ताजा अपडेट »

बिमा रकमकाे लाेभमा छाेरीकाे हत्या

शुक्रबार, २० असार २०७६

असार २०,
रौतहट । भविष्यमा हुने जोखिम न्यूनिकरण तथा क्षेतिपूर्तिका लागि बिमा गर्ने गरिन्छ । भबिष्य सुरक्षित गर्ने बिमा योजनाको गलत प्रयोगले रौतहटकी एक अवोध बालीकाले भने ज्यान गुमाउनु परेको छ । बिमा रकमको लोभमा परेर आफ्नै बुबाले चार वर्षीया छोरीको हत्या गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले १६ असारमा चार वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरी उनलाई पोखरीमा फालेका थिए । १७ गते बिहान लक्ष्मीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिमाको रकम हात पार्न नाबालिका छोरीको निर्ममतापूर्वक हत्या गरेको जनाइएको छ । शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रामकिशोरले बिमाको ठूलो रकम हात पार्न आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरेको रहस्य खुलेको हो ।

बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ । उनीमाथि ज्यान मुद्दामा अनुसन्धान भइरहेको रौतहटका डीएसपी नवीन कार्कीको भनाइ छ ।