ताजा अपडेट »

आशा छ, युवाशक्तिको त्यो दिन छिट्टै आउनेछ !

बुधबार, १९ जेठ २०७८

युवा, राष्ट्रलाई आधार दिने बलिया खम्बा हुन्। नयाँ जोश, जागर, क्षमताले भरिपूर्ण नव विचार , सिर्जनशिलता र निपूर्णतासँगै युवा वर्गमा अथाह कार्यक्षमता र ज्ञानको भण्डार हुन्छ । भनिन्छ, युवा नै देशको मुहार फेर्न सक्ने क्षमता भएको जल्दो–बल्दो शक्ति हो। युवावर्गको मनमा उत्साह, कल्पनिकता, प्रफुल्लता अनि आदर्शवादले डेरा जमाएको हुन्छ। उनिहरुमा विश्व विजयी बन्नसक्ने भर्खरै ज्वालामुखीबाट निस्केको तातो भुल–भुलाउँदो लाभा सरह आगो परेको शक्ति हुन्छ । जसलाई उचित मार्गदर्शन मिले समाजमा विकासका नयाँ चौतर्फी मार्ग खोल्न सक्छन, देशलाई गगनचुम्बी सफलताको बाटोमा डोर्याउन सक्छ ।

तर, यदि त्यो उर्जालाई विपरित मार्ग दर्शन मिल्यो भने विश्वमा विध्वंश मच्चाउन सक्छ । युवावर्ग वर्तमान अवस्थामा तटस्थ बन्दै गएको छ, वर्तमान समयमा म कहिँकतै पनि ती बलिया खम्बाहरुमा बल देख्दिन । हुन त राष्ट्रका बलिया खम्बालाई धमिरो बनी भित्रबाट खोक्रो पार्नेको पनि कमि छैन त्यसैले न होला ? म मेरो राष्ट्रको आधार बन्ने छु भन्ने उर्जाशिल युवावर्ग आज सेलाउँदै गएको छ । उसको आफ्नै समस्याले गर्दा हो या बढ्दो दूषित अवसरको प्रतिष्पर्धाले हो? यो प्रश्नचिन्हको मसँग कुनै उत्तर छैन।

युवा शक्ति प्रगति, क्रान्ति र परिवर्तनका दूत मानिन्छन्। उनिहरुमा असिम साहस हुन्छ, आँधीभेरी जस्तो जोँश हुन्छ, उसको आँखामा दृढ आत्मविश्वास झल्किन्छ, उनको लक्ष्य अर्जुनसरह अचुक हुन्छ र परिस्थितिलाई आफ्नो अनुकूल ढाल्न सक्ने क्षमता हुन्छ। युवा वर्गमा अधिकतम संख्या विद्यार्थी वर्गको हुन्छ,किनभने यसै अवस्थामा नै उसले आफ्नो भावी जीवनको लागि विद्यारूपी शक्ति आर्जन गर्दछ। आजको युवा अनेक प्रकारको मानसिक तनावले ग्रसित छ। यसको पहिलो वर्गमा त हामी जस्तो विद्यार्थी र शिक्षित बेरोजगार वर्ग पर्छौ। हाम्रो जीवनको संघर्ष त्यहाँबाट शुरू हुन्छ जब हामी आफ्नो सपनालाई पछ्याउन थाल्छौं।

त्यहाँबाट शुरू हुन्छ,जीवनको एउटा नयाँ बाटो, नयाँ संघर्ष, र नयाँ परिश्रम त्योसँगै काधमा थपिने अनेकौं जिम्मेदारी, तीनको अनुभूति र ती आशाको किरण झल्काउँदै हेर्ने मेरी आमाका आँखा, उनको मप्रतिको विश्वास, र उनले मेरोलागि देखेका ती सुनौला सपना, यी सबैको घेरामा थिचिन थाल्छ कलिलो युवावर्ग ,विद्यार्थी वर्ग खासगरी न्यून आय वर्गका विद्यार्थी जसलाई नत आफ्नो इच्छा अनुरूपको सपना मिल्छ, अधिकांश आर्थिक रुपले निम्न बर्गीय विधार्थी आफ्नो आर्थिक अवस्थाले थेग्न नसक्ने कारणले नै आफ्ना आँखामा उम्रिदै गरेका कलिला सपनाको मन्टो निमोठ्न बाध्य हुन्छ।

