ताजा अपडेट »

युवा पत्रकार रामजी : मोफसलदेखि केन्द्र,पत्रकारितादेखि निर्देशनसम्म

आइतबार, १६ जेठ २०७८
1 Shares

बुटवल । कोभिड-१९ को महामारीले विश्वनै आक्रान्त परिरहेको थियो । यसले आम नागरिकमा त्रास, भय सिर्जना गरिरहेको थियो । नेपालमा पनि त्यसको प्रभाव सुरु हुँदै थियो । लकडाउन होला या नहोला, कोरोनाले नेपालमा महामारीको रुप लिन्छ या लिन्न त्यो सहजै भन्न सक्ने अवस्था थिएन । तर, ढिलो चाँडो नेपाल भित्रने अनुमान भने सबैले गरिसकेका थिए । त्यसैबेला हकङ्गमा थिए रामजी ज्ञवाली । कान्तिपुर साप्ताहिकबाट कान्तिपुर मिडियागु्रपको अडियन्स इंगजमेन्ट डिपार्टमेन्टमा सरुवा भएपछि उनी एक कार्यक्रमका शिलशिलामा त्यहाँ पुगेका थिए ।

कोराना महामारीका कारण उनी पुरा समय त्यहाँ बिताउन पाएनन्, एकै हप्तामा फर्किए । उनी फर्किएको हप्ता दिन नबित्दै नेपालमा लकडाउन सुरु भयो, उनी पनि घरबाटै काम गर्न थाले । केहि महिना काम गरिसकेपछि उनले कान्तिपुरको जागिर छाड्ने निणर्य गरे । आफ्ना सम्पादक अनुप काफ्लेलाई जानकारी गराएर उनले मानव संसाधन विभाग प्रमुख पुष्प राज गिरी समक्ष राजीनामा पत्र बुझाएर डेरा हिँडे । जागिर नहुँदा आम पत्रकारहरुमा छटपटी थियो, उनी राजीनामा पत्र किन बोकेर कान्तिपुर पुगे ?

उनले भने, ‘हामी जिन्दगीभरी एउटै पेशा, एउटै काम गरिराख्नुपर्छ भन्ने हुँदैन । अर्को कुरा एउटै संस्थामा धेरै समय काम गरिराख्नुपर्छ भन्ने पनि छैन । त्यसँगै मान्छेले एउटै काम होइन विभिन्न काम गर्न सकिन्छ भन्ने पनि त हो । यो समय मेरा लागि अरु धेरै अध्ययन गर्ने खास समय हो भनेर मैले कान्तिपुरको लोभलाग्दो जागिर छाड्ने निणर्य गरेको हुँ ।’ तर, कोरोना महामारीको प्रभाव तथा संयोग ,उनले छाडेको केहि महिनामै कान्तिपुर लगाएत देशभरका विभिन्न मिडियाबाट व्यापक रुपमा पत्रकारहरु कटौती गरिएको थियो ।

लकडाउनसँगै नेपाल पनि सुनसान रह्यो । अन्य उद्योग, कलाकारखाना, व्यापार व्यवसाय ठप्प भएजस्तै नेपालको मनोरन्जन उद्योग पनि ठप्प रह्यो । चलचित्र निर्माण भएनन् । छायांकनरत चलचित्रको काम रोकियो । आम नागरिक लकडाउनमा के गर्ने ? यूट्युबनै पहिलो र एक मात्र विकल्प बन्यो मनोरन्जनका लागि । कोरोना महामारीले थला परेको पत्रकारितापछि वैकल्पिक माध्यमबाट दर्शकमाँझ उनले जाने निणर्य गरे । ॅलकडाउनका बेला फिल्मको कथा लेखँे, लकडाउन खुकुलो भएपछि चलचित्र निर्माण गरँे । यो छोटो चलचित्र हो, तर धेरै कुरा दर्शकले बुझ्न सक्छन्, उनी भन्छन्, ‘त्यसबेला यूट्यूूबमा आएको फ्रेस सामग्री हाम्रै थियो होला सायद ।’

दर्शकले मन पराए उनको निर्देशनलाई । नेपाली मिडियाले निकै राम्रो स्थान दिएर उनी र उनको पहिलो सामग्री कभरेज गरिदिएपछि उनी चुप बस्न सकेनन् । तुरुन्तै अर्को छोटो चलचित्र निर्माण गरे ॅडार्कमून’। नेपालका सबैभन्दा महङ्गा र चर्चित मानिने स्क्रिप्ट राइटर प्रदिप भारद्धाजलाई आफूले चाहेको कथाअनुसार स्क्रिप्ट लेख्न लगाए । एकै हप्तामा यो चलचित्र छायांकन सकियो । यो सर्टफिल्मको चर्चा नेपालमा मात्रै होइन बलिउडमा समेत भएको उनी बताउँछन् । बलिउडका आधा दर्जन मिडियाले यो चलचित्रको कभरेज गरे । ज्ञवाली भन्छन्, ‘बलिउडले नेपालमा पनि चलचित्र बन्छन् र ? भनेर हामीलाई निकै हेप्छ । तर, मैले बनाएको सर्टफिल्मको कभरेज बलिउड मिडियामा हुनु हामी समग्र नेपाली चलचित्रका शुभचिन्तकहरुका लागि खुसीको कुरा हो ।’

