असार १९,
बुटवल । भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी आसपासका उद्योगले प्रयोग गर्ने बढी क्षमताका ढुवानीका साधने प्रदषण बढाएको भन्दै त्यस्ता ढुवानीका साधनलाई रोक लगाइएको छ । लुम्बिनी क्षेत्रको वातावरणलाई असर गर्ने भन्दै सर्वोच्च अदालनले १९ टन भन्दा बढी क्षेमताका ढुवानीका साधनलाई निशेध गरेको हो ।
२०६६ सालमा औद्योगिक प्रवद्र्धन बोर्डले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरपर उद्योग नखोल्ने निर्णय गरेको थियो । बोर्डको निर्णयविपरीत विभिन्न औद्योगिक घरानाले उद्योग स्थापना गर्न थालेपछि सरोकारवालाले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघिका छलफल निष्कर्षमा पुग्न सकेका थिएनन् । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा आईतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले नयाँ उद्योगको अनुमति नदिन र ठूला ढुवानीका साधनलाई निषेध गर्न आदेश दिएको हो ।
निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्दै सर्वाेच्च अदालतले सडक बिग्रिने ढुवानीका साधनलाई निषेध गर्न र प्रदूषण बढ्ने गरी नयाँ उद्योग सञ्चालनको अनुमति नदिन आदेश दिएको हो । निवेदकले लुम्बिनी आसपासका उद्योगले प्रदूषण बढाएको भन्दै उद्योग बन्द गर्न माग गरेको सन्दर्भमा ढुवानीका साधनलाई निषेध गरिएपछि उद्योग क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । उद्योग सञ्चालन रोक्ने विषयमा समेत अदालतले कुनै निर्णय गरेको छैन । अदालतको फैसला हुँदा नै यसबारे निर्णय हुने आदेशमा उल्लेख छ ।
बढी क्षमताका ढुवानीका साधन निषेध गरिएको र स्वच्छता कायम गर्न उद्योग नै बन्द गर्ने फैसला आउने सक्नेतिर सोध्दै उद्योगीमाझ अबौं रुपैयाँको लगानी गरेर सञ्चालनमा रहेका उद्योगको अवस्था के हुन्छ भन्ने चासो र बहस शुरू भएको छ । स्थानीय क्षेत्रमा सञ्चालित उद्योगले लुम्बिनी प्रदूषणको चपेटामा छ । लुम्बिनी क्षेत्रका उद्योगले लुम्बिनीलाई प्रदूषित गराएपछि पटक–पटक स्थानीयले उद्योग अन्यत्र सार्नुपर्ने कुरा उठाउँदै आएका थिए । सर्वोच्चले प्रदूषण कम गर्ने विषयमा ध्यान दिन समेत आदेशपछि उद्योगीलाई दबाब परेको छ ।
संस्कृतिविद् तथा लुुम्बिनीका जानकार डा. गितु गिरीले सर्वोच्चको आदेश लुम्बिनीको संरक्षणका लागि राम्रो काम भएको बताए । ‘यहाँ सञ्चालित उद्योगले लुम्बिनी क्षेत्रको हावापानी र माटो प्रदूषित गरेका थिए,’ गिरीले भने, ‘सरकारको मापदण्डलाई मिचेर बनेको सबै उद्योगहरू यहाँबाट अन्यत्र सार्नुपर्छ । लुम्बिनीलाई प्रदूषणबाट जोगाउन यो कदम स्वागतयोग्य छ ।’
लुम्बिनी विकास कोषका निमित्त सचिव सरोज भट्टराईले सर्वोच्चको आदेशको कार्यान्वन भए लुम्बिनी स्वच्छ बन्ने बताए । ‘यसलाई सबै सहकार्यबाट कार्यान्वन गरौं । लुम्बिनीलाई स्वच्छ र सफा बनाउन सबै जुटौं,’ सचिव भट्टराईले भने, ‘देशको राजधानी काठमाडौं र अन्य प्रमुख शहरको भन्दा प्रदूषणको मात्रा लुम्बिनीमा उच्च पाइएको छ ।’
