विषय प्रवेशः
बौद्ध दर्शनको विकास हुनुमा यसका शाश्वत आधारहरु रहेका छन् । ती आधार मध्येको पहिलो दुःख हो । यसका कारण नै कारक हुन्, दुःखको उन्मुक्तिका उपाय र आधारहरू हुन् । चार आर्यसत्य, अष्टांगिक मार्गका आधारका रुपमा रहेका प्रज्ञा, शील र समाधि बुद्धका विचार दर्शन हुन् । यी नै निर्वाणका पनि आधार हुन् । बौद्ध दर्शनले विश्व कल्याण र शान्तिका लागि वैज्ञानिक मार्ग प्रशस्त गरेको छ ।
१. बौद्ध दर्शनको विकास एवम् यसका निहित तत्वहरूको लोकप्रियता र व्यापकताको निम्ति सञ्चारका तत्व एवम् समसामयिक सञ्चारको महत्वपूर्ण भूमिका रहेको छ । बौद्ध दर्शनको प्रभाव मानव समाजमा जति पर्दै जान्छ शान्ति पनि हुँदै जान्छ । यसमा मानवतावाद, लोकतन्त्र, समानता, समावेशिता, युक्तिवाद, व्यवहारवाद र प्रतीत्यसमुत्पाद जस्ता तत्वहरू अन्तर्निहित रहेका छन् । बुद्धको जीवनकाल र तत्पश्चात उनका शिष्य र अनुयायीहरूले अन्तर्मुखी–सञ्चार (मौन सञ्चार), अन्तर्वैयत्तिक–सञ्चार, समूह–सञ्चार तथा आमसञ्चारलाई उपयोग गरी बौद्ध दर्शनको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।
२. बुद्धकालमा मूलतः मौखिक सञ्चार नै सूचना, समाचार र विचार सम्प्रेषणको प्रमुख आधार रहेको पाइन्छ । यसका अतिरिक्त स्वर्णपत्र, ताम्रपत्र, शिलालेख आदि माध्यमको प्रयोग पनि भएको पाइन्छ । सञ्चारको विकास क्रममा छापा माध्यम, पत्र-पत्रिका, रेडियो, टेलिभिजन, इमेल-इन्टरनेट र अनलाइन जस्ता आधुनिक एवम् व्यावसायिक सञ्चारमाध्यमहरूको विकास भइसकेपछि बौद्धदर्शन विश्वव्यापी हुँदै गएको पाइन्छ । पहिलो त बुद्धले अन्तर्मुखी सञ्चार नै प्रयोग गरे । दोस्रो उनले अन्तर्वैयत्तिक सञ्चारलाई उपयोग गरे । तेस्रोमा समूह सञ्चार पद्धतिको उपयोग गरे । असीमित समुदायमा सञ्चारित गरिने विषय आमसञ्चारको परिभाषाभित्र पर्ने हुँदा बुद्धकालमा भएका धर्म सभाहरूका माध्यमबाट बुद्धले आफ्ना विचारको सञ्चार गरे ।
३. गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पैंतालीस वर्षसम्म लगातार गाउँ-गाउँ, नगर-नगर घुमेर धम्मको उपदेश गर्दै लोकको सेवा गरे । लाखौं-करोडौं मानिसहरूलाई विकार-विमुक्त जीवन जिउने सन्देश दिए । उनी राति लगभग एक प्रहर मात्र शरीरलाई विश्राम दिने गर्थे । असीम करुणायुक्त चित्तले लोकसेवामा निरन्तर लागि रहन्थे । मुक्तिको लागि त आफैले प्रयत्न गर्नुपर्छ भन्दथे । गौतम बुद्धको जन्मस्थानका बारेमा तत्कालीन भारतका मौर्य सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनी यात्रा गरी बुद्धको जन्मस्थल