ताजा अपडेट »

सिपको प्रयोग गरि स्वरोजगार बन्न आग्रह

शुक्रबार, २० असार २०७६

असार २०,
बुटवल । तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तिमगरले सिप सिकेर स्वरोजगार तथा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिएका छन् । तिनाउको वडा नम्बर ४ मा भएको ३ महिने आधारभूत सिलाईकटाई तालिमको समापन गर्दै घर्तिले सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आयोजना तथा तिनाउ गाउँपालिका वडा नम्बर ४ को समन्वयमा भएको तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यालय प्रमुख बालकृष्ट गैरेको अध्यक्षतामा भएको कार्यक्रममा
वडा अध्यक्ष दानबहादुर गाहा, सचिव खिमबहादुर राना, प्रशिक्षक भीमबहादुर ठाडा लगायतले बोल्दै सिकेको सिपलाई व्यवहारमा प्रयोग गरि स्वरोजगार बन्न आग्रह गरे ।

यसैबीच ‘सिप सिकौ आत्मनिर्भर बनौं’–भन्ने नाराका साथ युवा समन्वय समिति तिनाउ गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित एक महिने हाउस वायरिङ तालिमको पनि समापन गरिएको छ । गाउँपालिका भित्रका २० जना युवाहरुको सहभागिता रहेको तालिम बुटवलमा अवस्थित बुटव टेक्नीकल कलेजमा प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपप्रमुख दमयन्ती थापाले तालिममा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरिन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष राजेश श्रेष्ठ, प्रशासकीय अधिकृत ज्ञानुप्र्रसाद पनेरु लगायतले सिपलाई व्यवहारमा उतार्न जोड दिँदै शुभकामना व्यक्त गरेका थिए । युवा समन्वय समितिका अध्यक्ष प्रेम श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको सञ्चालन सचिव गँगा सेरचनले गरेकी हुन् ।