वातावरण विभाग काठमाडौंका उपसचिव शंकरप्रसाद पौडेलले शान्ति भूमि लुम्बिनी धेरै प्रदूषित क्षेत्र बन्न पुगेको बताए । उनले भने, ‘औद्योगिक करिडोर, ठूला यातायातका साधन, गुइँठा र दाउराको प्रयोग र इँटाभट्टीले लुम्बिनीको हावा सबैभन्दा प्रदूषित देखिएको छ ।’ त्यहाँका उद्योगहरूबाट निस्किने वायुका कारण लुम्बिनी क्षेत्रका सम्पदाहरू जोखिममा परेका छन् ।
भैरहवा लुम्बिनी करिडोर अन्तर्गत १२ वटा ठूला सिमेन्ट उद्योग छ । करिडोरमा सिद्धार्थ सिमेन्ट, जगदम्बा सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, ब्रिज सिमेन्ट, सुप्रिम सिमेन्ट, पाठक सिमेन्ट, अम्बुजा सिमेन्ट, अग्नि सिमेन्ट, विशाल सिमेन्ट र अर्घाखाँची सिमेन्ट सञ्चालनमा छन् । केही स्टील उद्योग र इँटाभट्टाहरू पनि छन् ।
लुम्बिनी–भैरहवा औद्योगिक करिडोरमा रहेका सिमेन्ट, खाद्य, इँटा, स्टील, स्पीनिङ र सिन्थेटिक, प्लाइउड, हर्बल एवं पेपर उद्योगमा प्रयोग भएका जेनेरेटर सेट, ब्वाइलर फर्नेश आयल सेट र तिनमा प्रयोग हुने डिजेल, धानको भुस, फर्नेश आयल, दाउरा र कोइला, सिमेन्ट उद्योगबाट चुहिने सिमेन्टको धुलो त्यस क्षेत्र वरपर वायु प्रदूषणको प्रमुख स्रोत बनेको छ ।
जगदम्बा सिमेन्टका महाप्रबन्धक विदुर ढुगानाले उद्योगहरू हट्ने सम्भावना नरहेको बताए । ‘यहाँ अर्बाैंरखर्बाैंको लगानी छ,’ ढुगानाले लोकान्तरसँग भने, ‘हामीले राज्यको नीति नियम पालना गरी उद्योग सञ्चालन गरेका हौं । उद्योग बन्द गर्न सम्भव छैन कि राज्यले हामीलाई अन्यत्र जग्गा उपलब्ध गराउनुपर्छ ।’
अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले सिमेन्टमा आत्मनिर्भर भइसकेको नेपाल यहाँका उद्योग बन्द भए फेरि नेपाली पूजी पलायन हुने बताए । ‘यहाँ सञ्चालित उद्योगबाट प्रत्यक्षरअप्रत्यक्ष झण्डै ५० हजार व्यक्तिहरूले रोजगार पाएका छन् । उद्योग बन्द गरिए ठूलो राजस्व गुुम्छ । बरु प्रदूषण नियन्त्रण र सही व्यवस्थापनको बाटो खोज्दा उपयुक्त होला,’ अग्रवालले भने।
वर्षात्भन्दा प्रदूषणको मात्रा हिउँदमा बढी पाइने गरेको छ । अहिले भैरहवा–लुम्बिनी सडक निर्माणाधीन छ । जसले गर्दा त्यहाँको धुलोधुवाले बाटोमा हिँड्ने मानिसहरू चिन्न सकिँदैन । ‘वातावरण विभागले वायू प्रदूषण अवस्था परीक्षण र अनुगमनका लागि काठमाडौंबाहेक चितवनको सौराहा, पोखरा र लुम्बिनीमा स्टेसन स्थापना गरेको छ,’ पौडेलले भने, ‘यी स्टेसनले दैनिक घण्टा–घण्टाको प्रदूषण अवस्था बताउने गरेका छन् ।’
लुम्बिनीमा राखिएको मापकमा धेरै धुलोका कण देखिन्छन् । सन् २०१७ मा लुम्बिनीको हावामा १७८ माइक्रोग्राम पर क्वीपिक मिटर धुलो देखिएको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको वातावरणीय सुधारमा सरोकार भएका निकायले बेलैमा ध्यान नदिए प्रदूषणका कारण पर्यटक आवागमनमा प्रभाव पर्ने देखिन्छ । लुम्बिनी क्षेत्रमा निर्माणाधीन सडकले पनि अहिले प्रदूषण बढाएको छ ।
प्रतिक्रिया