ताजा अपडेट »

मृत्युलाई जितेपछि…

शुक्रबार, १४ जेठ २०७८

विश्वभर मृत्युको सिजन नै जस्तो चलेको पनि एकवर्ष बढी भयो । मृत्यु , मानव जीवनको अन्त्य हो । जन्मसँगै मानव जीवन हुँदै अन्त्य वा मृत्यु निश्चित छ । मृत्यु जति सत्य छ, त्योभन्दा बढी मानिसलाई यसको भय हुन्छ । संसारमा धेरैकुरा फिर्ता हुन्छन् वा पुनः प्राप्त गर्न सकिन्छ तर,मृतक फर्किैदैंन ,जीवन फेरि आउँदैन । त्यसैलेपनि सायद जीवन अमूल्य बनेको हो। सन् २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोभिड–१९, हाल २१मा आउँदा अझै शसक्त भएर आएको छ । अर्थात् सन् २०१९ मा सुरु भएको कोभिड–१९,कोरोना भाइरसको सन् २०२१ मा नयाँ भेरियण्ट आएको छ । मानव–मावबीच दूरी बढाउनुपर्ने र त्रसित हुनुपर्ने डरलाग्दो यस महामारीले अहले विश्व स्तब्ध छ ।

नेपालमा वि.सं.२०७६को अन्त्यसँगै देखापरेको यस भाइरसले वि.सं.२०७७को अन्त्यसँगै महामारीको रुप लियो । छिमेकी राष्ट्र भारतमा नयाँ भेरियण्टको कोरोना संक्रमणले महामारी लिएपछि हाम्रो देशमा पनि यसको सुरुवात भएको हो । संक्रमण रोक्नकै लागि सरकारले ०७६ को चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । र,करिब नियन्त्रण भएको पनि हो । गत वर्ष लामो समय लकडाउन भयो । उच्च सतर्कता अपनाइयो । तर गतवर्षकै अन्तिम तिरबाट पुनः संक्रमण बढ्यो । गतवर्षको अन्त्यसँगै यस वर्षको सुरुवात अर्थात् वैशाखदेखि नेपालमा संक्रमित संख्याको ग्राफ उकालो लाग्यो । दैनिकजसो जिल्ला,जनस्वास्थ्य,प्रदेश र केन्द्रिय स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या पुनः सार्वजनिक गर्न थाले ।

बढ्दै गएको कोरोना कहर र संक्रमितको संख्यामा पंक्तिकार पनि एक भइ। उ पनि संक्रमित भई । पेशाले शिक्षक, म अन्त्यमा कोरोनाबाट दूरी कायम गर्न सकिन । पहिले जस्तै यस वर्षपनि दोस्रो भेरियण्ट वा दोस्रो लहरका रुपमा फैलिएको कोरोना महामारीको रोकथाम र नियन्त्रणको लागि स्थानीय,जिल्ला प्रशासन र केन्द्रीय सरकारले वैशाख १६ गतेदेखि निषेद्याज्ञा लागू गरेका छन् । अत्यावश्यक बाहेक विद्यालयहरु लगाएत सबै क्षेत्र ठप्प छन् । शहरमा बसेर अध्ययन गर्ने विद्यार्थीदेखि व्यापार,व्यवसाय तथा रोजगारीका लागि शहरमा बस्नेहरु गाउँ–घर तथा पहाडतर्फ लागेका छन् । यता संक्रमण भने दिनानुदिन बढ्दै थियो । त्यसैगरी सोही रफ्तारमा अस्पतालका बेड,अक्सिजन,लगाएतका अत्यावश्यक सेवा पनि घट्दै थिए ।

