ताजा अपडेट »

विद्यालयमा भेटिएको वम डिस्पोज गर्न नेपाली सेना जाँदै

बुधबार, १८ असार २०७६

असार १८,
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ ताक्लामा रहेको बागेश्वरी आधारभुत विद्यालयमा दुईवटा सकेट बम भेटिएको छ ।

आज बुधबार बिहान वागेश्वरी विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा ढुंगाको आडमै राखिएको अवस्थामा सकेट बम भेटिएको सोही विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले जानकारी दिए । उनका अनुशार बिहान विद्यालय अगाडिको खेलमैदान स्थानीयले मर्मत गर्ने क्रममा अचानक शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि विद्यालयले ठेहे प्रहरी चौकीलाई खबर गरेर काम स्थगन गरिएको थियो ।

स्थानीयको खबरपछि दोजाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सिन्तामोणी पोखरेलको टोली त्यस क्षेत्रमा पुगेर निरीक्षण गर्दा पुराना दुईवटा सकेट बम रहेको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अहिले उक्त बम निस्क्रिय पार्न सिमकोटबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको पनि बताए । सकेट बम भेटिएको क्षेत्रमा स्थानीयलाई आवतजावतमा रोक लगाइएको छ ।