ताजा अपडेट »

बजेट यथाशिघ्र कार्यान्वयन हुनुपर्छ : उद्योगी,व्यवसायी

सोमबार, १७ जेठ २०७८
2 Shares

बुटवल । संघीय सरकारले अध्यादेशमार्फत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट ल्यायो । अर्थमन्त्री विष्णु् पौडेललले बजेट प्रस्तुत गरे । उनले ल्याएको बजेट समय सान्दर्भिक र उत्तम रहेको भन्दै गर्दा प्रतिपक्ष र केहीले भने चुनाव लक्षित भन्दै आलोचना पनि गरेका छन् । लुम्बिनी प्रदेशका निजी क्षेत्रले बजेट समय सापेक्ष र व्यवहारिक रहेको बताउँदै कार्यान्वयनमा भने शंका गरेका छन् । कोरोना महामारीमा आएको बजेटमा धेरै कुराहरु रहेकोले कार्यान्वयनमा पहल गर्न निजी क्षेत्रले आग्रह गरेका हुन् । लुम्बिनी प्रदेशका ठूला उद्योगी एवम् उद्योगी व्यवसायीक संघ–संस्थाका अध्यक्षहरुले बजेटको पूर्ण कार्यान्वयन गराउन सरकारले ध्यान दिन आग्रह गरेका छन् ।

उद्योगीहरुले अहिलेको अवस्थामा आएको बजेटले छोएका विषयहरु राम्रा भएकोले अर्थतन्त्रलाई बलियो बनाउनको लागि बजेटको कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन् । लुम्बिनी प्रदेशका उद्योग तथा बाणिज्य संघसंग सम्बन्धी अध्यक्षहरुले अहिलेको बजेट ठूलो आकार भएकोले धेरै क्षेत्रलाई समेट्न खोजेको बताएका हुन् ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा रुपन्देहीका सफल उद्योगी राजेश कुमार अग्रवालले कल्पना गरेको भन्दा पनि राम्रो बजेट आएको बताए । उनले बजेट सकारात्मक रहेको बताउँदै अब यसको चूनौती भनेको कार्यान्वयनमा देखिने बताए । उनले स्वदेशी उद्योगलाई पनि प्रवद्र्धन गर्ने, राष्ट्रकै उद्योगलाई सबल बनाउनका लागि हुनु पर्ने यस्ता थुप्रै कुराहरुले उद्योगी व्यवसायीलाई सहजता दिएकोले आफूले सकारात्मक रुपमा लिएको बताए । उनले बजेटको कार्यान्वयन पक्ष भनेको सामुहिक र साझा जिम्मेवारी भएको बताउँदै सबैको पहलबाट यो संभव हुने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्माले अहिलेको बजेटको प्रशंसा गर्दै कार्यान्वयन गराउनको लागि सरकारले ध्यान दिनुपर्ने बताए । अघिल्ला वर्षहरुको तुलनामा यो वर्षको अवस्था खराब भएकोले कार्यान्वयनमा चुनैति देखिएको बताउँदै यसको अन्त्य गरि अनुभुति गर्नेगरी कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

‘पहिलो कुरा त हामी सबैले सोचेको र चाहेका कुराहरु बजेटमा पर्दैनन्,तरपनि यो पटक बजेटको आकार बढाएर धेरैकुरालाई समेट्न खोजिएको छ, यो एकदम राम्रो हो । ’ उनले भने –‘कोरोनाको महामारी कायमै रहेकोले यसको कार्यान्वयनको पक्षमा ध्यान दिन आवश्यक छ ।’
उनले केही महिनाभित्रैबाट अनुभूति गर्न पाएमा यसपटकको बजेट सफल हुने संस्थागत धारणा रहेको बताए । उनले अर्थतन्त्रलाई बलियो बनाउनको लागि निजि क्षेत्र हरेक कुरामा सहयोग गर्न तयार रहेको समेत बताए ।

यता चेम्बर अफ कमर्सकाका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बजेट प्रशंसनीय रहेको बताए । उनले अघिल्ला वर्षहरुको तुलानामा धेरै कुराहरुलाई समेट्न खोजिएको बताए । उनले रोग र भोग भगाउने कुरालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै खोप ल्याउने प्रयासलाई राम्रो मान्नुपर्ने बताए । उनले खोपलाई सर्वसाधारणसम्म पु¥याएर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा जोड दिए ।