गुल्मीको रुरु एफएमदेखि कान्तिपुर मिडियाग्रुप प्रवेश गर्दासम्म उनले बुटवलको दैनिकपत्र, बुटवल टुडे, जनसंघर्ष, रेडियो रिपब्लिक, जागरण एफएम, बुद्ध टेलिभिजन र नेपालको प्रतिष्ठित अर्को मिडिया नयाँ पत्रिका दैनिकको सह-सम्पादकको रुपमा मोफसल बिट डेक्स समेत सम्हालेका थिए । हाल उनी पत्रकारितासँगै निर्देशन क्षेत्रमा सक्रिय छन् । सिनेमा हलहरु बन्द भइरहेका बेला उनले आफ्नै कम्पनीमार्फत छोटा चलचित्र बनाउने र सार्वजनिक गर्ने गरिरहेका छन् । अघिल्लो लकडाउनदेखि हाल जारी लकडाउनअघिसम्म उनले १० वटा सर्ट फिल्म निर्देशन गरिसकेका छन् । यी अधिकांश सर्ट फिल्म राम्रो इन्टरटेनमेन्ट र द सेलिब्रेटी टाइम्सको यूट्यूब च्यानलमार्फत सार्वजनिक भएका छन् ।

रामजी ज्ञवाली मनोरन्जन पत्रकारितामा झण्डै १ दशकदेखि कार्यरत पत्रकारको नाम हो । उनले नेपालका अधिकांश कलाकारसँगै बलिउड र हलिउडका प्रतिष्ठित कलाकारहरुको समेत अन्तरवार्ता लिएका छन् । हाल उनी आफैँ अंग्रेजी माध्यमको डिजिटल इन्टरटेनमेन्ट साइट द सेलिब्रेटी टाइम्सका सञ्चालक तथा एडिटर समेत हुन् । उनी राम्रो इन्टरटेनमेन्ट कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर हुन् रामजी ज्ञवाली । उनको कम्पनीले इभेन्ट म्यानेजमेन्ट तथा प्लानिंग, चलचित्र निर्माण, डकुमेन्ट्री, लोकेशन हन्टिंग, आर्टिस्ट म्यानेजमेन्ट लगाएतका कामहरु गर्दै आएको छ । त्यसँगै नेपालका अधिकांश कलाकारहरुलाई देश विदेशका कार्यक्रममा पठाउने र दर्जनौं नयाँ कलाकारलाई नेपाली कला क्षेत्रमा भित्राएका पनि छन् उनले ।

हामी कोरोना महामारीसँग लड्नुपर्छ । जोगिएर विगतका कामको समीक्षा र आगामी कामको प्लान गर्नुपर्छ, उनी भन्छन्, ‘हामीले थोरै भएपनि जनतालाई केहि मौलिक र रमाइलो प्रदान गर्नका लागि सर्टफिल्म बनायौं । अहिले ॅयू आर विथ रामजी’ नामक कार्यक्रम समेत सञ्चालन गरिरहेका छौं । निकै राम्रो प्रतिक्रिया आइरहेको छ । हामी खुसी छौं ।’ यो कार्यक्रमका दुई संस्करण द सेलिब्रेटी टाइम्सको च्यानलमार्फत सार्वजनिक भएको छ । उनले ॅलकडाउन’ र ॅडार्कमून’पछि ॅएक लभर’ नामक लभस्टोरी चलचित्र ल्याए । ज्ञवालीका अनुसार यो चलचित्र सबैभन्दा महङ्गो सर्ट कमर्सियल फिल्म हो । शाहिल खान, अनुपमा भण्डारीलाई अभिनय गराएर ज्ञवालीले युवायुवतीको विदेश मोह र विदेशमा बढ्दो लिभिङ्ग टुगेदर संस्कारलाई चलचित्रको माध्यमबाट देखाउन खोजेका छन् ।

