असार २०,
ग्लोबल आवाज
काठमाडौं । पटक–पटक महत्वकांक्षी निर्णय गर्दै फिर्ता गर्दै आएको वर्तमान सरकार पुनः अर्को निर्णयबाट पनि पछि हटेको छ । हालैमात्र गुठी विधेयक र आइफा अवार्ड आयोजना गर्ने निर्णय फिर्ता लिएको सरकारले भारतीय फलपफूल तथा तरकारी चेक गरेर मात्र नेपाल प्रवेश गराउने निर्णय कार्यान्वयनबाट पनि पछि हटेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको हो ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको बुझिएको छ । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो । नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र नै लेखेको थियो ।
प्रतिक्रिया