ताजा अपडेट »

कोभिड पीडित राहत र कतिपयको कालो नियत

विहीबार, २० जेठ २०७८



अरुको वास्तविक कथा ब्यथा लेख्ने,बोल्ने पत्रकार र सञ्चारकर्मीले आफ्नै पनि समस्या सुनाउन,बोल्न र लेख्न सक्नुपर्दछ । तर, यहाँ कतिपय सम्पन्न र आय श्रोतको गतिले माध्यम बनाई सकेका पत्रकारहरु भने आफूलाई मात्र केन्द्रमा राखेर अरु सञ्चारकर्मीको समस्या देखाउन र सुनाउन चाहन्नन् । यद्यपि, म सुनाउन चाहन्छु । म यस क्षेत्रको संघर्षको सुरुवातमा कोठा भाडा तिर्न नसकेर घरबेटीको किच–किच सहेको अझै स्मरणमा छ । बिहान पनि चाउचाउ र साँझ पनि चाउचाउकै भरमा छाक टारेको कुरा मैले लुकाउन चाहन्न । सुरुवाती ताकाको कुरै नगरौं गत वर्षको चैत्र महिनादेखि लकडाउन सुरु भएपछि मेरो कोठा भाडाको दुई महिनाको भाडा खप्टिँदै छ । पछिल्लो तीन दिन यताको कुरा गरौ

अस्ती गुल्मेली समाज जापानले पठाएको स्वास्थ्य सामग्री वितरण गर्न जाने दिन घरमा रासन सकिएको कचकच थियो । तर पनि पत्रकार महासंघले प्रतिनिधिका रुपमा खटाई सकेपछि म गएँ । अर्को दिन घरमा बुवाको तिथि । बिहानै सकेर हिजो बिहान सदरमुकाम हिँडेको मान्छे रेडियो कार्यक्रम ओझेलका खबर तयार पार्न खटनु पर्ने थियो । कोठामा आएर दुई पोका चाउचाउ झोलामा राखें र रेडियो स्काइतर्फ लागे । पकाई दिने पसल कुनै थिएनन् । रेडियो स्काई अगाडिका हिमाल भाइले हार्न सकेनन र बिहान एउटा पकाई दिए,साँझ अर्को पकाइ दिए । त्यसैले भोक टारेर साँझ ८ बजे ओझेलका खबर प्रशारण गरेर फर्किएको हुँ । आँफैलाई आफ्नै यस्ता कैयौं समस्याले ग्रस्त पारिरहेका बेला विभिन्न समस्या राख्दै फोन आउँछ । पाल्पामा एकजनाले आर्थिक अभावका कारण उपचार पाउन नसकेको र आजै गुल्मीकै एक रेडियोका भाइले रुनै खोजेर फोन गरे ।

उनले भने–‘दाई गए बर्षको लकडाउनपछि बुटवलको रेडियो छाडेर गुल्मीको यस रेडियोमा आएको हुँ । सुरुमा ६ हजार तलब दिन्थे । पछि बढाएर १२ हजार बनाए । पैसा माग्दा उल्टै हप्की–दप्की सहनुपर्छ । ग्याँस चुलो सहितका कोठाका सामानहरु उहि बुटवल छन् । पैसा नभएका कारण लिन जान सकिन । श्रीमती र म अहिले अर्कैको कोठामा खान खान्छौं । महिनाको छ हजार तिर्ने हो । तर, अब बुझाउन नसकेर निन्नाउँरो मुख लगाउनु पर्ने अवस्था छ । अस्ती नै पहिलाका पत्रकार महासंघका अध्यक्ष ज्यूलाई पनि मेरो समस्या सुनाएको हुँ । अहिले महासंघमा तपाइँहरु हुनुहुन्छ भनेर फोन गरेको हुँ । मलाई एउटा ग्याँस र एक बोरा चामल तेल भइदिए धन्य हुने थिएँ दाई ।’