खुला आकाशमा आफ्नो पखेटा फैलाएर उड़ने अभिलासा राखेर बिस्तारै युवा अवस्थामा प्रवेशगर्दै गर्दा उ माथि एका–एक जमिनबाट देखिने दृष्य र खुला आकाशबाट देखिने दृष्यमा हुन आउने फरकले उसको जीवनमा बज्रपात आइपर्छ,उसको पखेटा पलाउँदा पलाउँदै उखेलिन्छन् अर्थात् उसले बाहिरी दुनियाको जुन दृश्य परिकल्पना गरेको हुन्छ, र वास्तवमा त्यो जे हुन आउँछ त्यसमा जमिन आकाशको फरक हुन्छ, जसका कारण उ त्यो विकराल परिस्थितिमा समायोजन हुन सक्दैन र नचाहँदा–नचाहँदै पनि हार खान बाध्य हुन्छ । उसलाई नत सपना पूरा गर्न कसैको साथ मिल्छ, न अवसर नै आफ्नो इच्छा अनुरूपको नभएपनि जे आफूले थेग्न सक्छ त्यसलाई नै आफ्नो भविष्य मानेर लाखौं खर्च गरि ऋण धन जसरी–त्यसरी आफ्नो डिग्रीसम्म त गर्छ । तर, हातमा डिग्रीको प्रमाणपत्र भन्दा अरु केही हात लाग्दैन ।

अरुको के नै कुरा गर्नु म मेरै छिमेकी दाइको बारेमा भन्छु । अस्ति मैले दाइलाई सोधे दाई अब त हजुरको स्नातक पनि सकियो अब के गर्ने विचार छ त ? दाइले बडो चकित पार्ने उत्तर दिनुभो ‘नानी, अब हामी पनी उहि ५०डिग्रीको खाडीको घाममा नङ्गा खियाउने, पसिनाको खेती गर्दै छाला डढाउने त होला नि ! खै यतिका वर्ष पढियो तर, पनि केहि गर्न सकिएन, ४–५ पटक लोक सेवाको परीक्षा पनि दिएँ । २ पटक अन्तर्वाताबाट फाल्दियो, बाहुन भएरै दुःख पाइयो नानी, जातिमा आधारित आरक्षणले गर्दा योग्यता, क्षमता भएतापनि उपयुक्त अवसर पाइँदैन अझै त्यसैमाथि नातावाद कृपावाद, अब त मन पनि मरिसक्यो त्यतातिरको , बरु छट्टै १२ पास गरेपछि बिदेशतिर गएको भए हुनेरैछ, यो पढ्ने चक्करमा लाखौं डुब्यो,त्यहीँ पैसाले केही काम शुरू गरेको भए या काम सिकेर राम्रो देश गएको भए, आज तल्लाघरे श्यामे दाईले जस्तो प्रगति गरिन्थ्यो होला।’

उहाँ बोलिरहनुभयो ,आफूसँगै पढेका साथीहरुले कति के–के गरिसके सफल भैसके, आफूभने यस्तै छ अझै, मुख देखाउन नि लाज लाग्छ आफूभन्दा साना भाइहरुको प्रगतिले अनि ‘अझै कति पढ्ने होस् तैंले अझै सकिएन तेरो पढ़ाई’ भनेर आमाबुवाद्वारा सोधिने प्रश्नको केही जवाब हुन्न नानी मसँग अब राम्रो देश जान पैसोले पुग्दैन, केही काम सुरु गरम भने हातमा त्यति धेरै लगानी गर्ने पैसा छैन। पढेरै दुःख पाइयो कान्छी, जमानामा लौ पढेरै केही गर्छु भने, विदेश जाने त रहरले हो यही छन् जतिपनि अवसर त्यहाँ गएर गर्ने मेहनत र परिश्रम यही गरे यही सुन फल्छ भन्थेँ अहिले कतै अवसर पाइएन नानी । यस्तै छ जिन्दगी भन्दै ठूलै सुस्केरा निकाल्नुभो।’ दाइको कुराले मलाई गम्भीर बनायो। किनभने दाइ सानैदेखि पढाइमा अब्बल दर्जाको विद्यार्थी हुनुहुन्थ्यो। सधैं मलाई मेरो लक्ष्यको मार्ग देखाउने मेरा दाई आज पहिलोपटक आफैं हारिसकेको जस्तो निराश हुनुभो। हुन पनि हो वर्षौ पढ़ाईमा लगानी गरेर आफ्नो पढ़ाई सिद्धाउँदा पनि हातमा नत कुनै सीप हुन्छ, न त व्यावहारिक ज्ञान नै मात्र छ त । हजारौं विद्वानका सिद्धान्त , जसको पनि सैद्धान्तिक ज्ञान मात्र त्यसलाई कहाँ प्रयोग गर्ने हो, कसरी प्रयोग गर्ने हो त्यसबारे कुनै कुराको ज्ञात छैन ।

