ताजा अपडेट »

आम्दा अस्पतालमा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु

विहीबार, २० जेठ २०७८

बुटवल । बुटवल उद्योग बाणिज्य संघको सहयोगमा बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर सहित ५ आईसीयु तथा १० एचडीयु र १० जनरस (कोभिड आईसोलेशन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो ।

‘बुटवल उद्योग बाणिज्य संघ कोभिड–१९ आईसीयु वार्ड’को बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शुभारम्भगरे । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसंगै बुटवल उद्योग बाणिज्य संघ र आम्दाको बिचमा आईसीयु सञ्चालनको लागि दुई पक्षिय सम्झौता भएको थियो । सोही अनुसार संघले दुई आईसोलेशन सहित आईसीयुका ५ बेड सहयोग गरेको हो ।

भेन्टिलेटर सहितको आईसीयु सेवा शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले आम्दा अस्पतालको स्रोत व्यबस्थित गरि आगामी दिनमा अझ व्यबस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसको लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उनले निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको समेत उल्लेख गरे । सरकारले कोरोना संक्रमितको उपचारलाई निःशुल्क गरेको र स्वास्थ्यकर्मीलाई समेत जोखिम भत्ताको व्यबस्था गरेकाले आफ्नो समेत दायित्व बोध गरेर बिरामीको उपचारमा सक्रिय हुन स्वास्थ्यकर्मीलाई आग्रह गर्दै अस्पतालहरुलाई समेत निस्चिन्त भएर सेवालाई प्रभावकारी बनाउन आग्रह गरे ।

कोभिड केयर युनिट सञ्चालनको लागि आम्दाले सरकारसंग तीन करोड रुपैंया माग गरे अनुसार संघीय सरकारलाई अनुरोध गरिएको जानकारी गराउँदै केन्द्र सरकारले नगरे प्रदेश सरकारले त्यसको व्यबस्थापन गर्ने समेत उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले आम्दा अस्पताललाई आमा सुरक्षा कार्यक्रम लागु गर्न समेत ध्यानाकर्षण गराए ।

आम्दा अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आमा बच्चाको उपचारको लागि स्थापना गरिएको अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागु गर्न नसकिएको बताउँदै १५ वेड भन्दा माथिको अस्पताललाई प्रदेश सरकारले हेर्ने भएकाले प्रदेशको समेत दायित्व हुनेगरी नयाँ तरिकाले अंगाडी बढ्नुपर्ने उल्लेख गरे ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना भाईरस महामारीका कारण उपचार अभावमा धेरैले न्यान गुमाउनु परेको स्तब्ध बनाएको र उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु हुँदैन भनेर संघले जति सकिन्छ भेन्टिलेटर सहित आईसीयु सेवा सञ्चालनको लागि वातावरण बनाएको बताए । संघले लिएको यो पहलकदमीमा उद्योगी व्यबसायी, बस्तुगत समितिहरुबाट समेत ठूलो सहयोग प्राप्त भएको स्मरण गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले सेवालाई प्रभावकारी बनाउन अस्पताल प्रशासनलाई आग्रह गर्दै उपचारलाई सहज बनाउने वातावरण मिलाईदिनको लागि मन्त्री श्रेष्ठ र मेयर सुवेदीलाई समेत आग्रह गरे ।

सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले कोभिड केयर युनिट सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघबाट ठूलो सहयोग प्राप्त भएको भन्दै संघप्रति आभार व्यक्त गरे । उनले सरकारको मापदण्ड अनुसार सञ्चालन गरिएको र कोभिड केयर युनिटमा समेत सरकारले जारी गरेको मापदण्ड अनुसार नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । यसले हालको विषम परिस्थितीको सामना गर्न ठूलो सहयोग पुग्ने उनको विश्वास थियो । अस्तालले बिरामी र बिरामीको कुरुवालाई लक्षित गरेर बुधबारदेखि नै निःशुल्क यातायातको व्यबस्था गरेको समेत उनले जानकारी गराए । कार्यक्रमको सञ्चालन बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराईले गरेका थिए ।