त्यस पछि तत्काल कालिगण्डकीकी गाउँपालिका प्रमुख वेदबहादुर थापाज्युलाई फोन गरे । त्यो भाइको समस्या सुनाउँदै तत्काल १५ हजार रुपैयाँ बराबरको सहयोग गरिदिनु,पुर्याई दिनुपर्यो भनेर अनुरोध गरें । उहाँले भन्नुभयो–‘ त्यो भाइलाई भनिदिनुस् सके आजै नभए भोलि जाउ भन्नु मैले १५ हजार रुपैयाँ दिएर पठाई दिन्छु ।’ त्यसपछि फोन गरेर जाऊ भनेँ ती भाई यति खुशी भएकी मानौंकी उनलाई लाखौंको पुरस्कार प¥यो। आजै जिल्ला बाहिर भएका सबै रेडियोकर्मीहरुलाई सम्बन्धित पालिकाहरुलाई खाद्यन्न राहत सामग्री उपलब्ध गराउन अनुरोध गरिपछि ती पालिकाहरुले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

यस्ता समस्या भोग्ने सदरमुकाम तम्घासका केहि रेडियोकर्मीहरु पनि छन्। ६ महिनासम्मको तलब नपाएर एक वर्षदेखि कोठा भाडा तिर्न नसकेर बसेका रेडियोकर्मी लकडाउनपछि सदरमुकाम छाडेर घर गएर बसेका छन् । यो महङ्गी दश बाह्र हजार तलब खाने रेडियोकर्मीले श्रीमतीसहित महिना गुजार्न कसरी पुग्न सक्छ ? कि धम्काउने र फकाउने गरेर आम्दानीको गतिलो श्रोत बनाउनेहरुलाई कोभिड र लकडाउनले केहि फरक नपारेको हुनुपर्याे । नत्र तलबको सोझो मात्रै गर्ने जुन कुनै पत्रकार होस् कि झन् ठूलै मान्छे सबैलाई आर्थिक समस्या परेको छ ।

यहि चिन्ताले मैले गत वर्ष लकडाउनपछि आएको चैते दशैंमा मेरो मन बेस्सरी पोल्यो । केहि मजदुरहरु मेरै कोठामा आए । माछा मासुको कुरै नगरौं । चैते दशैंमा पकाउने चामल समेत छैन भने । केहि रेडियोका भाई बहिनीहरुले ‘यसपालीको चैते दशैंमा मासु खाने पैसा पनि छैन’ भन्ने सुनाए । त्यस पछि म तत्काल बजारमा सहयोग जुटाउन पुगेँ। त्यसमा तम्घासका होटल ब्यवस्था निरोज मरासिनी , अर्का ब्यवसायी जनक पन्थ सहितले मलाई साथ दिनुभयो । नभन्दै हामीले त्यस चैते दशैंको दिउँसो ४ बजे भित्रमा तम्घासका झण्डै दुई सय जना मजदुर परिवारको घर–घरमा चामलका बोरा , दाल तेल , चिनी र प्रति परिवार ५ सयका दरले मासु किनेर खाने पैसा पनि दियौं ।

त्यसरी सुरु गरिएको गत वर्षको राहत अभियानलाई जिल्ला ब्यापाी बनाउन पालिकाहरुलाई कसेरै न्यूज लेखियो । अन्ततः हरेक पालिकाहरुले गत बर्ष मजदुरहरुलाई मन फुकाएर राहत वितरण गरेका थिए । गतवर्ष लकडाउनको दोश्रो हप्ताबाटै मजदुर वर्गलाई राहतको ब्यवस्था थियो । तर, अहिले ४ हप्ता बित्दा पनि स्थानीय तह चुपचाप छन् । अमेरिकासहित छिमेकी मुलक भारतले समेत जनतालाई कोभिड विशेष राहत प्रदान गरे । तर, हाम्रा तीनै तहका सरकार र सरोकारवाला अहिलेसम्म मौन छन् । राष्ट्रिय दलित पत्रकार संघको म केन्द्रिय सदस्य भएको हैसियतले केन्द्रिय कमिटीबाट जिल्ला स्तरमा दलित समुदायका सञ्चारकर्मी र मर्कामा परेका सर्वसाधरण दलितहरुलाई स्वास्थ्य सामग्री र अन्य राहत सामग्री संकलन र वितरण गर्न भन्दै परिपत्र आयो ।