सो समय संक्रमित हुने अधिकांशले उपचार पाउने र बाँच्ने कल्पना समेत गर्न सक्दैनथेँ । जुन केही हदसम्म अहिलेपनि छ । रुघा लागेमा ,ज्वरो आएमा मेडिकल जाँदापनि कोरोना परीक्षण र नगटिभ अनिवार्य हुन पर्दछ । यदि कोरोना पोजेटिभ आएमा र घरमै भएमा अस्पताल जान नजिकका आफन्त,छिमकीसम्म अघि नबढ्ने र लिन एम्बुलेन्स समेत अवस्था रहयो । एम्बुलेन्स पाइहालेपनि अक्सिजनको अभाव, अस्पतालको गेटमा पुगेपनि भित्र छिर्न महाभारत,बेड पाउन मुस्किल ,निकै कारुणिक मात्रै होइन , भयावह स्थिति देखिरहेकी म आँफै संक्रमित हुन पुगेँ । सामान्य झाडा पखाला लागेर अस्पताल पुगेकी मलाई केही लक्षण देखिएपछि परीक्षण गराउँदा पोजेटिभ नतीजा आउँदा म झस्किएँ । पेशाले शिक्षक म सधैैं ‘बि पोजेटिभ’ अर्थात् सयौं विद्यार्थीलाई सकारात्मक हुनुपर्छ भनेर सम्झाउने ,आदेश दिने म आफै पोजेटिभ नतीजाबाट झस्किँए।

नयाँ वर्ष,नयाँ उमङ्ग,नयाँ योजनासाथ अघि बढ्ने मेरो जस्तै पक्कैपनि धेरैको योजना थियो । तर, विश्वव्यापी कोरोना महामारीको त्रास र यसबाट बच्नको लागि घरभित्रै बसेका म जस्ता धेरै संक्रमित र अन्य त्रसित हुनपर्यो । नयाँ भेरियण्टको कोरोना संक्रमणबाट मृतक हुनेको संख्या,अस्पताल र स्वास्थ्य सेवाको कमजोर पहुँच देखिरहेकी मपनि संक्रमणपछि निकै दुखी भएँ,त्यतिनै गम्भीर पनि । ‘जीवन नै यत्ति रहेछ’ भन्ने जस्तोपनि लाग्यो। एकहफ्ता अस्पतालको बसाइपछि घरमै आइसोलेशनमा बसेकी मैले कोरोनासँग लड्नु बाहेक अरु विकल्प देखिन । रुघा लाग्ने,जवरो आउने, घाँटी दुख्ने अझै स्वास फेर्न निकै गार्हो हुने । धेरै निसास्सिएकी थिएँ। आँखा अगाडि कालको नाङ्गो नाच देख्दा जीवन शून्य रहेछ जस्तो लागेको थियो ।

यी सबै हुँदा आफ्नो मान्छेको स्याहार नजिकबाट नमिल्ने,अघिपछि बिरामी हुँदा आमाले निधार छाम्दापनि राहत हुन्थ्यो । कोही भेट्न आउँदापनि सञ्चो भैहाल्छ भन्ने हुन्थ्यो । अलिकति बढी भए अस्पताल जाने कुरामा ढुक्क भइन्थ्यो । तर, ती सबै एकादेशका कहानी जस्तै थिए,थियो एक्लोपन,एकान्त र मृत्युको कहाली । आखिर तपाइँ महलमा बस्नुस् वा झुपडीमा,साइकलमा या कारमा चढ्नुस् । तपाइँ जत्तिनै पहुँच र शक्ति होस् वा बैंकमा ब्यालेन्स,शिक्षित वा अशिक्षित, सुन्दर रुप वा कुरुप ,राजा वा रैती ,मगन्ते वा मन्त्री,डकैत वा साधु मृत्यु अवश्य छ । मृत्युले विकल्प र अन्तिम इच्छा पनि नसोद्धो रहेछ । सबैको यात्रा एउटै रहेछ गर्भदेखि चिहानसम्म । तर, लगभग अन्तिम समय चलिरहँदा हारिरहेको जीवनलेआफैसँग एउटा प्रश्न सोध्ने रहेछ ‘मेरा कर्म असल थिए कि खराब ?’