वर्षौ शिक्षामा लगानी गरेर आफ्नो पढ़ाई पूरा गर्दा पनि हातमा नत कुनै इलम नै छ । मेरो देशमा अवसरको लागि प्रतिष्पर्धा गर्दा आफूसँग क्षमता भएतापनि आफ्नो पहुँचको ब्यक्ति उच्च पदमा नहुनाले आजको योग्य युवा पनि बेरोजगारको शिकार बनेको छ । बाहिर प्रतिष्पर्धामा कोटाको लागि आवेदन त खोलिन्छ,तर मात्र आशा देखाउनकोलागि , प्रतिष्पर्धा गराउँदा राम्रो भन्दा हाम्रो खोज्ने विकृत प्रचलन दिनानुदिन व्यापक रुपमा फैलँदै छ। यसले योग्य, उर्जाशील जनशक्तिमा आत्मग्लानी सिर्जित गर्नुका साथै उनको मनोवललाई चरकाउँछ अनि त्यसैमाथि अनेक प्रकारका जिम्मेवारीले च्यापिँदैजाँदा मानसिक तनाव त स्वतः सिर्जित हुन्छ। घर परिवारलाई साहारा दिने उमेरसम्म पनि आफू कुनै पेशामा आवद्ध हुन नसक्नुको बेदना कसलाई सूनाउने । १८ वर्षे पढाई सकियो तर हातमा एउटा आफ्नो खर्च धान्नेसम्मको जागिर हुँदैन, अझै त्यसमाथि यो विकराल परिस्थिति , अब त केही गर्छु भनेर योजना बनाएको युवालाई फेरि यो विध्वंशकारी विश्वब्यापी महामारीले सबै बाटाहरुमा अवरोध लगाइदियो। यसो सोँच्दा त लाग्छ साँच्चै कतै दैब नै रिसाएको त होकि हामीसँग ? प्रश्न चिन्ह हजार छन् । तर, उत्तर भने आंशिकको मात्र ।

अर्कोतर्फ रोजगार प्राप्त गरेतापनि शिक्षित हुँदा–हुँदै पनि मजदूर वर्गको काम गर्न बाध्य छ युवा वर्ग, अवसरको कमीले गर्दा, आफ्नो योग्यता अनुरूपको रोजगारीको प्राप्तिबाट बञ्चित हुन्छ। यसले गर्दा उ श्रम शोषणको चपेटमा पर्न जान्छ। कम पारिश्रमिकमा अधिक श्रम शोषण,आफूले आर्जन गरेको शिक्षा महत्वहिन हुँदा र सोही अनुरूपको काम नपाउँदा युवा ग्रसित हुन्छ । जसकाकारण उचित अवसरको खोजी गर्दै अन्य देशमा पलाएन हुन्छ। आजको युवा वर्ग कही कतैबाट पनि सन्तुष्ट छैन । हजारौ समस्याको बीचमा उसलाई चाप छ । अहिलेको परिस्थितिमा आफू अरुभन्दा उत्तम कसरी बन्ने होडबाजीमा अवसरको खोजी गर्दै दौड़ी रहेछ ।

युवा शक्ति, घर परिवारको चिन्ता, रोजगारीको चिन्ता,पढाइको चिन्ता, जीवनलाई कुन मार्गमा लैजाने त्यसको चिन्ता, के गर्ने कसरी गर्ने त्यसको चिन्ता, लगानी कहाँ गर्ने क्षेत्र विश्लेषणको चिन्ता, ऋण हुनेलाई ऋणको चिन्ता, धन हुनेलाई लगानी डुब्छ कि ! त्यसको चिन्ता, नकमाउनेलाई कुन मार्गबाट कमाउने तेस्को चिन्ता , कमाउनेलाई अझै कसरी कमाउने तेस्को चिन्ता सामाजिक प्रतिष्ठाको चिन्ता, अवस्था यस्तो विकृत छ आहिलेको यदि तपाई २५–२६ वर्ष हुँदासम्म समाजमा आफ्नो छाप छोड्न सक्नुहुन्न भने त्यो समाजबाट तपाईको आस्तित्वविलिन हुन थाल्छ ,आजको समाज शक्तिको पछाडि दौडिन्छ, जुन ब्यक्ति अर्थ, वाणी र अन्य विविध कुराले शक्तिशाली छ, यहाँ उसैको बोलबाला चल्छ, सुन्दा तितो लागेता पनि यो मेरो आँखाले देखेको सत्य यहि हो यस्तो अवस्थाबाट घेरिएको युवा शक्तिलाई कही कुनैतर्फबाट साथ सहयोग छैन ।