शिक्षा, कृषि, पर्यटन लगायतका कुराहरुलाई प्राथमिकतामा राख्नु राम्रो भएको बताउँदै उनले अहिलेको अवस्थामा ईन्टरनेटको माध्यमबाट हुने अध्यापनलाई सहयोग पुग्ने गरि ल्यापटपमा दिएको सहुलियतको तारिफ समेत गरेका थिए । उनले युवाहरुलाई स्वरोजगार बनाउनको लागि सर्टिफिकेट धितो राखेर दिने ऋणले धेरै युवालाई राम्रो प्रभाव पार्ने बताए ।उनले भने –‘अहिलेको बजेटलाई खोट लगाउने अवस्था त छैन्, तरपनि यसको कार्यान्वयनमा भने संका अझै छ । राजस्व र ऋणको विषयले गर्दा केही शंका उत्पन्न गराएको हो । ’ उनले जुनसुकै अवस्था आएपनि देशको अर्थव्यवस्था कमजोर हुने काम नगर्न शुझाब समेत दिएका छन् ।


यस्तै उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले बजेटमा धेरै कुराहरु समेटिएपनि केही कमजोरीहरु रहेको बताउँछन् । उनले कार्यान्वयनको हिसाबमा कुरा गर्दा केही समस्या हुने बताउँदै उनले उद्योगी व्यवसायीहरुका केही कुराहरुमा अझैपनि बजेटले स्पष्ट बोल्न नसकेको बताए । उनले डिमाण्ड शुल्क फिर्ता गर्ने बजेटले निर्णय गर्ने र बुझाएको पैसा फिर्ता नहुने समस्या देखिएको उल्लेख गर्दै लिँदै नलिने निर्णय गराएमा उद्योगी व्यवसायीलाई सहज हुने बताए । उनले बजेट सकारात्मक लिनुपर्ने भएपनि हामी उद्योगी व्यवसायी भएकोले सबैमा एउटै मुल्य अभिबृद्धि कर(भ्याट) लिने कार्यलाई सच्याएर बस्तुअनुसार भ्याटदर फरक फरक लगाउन सुझाब दिए । उनले सडक निर्माणमा स्वदेशी सिमेन्ट र छड प्रयोग गर्नुपर्ने कुरा राम्रो भएको बताउँदै मुल्य अभिबृद्धि करको दायराको विषयमा सोच्नुपर्ने बताए । उनले अन्तशुल्क बिलासी बस्तुमा लगाउनुपर्ने भएपनि दैनिक जिवनमा प्रयोग हुने वस्तुमा प्रयोग भएको भन्दै यसमा पनि सच्चिनुपर्ने बताए । उनले कोरोनाको यस्तो महामारीको समयमा आएको बजेट पूर्ण कार्यान्वयन गर्न गराउन अहिलेको सरकार र निर्वाचन भएपछिको सरकार दुबै लाग्न सुझाब समेत दिए । उनले अहिलेको विषम अवस्थामा आएको बजेटलाई नकारात्मक भन्दा सकारात्मक कुराहरु सोच्न समेत आग्रह गरे ।

यता जिल्ला जिल्लाका उद्योग बाणिज्य संघका प्रतिनिधिहरुपनि अहिलेको विषम परिस्थीतिमा आएको बजेट सकारात्मक भएपनि कार्यान्वयनमा भने शंका ब्यक्त गर्दछन् ।

