ताजा अपडेट »

ग्लोबल,समृद्धिको आवाज

विहीबार, १९ असार २०७६

हालै मात्र कम्पनी रजिष्ट्रार र सूचना विभागबाट औैपचारिक दर्ता तथा अनुमती प्राप्त गर्दै हामी ग्लोबल आवाजलाई वैधानिक रुपमा अघि बढाउँदै छौं । विगत केही महिना अघिदेखि परिक्षण प्रकाशनमा रहेका हामीले यस दौरान राम्रो प्रतिक्रिया प्राप्त गरेका छौं । ग्लोबोलाइजेशनको यूगमा विश्व एउटा शहर र देश एउटा गाउँ बनेको छ भने सो देशका शहरहरु परिवार सरह भएका छन् । विज्ञान र प्रविधिको आविष्कार, विकास र प्रयोगले तिव्रता पाएको छ । यसबाट नेपालपनि निकै लाभान्वित भएको छ । इन्टरनेट तथा मोबाइल प्रदायक कम्पनीहरुको संख्या बढ्दो छ भने त्यसैगरी दिनानुदिन प्रयोगकर्ताको संख्या पनि बढ्दो छ ।

नेपालको सन्दर्भमा जनसंख्याको एक तिहाई भन्दा बढी अर्थात् एक करोड भन्दा बढी मोबाइल प्रयोगकर्ता रहेका छन् । र, करिब एक करोड इन्टरनेट प्रयोगकर्तापनि रहेका छन् । यसरी मोबाइल , इन्टरनेट सेवा प्रदायक र सेवाग्राहीको संख्या बढेसँगै अनलाइन सञ्चारको आवश्यकता र मागपनि बढ्दो छ । मागसँगै अनलाइन पत्रिकाहरुको संख्या पनि बढ्दो छ । यसैक्रममा ग्लोबल आवाज पनि एक हो । सूचना तथा प्रचार विभागमा दर्ता अनुसार ग्लोबल आवाज १३८८ औं क्रमसंख्यामा रहेको छ । यसबाट पनि नेपालमा अनलाइन पत्रिका प्रकाशन हुने क्रम बढ्दो छ भन्ने पुष्टि हुन्छ । त्यसैगरी त्यति नै बिना दर्ता सञ्चालन हुने क्रम बढ्दो छ । डिजिटलाइजेशनको समयमा अनलाइन पत्रिकाको माग र पाठक तथा दर्शक बढ्नु स्वभाविक हो । तर, त्यति नै डिजिटल पत्रिका सत्य, तथ्य, विश्वशनिय र प्रभावकारी हुन नसकेको पाइएको छ ।

केही पूराना, ठूला सञ्चार गृहबाट सञ्चालित अनलाइन र दक्ष श्रमजिबीबाट सञ्चालित अनलाइन बाहेक अन्य अनलाइनका गलत सूचना र कमजोरीबाट समग्र अनलाइन क्षेत्र नै प्रभावित छ । विभिन्न राजनीतिक तथा वर्गिय आन्दोलन र परिवर्तनपछि मुलुक नयाँ संरचना, ढाँचा र यात्रामा अघि बढेको छ । अबको यात्रा समृद्धिको यात्रा हो । अबकोलन र संघर्ष पनि विकास र समृद्धिको लागि हुनुपर्दछ । यही मर्म र आवश्यकतालाई महसुस गर्दै विशेषगरी सर्वसाधारणका जिविकोपार्जन, उन्नतिदेखि रोजगार, व्यापारी/व्यवसायीका विषयलाई उजागर, प्रोत्साहन र खबरदारी गर्ने उद्देश्यका साथ यो अनलाइन सञ्चालन गरिएको हो ।

‘सञ्चार गृह व्यवसायिक हुनु पर्दछ । सूचना, समाचार र जानकारी प्रदायक सञ्चार माध्यमले जनहितका लागि आवाज उठाउँदै आफ्नो व्यवसायिक यात्रा स्थापित गर्नु पर्दछ’ भन्ने हाम्रो मान्यता रहेको छ । अधिकांश सञ्चार माध्यम धराशायी बनेको अवस्थामा व्यवसायिक सञ्चार सुरु गर्नु आँफैमा चुनौती हो । त्यसमा पनि सञ्चारको हब मानिने प्रदेश ५ को रुपन्देहीबाट यात्रा सुरु गर्नु चुनौती र अवसर दुबै हुन् । यहाँ रहेका सबै किसिमका सञ्चार माध्यमबाट हामीले सिक्दै, व्यवहारमा उतार्दै आफ्नै फरक शैली र पहिचान बनाउनुका साथै स्तरीय रुपमा निरन्रता दिनु हाम्रो मुख्य लक्ष्य हो ।

औधोगिक, व्यापारिक तथा आर्थिक हब मानिने यस क्षेत्रमा रहेका विकृति, समस्या, अनियमितताका विषयमा आवाज समावेश गर्नुका साथै सम्भवाना र अवसर विषयमा पनि समावेश गरिनेछ । त्यसैगरी हामी समाजबाट अछुत र दूरीमा रहन सक्दैनौं । तसर्थ मानव र समाजसँग जोडिएका हरेक विषयलाई पनि हामी नजरअन्दाज गर्दैनौं । अर्कोतर्फ हामी हरेक वर्ग र उनीहरुको जिविकोपार्जन तथा आयसँग जोडिएका विषयमा सदैव जिज्ञासु हुनेछौं र ति जिज्ञासा मेटाउनुका साथै सूचित गर्ने अभियानमा निरन्तर लाग्नेछौं ।

‘समृद्धिको आवाज’ हाम्रो मात्र नारा होइन । यसमा ‘आवाज हाम्रो समृद्धि समग्र जनताको हुनुपर्दछ’ भन्ने मान्यताका साथ यस अभियानमा हामी आएका हौं । यस अभियानमा तपाइँ सम्पूर्ण पाठकवृन्द, दर्शकवृन्द, विज्ञापनदाता, सञ्चालक, कर्मचारी एवम् शुभेच्छुकहरुको साथ र गच्छेअनुसारको सहयोगको अपेक्षा गर्दछौं र समृद्धिको यात्रामा सहकार्य गर्न अनुरोध गर्दर्छौं ।