लुम्बिनीमा भएको पत्ता लगाई त्यस ठाउँमा स्तम्भ खडा गरी प्रमाणित जानकारी दिएका थिए । बाल्यकाल देखि सिद्धार्थ नामले परिचित उनी ज्ञान प्राप्ति पछि मात्र गौतम बुद्ध भएका थिए । उनले तत्कालीन समाजमा रहेको अज्ञानता र सामाजिक विभेदलाई बुझ्दै समाजमा शान्ति कसरी स्थापना हुन सक्छ ? मानिसले दुःखरहित जीवन कसरी जीउन सक्छ ? र, कसरी निर्वाण प्राप्त गर्न सक्दछ ? भन्ने विषयहरूमा महत्वपूर्ण वैज्ञानिक दर्शन दिएका थिए ।
४. सञ्चारमा बुद्धका अवधारणाहरूको मौलिक स्थान रहेको छ । जीवन पर्यन्त विश्वकल्याण र शान्तिको सन्देशबाहक बनेका गौतम बुद्ध शान्ति सञ्चारको अग्रनायकका रूपमा रहेका छन् । गौतम बुद्धले चार आर्य सत्यको व्याख्या गरेपछि सफल मानव जीवन र मुक्तिका लागि अष्टांगिक मार्गहरू बताएका छन् । बुद्धले ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म विश्वकल्याणकारी उपदेश जीवनपर्यन्त दिइरहे । उनको महापरिनिर्वाण पछि उनका विचारलाई संरक्षण र संवद्र्धन गर्ने काम उनका शिष्य र अनुयायीहरूबाट सुरु गरियोे । बुद्धका विचारलाई संरक्षित एवम् व्यवस्थित गर्ने क्रममा विभिन्न संगायनहरू गरिए । गौतम बुद्ध महापरिनिर्वाण भएको पहिलो वर्षमै सम्पन्न प्रथम सङ्गायन देखि छैठौँ संगायन (सन् १९५६) सम्म आइपुग्दा बौैद्ध धर्मदर्शनको विकास एवम् विश्वमा यसको प्रभाव विस्तार भएको पाइन्छ । बौद्ध दर्शनको विकास र विस्तारमा मानवीय सञ्चारका तत्व एवम् प्राचीनकाल देखि चलिआएका सञ्चारका विभिन्न तरिका, साधन र आधुनिक सञ्चार माध्यमका रूपमा विकसित छापा, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट (अनलाइन) जस्ता नयाँ सूचना प्रविधि (न्यू मिडिया) को प्रयोगले विश्वमा बौद्ध धर्म दर्शनको प्रचारप्रसारमा तीब्रता आएको पाइन्छ ।
५. गौतम बुद्धले कसैप्रति निषेध गरेर होइन, उसका सकारात्मक कुराहरूलाई स्वीकार गर्दै नकारात्मक कुराहरूलाई हटाउँदै असल कर्मलाई पछ्याउँदै मध्यम मार्गबाट अगाडि बढ्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । गौतम बुद्धको निर्वाणपछि उनीद्वारा प्रतिपादित धर्म दर्शनलाई व्याख्या गर्ने क्रममा उनका विचारले मानव जातिका लागि मात्र नभई सम्पूर्ण प्राणीहरूप्रति करुणाभावमा जोड दिएको पाइन्छ । उनले तर्क, बुद्धि, विवेक, न्याय र प्रज्ञामा आधारित ज्ञान/उपदेशहरू दिएका छन् । मानिसका लागि स्वतन्त्रता, सामाजिक न्याय र समानतामा जोड दिएको पाइन्छ । मानिसले शान्तिको चाहना राख्दै आए तापनि समाजमा द्वन्दको स्थिति छ । आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक विभेदका कारण मानिस मानिस बीच अधिकारका विषयमा हुँदै आएको द्वन्द्व र स्वार्थ-सम्झौताको क्रममा नै मानव सभ्यताको विकास एवम् राज्यसत्ताको उदय भएको हो ।