तर,मर्ने रहर कसलाई हुन्छ र ! बाँच्ने रहरका अगाडि मृत्युसँग एक्लै युद्ध गर्नैथियो । भौतिक रुपमा परिवार,आफन्त, छिमेकी टाढा भएपनि माया थियो,शुभेच्छाको साथ थियो । स्वास्थ्य उपचारभन्दा पनि सावधानी, एलोपेथिक भन्दापनि आयूर्वेदिक र घरेलु औषधि र उपचार निरन्तर रहयो । पोजेटिभ देखिएदेखि करिब १० दिन निकै गार्हो भयो । १४ दिन पुगेपछि अब त निको भयो,बाँचे भन्ने भयो अनि सामाजिक सञ्जाल फेसबुकमा आफ्ना केही अनुभवसहित आफू सकुशल रहेको जानकारी गराएँ । किनकी म बिरामी वा संक्रमित हुँदादेखि धेरैले सोध्नुभएको थियो , स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छा प्रकट गर्नुुभएको थियो ।

जसबाट मलाई केही राहत,प्रेरणा मिलेको थियो । म चाँडै निको हुनुमा डाक्टर,नर्सको उपचार,हेरचाहसँगै परिवारको माया, अग्रजको आशिर्वाद,आफन्त,इष्टमित्रको शुभेच्छाको पनि देन थियो । एकान्त,अक्सिजन,मास्क र त्रासका बीचबाट गुज्रेकी म बिस्तारै तीबाट छुट्कारा पाएजस्तो भयो । अब कोरोना जिते,युद्ध जिते,मृत्यु जिते भन्ने लागेपनि केही भन्नु थिएन । किनकी म त्यो अवस्थाले ग्रसित भएकी छु । शरीरमा कमजोरी छ , भावनामा चोट पुगेको छ । भो केही लेख्दिन,भन्दिन भन्दाभन्दैपनि आफ्नाहरुलाई भन्दै सामाजिक सञ्जालमा धन्यवादसहित केहि लेखे । त्यसपछि दिनानुदिन कोरोना संक्रमणबाट पराजित भएकाहरुको समाचारले बढी स्थान पाएको समयमा जित्नेका अनुभवले अरुलाई आशा र प्रेरणा मिल्ने सोँचले यो अनुवभ वा मेरो विचार लेखेँ ।

कोरोना महामारी छ । म जस्ता कैंयौं मृत्युसँग जुधिरेहेका थिए, कोही पराजित भए कोही लड्दैछन् । तर,यस्तो समयमा पनि जनतामाथि खेलवाडको राजनीति गर्ने नेता,डाक्टर,नर्स लगाएतका स्वास्थयकर्मी र सुरक्षाकर्मीहरुलाई दु्व्यवहार गर्ने मानवजाती,वृद्धा आमा–बुवाका लागि शहरमा खोलिएका आश्रम,धर्म,संस्कार,सेवा आदि भुलेर आधुनिकता, स्वार्थ र लाभका लागि मात्रै मरिहत्ते गर्ने पात्रहरु र कर्म सम्झेर म झस्के । आखिर मृत्यु सत्य रहेछ, एकदिन सबै जानै पर्दोरहेछ ढिला–चाँडो मात्रै हो ।

कोरोना संक्रमित भएको १८ दिनमा संक्रमणबाट निको भएको अनुभूति गरिरहेकी छु । तर, शारीरिक , मानसिक र भावनात्मक रुपमा अझै निकै कमजोर छु । अर्कोतर्फ अहिले म जस्ता शिक्षक, आफन्त,छिमेकी लगाएत देशका कैंयौं नेपालीहरु संक्रमित हुनुहुन्छ । धेरै निको हुनुभयो । कैंयौंले ज्यान गुमाउनुभयो । हजारौं अहिलेपनि लड्दै हुनुहुन्छ । जो सकुशल हुनुहुन्छ उहाँका आफन्त संक्रमित हुनाले वा आफैं हुने त्रासले त्रसित हुनुहुन्छ । त्यसैले मपनि कसरी खुशी हुन सक्छु र ! म मात्रै निको हुनु,बाँच्नु भन्दा पनि यो अवस्था चाँडै हटोस् भन्ने मेरालागि महत्वपूर्ण बनेको छ । सतर्कता अपनाउँदा अपनाउँदै संक्रमित भएँ र, निकोपनि भएँ । तर, सतर्कता र सावधानी अपनाउन नछोडौं । सकेसम्म विभिन्न स्वास्थ्य मापदण्ड अपनाएर उच्च सतर्कताका साथ कोरोनाबाट बचौं । यदि संक्रमित भए हतोत्साहित नहौं । सम्पूर्णमा सकुशलता र संक्रमितहरुमा स्वास्थ्य लाभको कामना ।

https://www.globalaawaj.com/archives/47853