राष्ट्रलाई थाहा छ,युवा शक्ति नै राष्ट्र विकाशको आधारशिला हो।’ भन्ने तर,पनि, राज्य सरकारले आफ्ना बलिया पाखुराको व्यवस्था गरेको छ। देखेर निकै दुःख लाग्छ उनिहरुको सहजताका लागि राष्ट्रले कुनै कदम चाल्दैन। यसरी देशले युवा शक्तिलाई बेवास्ता गरेर युवालाई पलायन हुन बाध्य बनाएको छ । राष्ट्रका युवाशक्तिको अधिकतम सदुपयोग गरेर देशले सर्को फेर्न सक्थ्यो । तर, आफसोँच यहाँ युवा शक्तिलाई देशमै अवसर सिर्जना गर्ने देशको युवामा लगानी गर्नेतर्फ कसैको ध्यानाकर्षण छैन। भ्रष्टाचार, अस्थिर राजनीति, सत्ताप्राप्त दलहरुको स्वार्थ, र दिनानुदिन राजनीतिमा देखिँदै गरेको विकारले त युवालाई झनै हतोत्साहित गरिरहेको छ। युवाशक्तिका समस्याप्रति अब सम्बन्धित क्षेत्रको ध्यान जानै पर्छ किनकी सवाल लाखौं उर्जाशिल युुवाको हो । इतिहासलाई फर्केर हेर्ने हो भने पनि हाम्रा वीरहरुले विश्वमै कृति लेखेका छन्। जब बीरहरुले यही भूमिमा संघर्ष गरेका थिय तब बर्तमान परिस्थितिमा भन्दा हाम्रो राष्ट्र कति बलियो थियो, किनभने तब राष्ट्रसँग जल्दो–बल्दो युवा शक्तिको साथ थियो।

यदि राष्ट्रले युवाशक्तिलाई गुमाउनु छैन भने अब राष्ट्रका राजनीतिज्ञ र प्रमुख पदाधिकारीहरु निजी स्वार्थबाट माथि उठेर देश विकासतर्फ ध्यनाकर्षण गर्ने र युवाहरुको लागि उनको योग्यता, क्षमता अनुसारको अवसर सिर्जित गर्ने खालका सुदृढ़ नीतिहरु प्रयोगमा ल्याउनै पर्छ। भ्रष्टाचार, घुसखोरी, नाताबाद जस्ता अवसरको खुला प्रतिष्पर्धाको बीचमा आउने बाधा अवरोधहरुलाई जरैेदेखि उखेली फ्याँक्नुपर्छ। योग्यता र क्षमताका आधारमा कर्मचारीहरुको छनोट हुनुपर्छ। हाम्रो शिक्षा प्रणालीमा अधिक परिमार्जनको आवश्कता छ। शिक्षा व्यावहारिक, जिवनोपयोगी, रोजगारमूलक र प्रयोगात्मक हुनुपर्छ ।

केही नभएपनि आफूले आर्जन गरेको शिक्षाको प्रयोग गरी भोलिको दिनमा केही काम गरेर जिविकोपार्जन गर्न सकियोस् , आर्जित शिक्षा प्रमाणपत्रमा मात्र सीमित नरही युवावर्गको लागि लाभदायक होस् । युवावर्ग स्वयम्मै एउटा बलियो शक्ति हो, यदि उसलाई राष्ट्रको तर्फबाट थोरै प्रोत्साहन, साथ र सहयोग मिल्छ भने उसले आफै आफ्नो सम्पूर्ण समस्याहरुको हल निकाल्न सक्छ । हरेक क्षेत्रमा एकै प्रकारको शिक्षाप्रणाली लागू गर्नुपर्छ, सबैतर्फको शिक्षाको गुणस्तर एउटै हुनुपर्छ तब मात्र जातीय, बर्गीय आरक्षणलाई हटाउन सकिन्छ र प्रतिष्पर्धामा समानता ल्याउन सकिन्छ । आशा छ, युवावर्गका सम्पूर्ण समस्या, असन्तुष्टि, तनावले छिट्टै समाधानको बाटो पाउने छन्। युवाशक्ति पुनःजागृत हुने छ। मेरो देशले मुहार फेर्ने छ। राष्ट्रमाथिको ऋण हट्ने छ। त्योदिन छिट्टै आउने छ।

https://www.globalaawaj.com/archives/110087