रुपन्देहीको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजूले अध्यादेशबाट आएको बजेटले धेरै आशा देखाएको बताए । उनले बजेट केही सानो आकारको आउला भन्ने आशा भएपनि निकै ठुलो भएको बताउँदै यसले धेरै कुरालाई समेट्न खोजेपनि अन्तशुल्क लगायतका कुराहरुमा ध्या नपु¥याएको देखिएको तर्क राखे । उनले भने –‘धेरै समेट्दा केही कुराहरु छुटे तर अन्तशुल्क र मुल्य अभिबृद्धि करको दायराको विषयमा भने हेर्नुपर्ने थियो । यसले उद्योगी व्यवसायीलाई निकै सहयोग पुग्ने थियो ।’ उनले अन्तशुल्क लगाउने अवस्थामा ध्यान दिन आवश्यक रहेको बताउँदै कोरोना बिरुद्धको खोपको विषयमा आएका कुराहरु सकारात्मक रहेको बताए । उनले अहिले आएको बजेटले उद्योगीका केही कुराहरुलाई समेटेको बताउँदै कृषि, स्वास्थ्य, शिक्षा लगायतको बजेटलाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले संसद ब्युतिएपछि वा निर्वाचन भएपछिको सरकारले कसरी बजेट कार्यान्वयन हुन्छ भन्ने अझैपनि चुनौती देखिएको बताए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अरुण गोयनकाले कोरोनाको महामारीको बिचमा आएको बजेट समग्रमा राम्रो रहेको बताउँछन् । उनले व्यवसायीको पक्षमा पनि केही बोलेकोले आफुहरुको लागि पोजेटिभ भएको बताए । उनले सडक बनाउँदा प्रयोग हुने सामाग्री स्वदेशी प्रयोग गर्ने निर्णयले आफुहरुमा केही राहात महशुस भएको बताए । उनले कायान्वयनको संवन्धमा केही आशंका रहेपनि सरकारले कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै स्वागत गरेको बताए । उनले बजेटमा आएका कुराहरुलाई कार्यान्वयनको पक्षमा लैजानु नै ठूलो चुनौतिपूर्ण रहेको बताउँदै अघिल्ला वर्षहरुमा नभएको कार्यान्वयन यो पटक हुनेमा आशंका ब्यक्त गरे । उनले भने –‘सामान्य अवस्थाको समयमा आउने बजेटहरु ६०–७० प्रतिशत पनि कार्यान्वयन नभएको अवस्थामा यो पूर्ण कार्यान्वयन हुन्छ भन्नेमा चाहिँ शंकै छ।’

अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठले सरकारले आफूहरुका मागहरु केही हदसम्म सम्बोधन गरेको बताए । उनले अहिलेको विषम् परिस्थीतिमा आएको बजेटमा आएका कुराहरु उत्कृष्ठ भएको बताउँदै कार्यान्वयन हुनेमा आशाबादी रहेको बताए । उनले भने ‘सरकारले यति ठूलो बजेट ल्याएको छ, कार्यान्वयन पक्कै हुन्छ, कार्यान्वयन हुन नसक्ने भए त किन ल्याउँथ्यो र ।’

पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले यस्तो अवस्थामा आएको बजेट स्वीकार्य रहेको भएपनि कार्यान्वयन हुनेमा शंका ब्यक्त गरे । उनले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि लगायतका कुराहरु हेर्दा बजेट सन्तुलित रहेपनि बिनियोजन गरेको बजेट कार्यान्वयन नभए यसको कुनै तुक नहुने बताउँदै कार्यान्वयन गराउनु पर्नेमा जोड दिए ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्री प्रसाद भलामीपनि सरकारले ल्याएको बजेट राम्रो भएको बताउँदै कार्यान्वयन गराउन अहिलेबाट नै पहल गर्नुपर्नेमा जोड दिए । बैदेशिक ऋण र राजश्व मार्फतको आम्दानीले पनि केही समस्या दिनसक्ने संभावना समेत औँल्याए ।

यता नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बजेट समग्रमा राम्रो भएको बताए । उनले अहिलेको बजेटको आकार ठुलो र समेटिएको क्षेत्र पनि ठुलो भएकोले कार्यान्वयनमा केही समस्या देखिने बताए । उनले आफ्नो क्षेत्रका धेरै कुराहरु समेटिएको बताउँदै यसको कार्यान्वयनमा ध्यान दिन आवश्यक रहेको बताए ।

यता दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकिले अहिलेको बजेट बिगतको भन्दा धेरै राम्रो रहेको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुपर्ने बताउँछन् । बजेट राम्रो हुनुको साथै केही समस्याहरुपनि रहेको बताउँदै राजश्व उठ्ने संभावना कम रहेको बताए । उनले समग्रमा दाङ जिल्लामा राम्रो बजेट आएको बताउँदै बिनियोजन भएको बजेट कार्यान्वयन हुनुपर्ने बताए । उनले कृषिमा राम्रै बजेट आएपनि आएको बजेट वास्तवीक कृषकले नपाउने बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

यस्तै प्युठान उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रभात केसीले सरकारले चुनाव लक्षित बजेट ल्याएको बताए र उनले लोकप्रियाताका आधारमा आएको बजेट कार्यान्वयनमा समस्या हुने तर्क राखे । उनले बजेटको कार्यान्वयनमाथी आशंका ब्यक्त गर्दै भने बजेटले देशलाई आत्मनिर्भर बनाउने भन्दा पनि आयात नै सहज बनाएको बताए । उनले साना तथा मझौला उद्योगी व्यवसायीलाई बजेटले राहत नपुगेको बताए ।
यता यस क्षेत्रका उद्योगी एवं पर्यटन व्यवसायीहरुले पनि बजेट राम्रो भएको बताएका छन् । उनीहरुले बजेटमा खासै समस्या नभएपनि कार्यान्वयनमा भने आशंका नै ब्यक्त गरेका हुन् ।

