति प्रभावकारी

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड-१९ विरुद्धको यो खोपलाई गत महिना आपत्कालीन प्रयोगको अनुमति दिएको थियो। डब्ल्यूएचओबाट स्वीकृति पाउने यो युरोपबाहिर निर्मित पहिलो कोभिड खोप हो। तर त्यसअघि नै नेपालमा भेरो सेल प्रयोगमा ल्याइसकिएको थियो।

नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ। सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। डब्ल्यूएचओका अनुसार सबै उमेर समूहको विवरणका आधारमा यो खोपको प्रभावकारिता ७९ प्रतिशत देखिएको छ। डा. पोखरेल भन्छन्, "यसको प्रभावकारिता चाहिँ कोभिशील्डको भन्दा पनि अलिकति राम्रै छ भन्ने रिपोर्ट आइरहेको छ। विभिन्न उमेर समूह र विभिन्न परिस्थितिमा राम्रै डेटा आइरहेको छ।"

डब्ल्यूएचओले १८ वर्षमाथिका मानिसलाई यो खोप लगाउन सकिने भनेको छ। तर उसले माथिल्लो उमेर समूह भने तोकेको छैन।

कसरी बन्छ यो खोप

निर्माणका दृष्टिकोणबाट भेरो सेल परम्परागत खोपको वर्गमा पर्छ। मानिसको प्रतिरक्षा प्रणालीलाई कोभिड-१९ को कारकविरुद्ध परिचित गराउन यसमा कोरोनाभाइरसलाई नै निष्क्रिय बनाएर प्रयोग गरिएको हुन्छ। भाइरस निष्क्रिय हुने हुँदा खोप लगाउँदा त्यसबाट मानिसमा कुनै जोखिम नहुने बताइन्छ। नेपालमा प्रयोग गरिएको अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकसित अनि भारतमा उत्पादित कोभिशील्ड खोप पनि परम्परागत खोप नै हो।

त्यसमा चिम्पान्जीबाट सङ्कलित रुघा लगाउने एक प्रकारको एडिनोभाइरसको संरचनामा केही परिवर्तन गरी कोरोनाभाइरसको आनुवंशिक अंश राखिएको हुन्छ। कोरोनाभाइरसको वाहकका रूपमा प्रयोग गरिएको एडिनोभाइरस खोपसँगै शरीरमा प्रवेश गर्छ। अनि मानिसको प्रतिरक्षा प्रणाली वास्तविक कोरोनाभाइरसलाई चिन्न सक्षम हुन्छ। यसरी यो खोपले मानिसलाई सङ्क्रमण हुनबाट जोगाउँछ।

नेपालमा कुनकुन खोप उपलब्ध

नेपालले चीनबाट यसअघि चीनमा निर्मित कोभिड खोपको आठ लाख मात्रा प्राप्त गरिसकेको छ। भारतले अनुदानमा १० लाख मात्रा कोभिशील्ड खोप नेपाललाई दिएको थियो। नेपाली सेनाका लागि पनि भारतीय सेनाले एक लाख मात्रा त्यस्तो खोप प्रदान गरेको थियो।

नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिशील्ड खोप खरिद गरेको तर त्यसमध्ये १० लाख मात्रा मात्र नेपालमा आएको बताइएको छ। भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिशील्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन सकेको छैन। कोभ्याक्स योजनाअन्तर्गत नेपालले तीन लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको अधिकारीहरूले जनाएका छन्।

अमेरिकाले विभिन्न देशलाई कोभ्याक्स कार्यक्रमअन्तर्गत कोभिडको खोप उपलब्ध गराउने योजना सार्वाजनिक गरेको छ। खोप पाउने देशहरूको सूचीमा नेपाल पनि परेको छ। तर नेपालले कुन खोप कति मात्रा मात्रामा पाउँछ भन्ने स्पष्ट भइसकेको छैन।-बिबिसीबाट