त्यसपछि म एकछिन गम्भीर भएँ । माथि उल्लेख गरिएको पीडित पात्रहरु दलित समुदायका थिएनन् । क्षेत्री , व्राम्हणहरु थिए । तिनै पात्रहरुको समस्या सम्झँे । अनि यो माहमारीमा समुदायगत राहत ? मलाई चित्त बुझेन । तत्काल मैले केन्द्रिय अध्यक्ष विनोद पाहडीलाई फोन गरेर भने –‘मैले सबै जातजातीका लागि हो भने राहतका लागि अगाडि सर्न सक्छु नत्र यो विवदमा संक्रिण भएर राहतमा हात हाल्न असमर्थ छु ।’ जवाफमा उहाँले झन राम्रो कुरा गर्नुभयो तपाइँले भनेर त्यसै गर्न भनेपछि जेठ १४ गते जिल्ला प्रशसनमा कोभिड ब्यवस्थापन समितिको बैठकमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व गर्न पुगेँ । जहाँ कोभिड सम्बन्धि सरकारले जारी गरेको अध्यादेश अन्तर्गत जनता माथि शासनका कुरा मात्रै उठे ।

तर जनतालाई राशन दिने कुरा नउठेपछि अन्तिमा मैले र राष्ट्रिय जनमोर्चाका जिल्ला नेता हरिप्रसाद न्यौपानेले मुख खोल्यौं र राहत संकलन सुरु गर्दै छौं भनियो । त्यसमा प्रमुख जिल्ला अधिकारी रुद्रदेवि शर्मा सकरात्मक देखिनुभयो । अर्को दिन फेरी मैले उहाँसंग सुझाव सल्लाह गरेर संघका जिल्ला अध्यक्ष रमेश बिश्वकर्मा र सचिव मनु सुनार मनसुनलाई बैठक राख्न आग्रह गरे । उहाँहरुले अभियानको नेतृत्वको जिम्मेवारी मलाई नै दिनु भयो । अभियानलाई सफल पार्न पहिलो खाता खोली दिनु भयो नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले । त्यसपछि गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी , निर्माण ब्यवसायी संघका अध्यक्ष नारायण प्रसाद पोखरेल , चेम्वर अफ कमर्शका अध्यक्ष युवराज न्यौपाने सहित दर्जनौं दयालु मनहरुले सहयोग घोषणा गर्दै आई रहेका बेला जिल्लाका केहि सञ्चारकर्मीहरुले केही ठाउँमा हल्का रुपमा लिएको र सहयोग गर्नुस् समेत भनेको हामीलाई रिर्पोटिङ्ग आयो ।

कतिसम्म दुःखद बिषय हो ? दुई तिन वटा राष्ट्रिय मिडियाकै र लामो समयदेखि यसै क्षेत्रमा स्थापित म त आर्थिक समस्याको चपेटामा छु भने अझ एउटा रेडियोमा दश–बाह्र हजार तलब खाने साथीहरुको अवस्था के होला ? आफू पत्रकारको इज्जत जाने डर रे,अरु समस्यामा परेका पत्रकार, सञ्चारकर्मीलाई राहत उठाउनु हुँदैन रे? यस्तो पनि हुन्छ ? राष्ट्रिय मिडियाहरुले समेत आंशिक तलब दिँदै आएका छन् भने स्थानीय सञ्चार माध्यमहरुको अवस्था पनि त्यही हो । यसर्थ जति असफल पर्नेहरुको ताँती भएपनि मैले रोकिन । आज रेडियोकर्मी ती साथीको समस्या सुनेपछि मलाई पोल्यो र बजारमा किराना पसेलेहरुको अर्धबन्द सटरबाट चिहाएर दुई चार बोरा चामल , दाल तेल राहतका लागि अनुरोध गर्न हाम्रो टिम हिड्यो । धेरैले सहयोग पनि गर्नु भयो । त्यही क्रममा तम्घास पुरानो बजारको अक्षता किराना पसलमा पुगियो । त्यस पसलका सञ्चालक विजयचन्द्र ज्ञवालीले र उहाँकी धर्मपन्ती अमृता ज्ञवालीलाई लौन हाम्रो यस्तो अभियान छ भनेर अनुरोध गरियो । को कस्तालाई राहत दिनु हुन्छ ? भनेर सोध्नु भयो ।