यसोदा फुड्स प्रा. लि.का सञ्चालक कमल मालपानीले बजेट समग्रमा राम्रो भएको बताए । उनले कोरोना जस्तो महामारीलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउनु प्रसंसनीय रहेको बताए । उनले कोरोनालाई हटाउन सकेमा देशको अर्थतन्त्र, पर्यटन, शिक्षा लगायत सबै क्षेत्र राम्रो हुने बताउँदै उनले सबैभन्दा पहिले कोरोना नियन्त्रणमा लाग्नुपर्ने बताए । नेपालमा धेरै कुराको संभावना रहेको उल्लेख गर्दै उनले संभावनाको उपयोग गर्नका लागि कोरोना नियन्त्रण र निर्मुल गर्नुपर्ने बताए । उनले हरेक नागरिकले खोप लाउनपनउनुपर्ने अवस्था सिर्जना गर्न माग समेत गरे । उनले आफ्नो र देशको अवस्था सुधार गर्नको लागि भएपनि बजेट कार्यान्वयन गर्नुपर्ने बताए ।

यता अम्बुजा सिमेन्टका सञ्चालक हेमन्त अग्रवालले बजेट राम्रो भएको बताउँदै यसको कार्यान्वयन पक्षमा शंका ब्यक्त गरे । उनले विगतका वर्षहरुमा पनि बजेट आउने तर कार्यान्वयन नहुने समस्या देखिएको बताउँदै उनले कार्यान्वयन गराउन सबै लाग्नुपर्ने बताए । उनले कोरोना नियन्त्रण नै मुख्य प्राथमिकतामा परेपनि सबै क्षेत्रलाई समेट्न खोजिएकोले बजेट सकारात्मक रहेको तर्क राखे । कोरोनाले निकै समस्यामा पर्यटन व्यवसायी परेकोले पर्यटन क्षेत्रलाई अझै हेर्न सुझाब समेत दिएका छन् ।

यता बिजया सिमेन्टका सञ्चालक विकास कोडियाले सरकारले पहाडी क्षेत्रमा सडक बनाउँदा स्वदेशी सिमेन्ट र छड प्रयोग गर्न भन्नु आफुहरुलाई सकारात्मक भएको बताए । उनले बजेट सकारात्मक भएपनि कार्यान्वयनमा समस्या रहेको बताए ।उनले नेपाल सानो देशमा पनि धेरै राजनितिक दलहरु र उनीहरुका झगडाले गर्दा देश बिकास नभएको तर्क राखे । उनले अहिलेको बजेटलाई पूर्ण कार्यान्वयन गराउनुपर्ने सुझाब दिए ।

पर्यटन व्यवसायी एव नेपाल होटल संघका केन्द्रीय सदस्य गोपाल रानाले भने बजेट उत्कृष्ट रहेको बताउँदै सहजै कार्यान्वयन हुने बताए । उनले पर्यटन क्षेत्र समेत बजेटमा उद्योग सरहको मान्यता पाएको खुसी ब्यक्त गरे । उनले कार्यान्वयन गराउनको लागि समिति निर्माण गरेरै लाग्न सुझाब दिएको समेत बताए । उनले सरकारले उत्साहित भएर ल्याएको बजेट कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताए ।

साट्टा लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले बजेटले पर्यटन, कृषि, उद्योग, सेवा ,व्यवसाय, शिक्षा र स्वास्थ्यको क्षेत्रका अत्यावश्यकीय मागहरुलाई संबोधन गरिएको पाइए पनि व्यवहारमा लागू गरी कार्यान्वयनमा ठूलो चूनौती देखिने बताउँछन् । उनले ४% लक्ष्य लिएको हाल कोभिडले –२ ऋणात्मक रहेको वर्तमान आर्थिक अवस्था आगामी वर्षमा ६.५% को लक्ष्य पूरा गर्न गाह्रो हुने बताए । उनले राजस्व संकलन र ऋण उठाउन सम्भव हुनेमा शंका ब्यक्त गरे । चुनावी बजेटको संज्ञा दिँदै उनले यस क्षेत्रमा छुट्याइएको बजेट सराहनीय रहेको बताए । उनले सहि तरिकाले प्रयोग गर्न सुझाव समेत दिए।