यो चलचित्रबारे ज्ञवाली भन्छन्, ‘यो अलिकति दुःख लाग्दो घटना हो । यसबाट प्रेम, विदेश मोह, विदेशमा वढ्दो लिभिंग टुगेदर संस्कारलाई देखाउन खोजेको छु । विदेशमा जाने यो परिपाटीको विकाससँगै केहि गलत क्रियाकलापको विकास भएको छ विदेशका नेपाली युवायुवतीमा । यसले पार्ने प्रभाव निकै नरमाइलो छ । धेरै सम्वन्ध नराम्रोसँग टुटेका छन् । धेरै टुट्नेवाला छन् । यसले नेपाली समाज बिगार्ने काम समेत भइरहेको छ ।’ एक लभरपछि उनले ह्युमानिटी, रङ्ग नम्बर, आइ एम सरी, यात्रा, लभ डायरी, ट्रस्ट को हौ तिमी लगायतका सर्ट फिल्म बनाइसेका छन् । ज्ञवालीद्वारा निर्देशिक अधिकांश सर्ट फिल्म हेर्न लायक छन् ।

बजेटअनुसार चलचित्र कस्तो बन्छ भन्ने कुराको निर्भर हुन्छ, उनी भन्छन्, ‘कतिपय सर्ट फिल्म दर्शकको मनोरन्जनका लागि बनाइएको हो भने कतिपय बिग बजेटका चलचित्रले समाज र प्रेमको परिभाषा र समाधानलाई पनि चलचित्रको माध्यमबाट देखाउन खोजिएको छ ।’कोरोना केहि हदसम्म भएपनि नियन्त्रणमा आउनका लागि सरकारले गरेको लकडाउनमा केहि रचनात्मक काम गर्नुपर्ने ज्ञवालीको सुझाव छ । सबैले मैले जस्तो चलचित्र बनाउनोस् भनको होइन । तर, यस्तो बेला नकारात्मक कुराहरु दिमागमा नआओस् भन्नका लागि नभेटिएका र हराएका मान्छेहरु खोज्नोस् । आफ्ना आफन्तसँग गफ गर्नोस् । आफ्ना गल्तीहरु चिन्नोस् । गर्न नसकेका काम र गरेका कामको समीक्षा गर्नुहोस् । यूट्यूबहरुबाट काम गर्न मन लागेका कुराहरुको प्रशिक्षण लिनुहोस् । लकडाउन नराम्रो होला तर केहि सिक्न र बुझ्नका लागि त यो सबैभन्दा उत्तम समय हो । यो समयलाई खेर फाल्नु हुँदैन । केहि नयाँ गर्न खोज्नुपर्छ ।’

पत्रकारितासँगै अन्य विभिन्न आयाममा सक्रिय ज्ञवालीले निकट भविष्यमा ठूलो चलचित्र निर्माण गर्ने योजना गराएका छन् । तर, अहिले होइन । उनी भन्छन्, ‘२ जना निर्माण टिमसँग डिटेल्स कुरा भएको छ । चलचित्र बनाउने कुरा त भएको छ । तर, त्यसपछिका कामहरु गर्न सकिएको छैन । सम्भवतः हामीले निकट भविष्यमै डकुड्रामा टाइपको एउटा र कमर्सियल लभ स्टोरीमा अर्को ठूलो फिल्म बनाउन सक्ने सम्भावना धेरै छ।’

ज्ञवालीले नेपालका दर्जनौं कलाकारहरुको सोसल मिडिया म्यानेजमेन्टको जिम्मेवारी समेत सम्हालिसकेका छन् । प्रतिष्ठित चलचित्र निर्माण कम्पनीको सल्लाहकारको रुपमा समेत काम गरिसकेको उनीसँग अनुभव छ । आफुलाई मन लागेका हरेक काममा हात हाल्ने ज्ञवाली सरल र रमाइलो स्वभावका छन् । उनी पत्रकारिता र अध्ययनका लागि भारत, दुबई, मलेसिया, सिंगापुर, थाइल्याड, श्रीलंका, हंगकंग लगायतका देश घुमिसकेका छन् भने कोरोना महामारीका कारण उनी लण्डन जानबाट रोकिए ।

उनी एक चलचित्रको कामका लागि लण्डन जाने पक्का थियो । यसअघि उनी कार्यव्यस्तताका कारण अस्ट्रेलिया जानबाट समेत रोकिएका थिए । उनलाई कान्तिपुर मिडिया ग्रपमा काम गर्दा सम्पादक अनुप काफ्लेले अस्ट्रेलिया अध्ययनका लागि पठाएका थिए । तर, बाध्यताबस् कोरोना महामारीकै कारण उनी त्यहाँ जानबाट रोकिएका थिए । उनले छिट्टै लुम्बिनी प्रदेशमा भव्य कार्यक्रम ल्याउने योजना गराएका छन् । त्यसँगै विदेशका केहि नेपालीहरु रहेका देशहरुमा उनले सांस्कृतिक कार्यक्रम र एवार्ड कार्यक्रम गर्ने योजना समेत गराइरहेका छन् ।