६. मानिस-मानिस बीचको अधिकारका विषयमा भएको विभेद नै द्वन्द्वको जड देखिन्छ । यो द्वन्द्वलाई न्यूनीकरण गरी शान्ति स्थापनाका लागि बौद्ध दर्शन र सञ्चारको परिपूरक सम्बन्धले प्रभाव पारेको छ । बुद्धले आफ्नो जीवनकालमा विश्वकल्याणका लागि जुन विचार प्रस्तुत गरे, ती विचार मानव अधिकारमा आधारित थिए । उनका विचारमा प्राणीलाई दुःखबाट मुक्त गर्नु नै सम्पूर्ण अधिकारको प्रत्याभूति थियो । समाजमा ढुक्कसँग बस्न पाउनु, गास, वास, कपास पाउनु, त्यो प्राप्तिका लागि कर्म गर्ने, आफ्नो विचार प्रकट गर्ने, नबुझेको कुरा सोध्न पाउने, अरुलाई ज्ञानका कुरा सुनाउन पाउने स्वतन्त्रता नै अधिकार हो भन्ने मान्यता बुद्धको रहेको थियो । गौतमबुद्धले समाजमा शान्ति र समानता चाहन्थे । यसका लागि विश्वमा अहिले सम्म जे जति प्रयत्नहरू भई आएका छन् । तिनलाई सञ्चारले महत्व दिँदै आएको छ । राज्यसत्ताको उदय र विकाससँगै सञ्चारका विभिन्न माध्यमको विकास भएको र समयक्रममा सञ्चारका सिद्धान्तहरूको पनि प्रतिपादन भएको पाइन्छ । ती सिद्धान्तहरू राज्यसत्ताको संरचनाका आधारमा बनेको पाइन्छ ।
७. संसारमा शान्तिका लागि महत्वपूर्ण दर्शनको रूपमा रहेको बौद्ध दर्शन र सञ्चारको अन्तर्सम्बन्ध परिपुरकको रुपमा रहेको छ । गौतम बुद्धले समाजमा कसरी शान्ति स्थापना हुन सक्छ ? शान्तिको मार्ग के हो ? भनेर सम्बोधी प्राप्त गरिसकेपछि जीवनपर्यन्त जसरी ज्ञान र उपदेशहरूको सञ्चारण गर्दै हिंडे, त्यसको विशिष्ट महत्व छ । विश्व-राजनीतिमा विभिन्न दर्शन र सिद्धान्तको प्रभाव देखिन्छ । राजनीतिक प्रणालीका आधारमा सञ्चार क्षेत्र पनि प्रभावित र निर्देशित भएको पाइन्छ । त्यसको आधारमा सञ्चारका विभिन्न सिद्धान्तहरू बनेका छन् । गौतम बुद्धका विचारले विश्वराजनीति, द्वन्द्व व्यवस्थापन र शान्तिका लागि प्रभाव पारेको छ ।
८. बौद्धदर्शनको विश्वव्यापी प्रभाव बढ्नुमा गौैतम बुद्धका अहिंसावादी सोच र लोककल्याणकारी विचार नै मुख्य आधारका रूपमा रहेका छन् । ती विचारहरूलाई विभिन्न सञ्चारका माध्यमबाट विश्वव्यापी गराउनमा योगदान पुगेको देखिन्छ । मानिसले शान्तिको चाहना गरे तापनि त्यसको प्राप्तिका बारेमा सही विचार आत्मसात् गर्न नसकी तड्पिरहेको अवस्थामा बुद्धका विचारले शान्तिका लागि योगदान दिएको पाइन्छ । मानव समाज, विचार र सञ्चार अभिन्न रूपमा जोडिएका विषय हुन् ।