अन्य मजदुरहरु दुःखी बिमारी ,असाहय र बेसहार जसको छाक टार्नै मुस्कील छ त्यस्तालाई र स्थानीय मिडियामा काम गर्ने सञ्चारकर्मीलाई राहत वितरण गर्ने हो भन्यौं । तपाइहरु पत्रकार र सञ्चारकर्मीहरु कोभिड विरुद्ध अग्रमोर्चामा खट्नु भएको छ ।अरुको समस्या सुनाउने लेख्ने गर्नु हुनुहुन्छ तर, तपाइँहरुको समस्या सुन्ने बोल्ने को ? ल भन्नुस् जति जना राहत चाहने सञ्चारकर्मी हुनुहुन्छ ति सबैलाई हामी आवश्यक राहत दिन्छौं भन्नुभयो । गन्दैजाँदा त्यस्तो सहयोग चाहने २० जना हुनुभयो । ती २० जनालाई त्यस पसलको सब भन्दा राम्रो ब्राण्डको चामल,दाल , तेल , चिनी,नुनदेखि उहाँको कोखैमा रहेको डायमण्ड कृषि तथा पशुपन्छी फर्मका सञ्चालक भविन्द्र घर्ती मगरले त प्याज टमाटर देखि विभिन्न प्रकारको तरकारी समेत उपलब्ध गराउनुभयो । हामी सञ्चारकर्मीहरुलाई त्यो राहत बोकाएर होइन गाडी खोजेर कोठा कोठामा पुर्याउने ब्यवस्था समेत गरेकाछौं ।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामीले यो अभियानले आफू जनप्रतिनिधी र स्थानीय सरकार देखि प्रदेश र संघीय सरकारको समेत आँखा खोलिदिएको भन्दै अभियानको सरहाना गर्नु भयो। नेपाल पत्रकार महासंघका गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफूबाट सुरु भएको यो अभियानलाई अरु धेरैले साथ दिँदै आएको र दिँदै जाने बताउनुभयो । नेपाल पत्रकार महासंघ,गुल्मीका अध्यक्ष टोपलाल अर्यालले हामी पत्रकारहरुले कोभिड जनताहरुको समस्या उठानसँगै आफूहरुको समस्या पनि रहेकोले अभियान सञ्चाल न गरेको प्रति धन्यवाद दिनुभयो । आफूहरुले सञ्चालन गरेको अभियानमा धेरैले साथ दिएको प्रति राष्ट्रिय दलित पत्रकार संघका जिल्ला अध्यक्ष तथा अभियानका सहसंयोजक रमेश बिश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभयो ।

२० जना सञ्चारकर्मीहरुलाई झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको सहयोग गर्ने सहयोगदाता अक्षता किराना पसलका सञ्चालक विजयचन्द्र ज्ञवाली, श्रीमती अमृता ज्ञवाली , बुवा होमनाथ ज्ञवाली , आमा राधा ज्ञवाली , दाजु कुलचन्द्र ज्ञवाली , भाउजु सिर्जना ज्ञवाली , छोरा आविश्कार ज्ञवाली र रेसुङ्गा नगरपालिका वडा नम्वर १० मा रहेको डायमण्ड कृषि तथा पशुपन्छी फर्मका सञ्चालक भविन्द्र घर्ति मगरप्रति कोभिड पीडित मजदुर राहत अभियान गुल्मीको संयोजकको हैसियतले हार्दिक धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु ।

साथै यसरी नै सहयोगी हातहरु ऋगाडि बढाउन अपिल गर्दै यस अभियानमा मसंगै खट्नु हुने रमेश बिश्वकर्मा , सचिव मन सुनार मनसुन सहित सबै साथीहरुलाई धन्यवाद दिदै र अभियानलाई सुझाव सल्लाह र सहयोग पुराउँदै आउनु भएका गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा प्रति पनि आभार प्रकट गर्न चाहन्छु । र कतिपयको कालो नियत प्रति यति भन्न चाहन्छु । जसरी प्रशव पीडा बच्चा जन्माउने आमालाई मात्र हुन्छ । त्यस्तै गरिबी र अनेकन समस्याको पीडा हामी त्यस्तै परिवारबाट हुर्केकोलाई मात्र हुन्छ । यहाँहरुलाई थाहै होला त्यही समस्या बुझ्ने भएकै कारण आर्थिक अभावका कारण उपचार नपाएर मृत्यु पुकारेका कति जनालाई समाचार कै माध्यमबाट नवजीवन दिइयो तपाई आफैँले पनि औंलामा मूल्यांकन गर्न सक्नुहुन्छ । २०७२ सालमा गएको भुकम्पले खाली आकाशमुनी बस्न बाध्य कति परिवारको अस्थाई वासमा जस्तापाता वितरण गरेर छाना थियौं । पवित्र मनले गरिएको सामाजिक कार्यमा तपाइँको कालो नियत सुन्नेले सुन्लान् तर, धेरैले सुन्ने छैनन्।

https://www.globalaawaj.com/archives/106250