९. गौतम बुद्धले जीवनकालमा अन्तर्मुखी-सञ्चार, अन्तर्वैयक्तिक-सञ्चार, समूह-सञ्चार र तत्कालीन अवस्थाको प्राचीन आमसञ्चारका विभिन्न तरिकाको उपयोग गरेका थिए । तपस्याको बेला अन्तर्मुखी-सञ्चार, ज्ञान-प्राप्तिपछि शिष्यहरूका बीच कुरा गर्दा अन्तर्वैयिक्तिक-सञ्चार, समूहगत रूपमा सत्संग गर्दा समूह-सञ्चार र ठूल-ठूला धर्म सभाहरू गर्दा तत्कालीन आमसञ्चार पद्धतिको प्रयोग गरेका थिए । गौतमबुद्धको महापरिनर्वाणपछि बौद्ध दर्शनको विकासमा संगायनहरूको भूमिका महत्वपूर्ण देखिन्छ । साथै नालन्दा, तक्षशिला, बल्लभी, विक्रमशिला, जगदला र ओदान्तपुरीजस्ता विभिन्न बौद्ध शैक्षिक प्रतिष्ठानहरूका माध्यमबाट बौद्ध दर्शन स्थापित हुँदै आएको पाइन्छ ।
१०. बौद्ध दर्शन र शान्ति परिपूरक भएकाले यसलाई विश्व मानव समाजमा प्रभाव बढाउन आवश्यक देखिन्छ । मानव जातिको लागि शान्ति साझा चाहना हो । यसको प्राप्तिका लागि मानिसले अनेकाँै कोशिस गर्दै आएको छ तापनि शान्ति प्राप्त गर्न सकेको छैन । शान्तिका लागि विभिन्न सिद्धान्तहरूको पनि व्याख्या र विवेचना भएको पनि पाइन्छ । ती सिद्धान्तहरूमा पनि शान्तिको लागि सही मार्ग र गन्तव्यको विश्वसनीय आधार भेटिदैन । यही कमीलाई दृष्टिगत गरी विश्वशान्तिका लागि बौद्ध दर्शनको आलोकमा सञ्चारमा शान्ति सिद्धान्तको औचित्यबोध गरिएको छ । विश्व शान्तिका लागि यो सिद्धान्तको महत्व र आवश्यता रहेकोे छ । यसलाई विश्वले सञ्चारको पाँचौ सिद्धान्तका रूपमा मान्यता दिनुपर्ने देखिन्छ । बुद्धका विचारको सञ्चारले मात्र मानिस र समाजलाई सन्मार्गमा हिँडाउन प्रेरित गर्ने र यसले मात्र समाजमा शान्ति स्थापना हुनसक्ने देखिन्छ ।
११.बौद्ध धर्म–दर्शन ‘उपासना, आवरण र पोशाक’ मात्र नभई अन्तस्करणको आवाज, भित्री गुण, चरित्र वा विशेषताले युक्त छ । गौतम बुद्धले सङ्घको महत्व र सामूहिकताको अनुपम नमूना प्रस्तुत गरेका छन् । अशोकले गौतम बुद्धको जन्मस्थल पत्ता लगाई स्तम्भ खडा गरेको करिब दुईहजार वर्षपछि मात्र पाल्पाका तत्कालीन बडाहाकिम खड्ग शमशेरले लुम्बिनी बनमा शिकार खेल्ने क्रममा फेला पारेको अशोक स्तम्भ र उनी लगायत अनेक व्यक्तिको प्रयासबाट लुम्बिनीको उत्खनन् भएकाले त्यसको पहिचान हुन् सकेको हो । गौतम बुद्धले भनेको ‘न हि वेरेन वेरानि सम्मन्तीध कुदाचनं । अवेरेन च सम्मन्ति एस धम्मो सनन्तनो ।’ अर्थात्् यस संसारमा वैरभावबाट कहिल्यै वैर शान्त हुन सक्तैन । मैत्रीबाट नै शान्त हुन्छ । भन्ने सन्देशको सञ्चार महत्वपूर्ण छ ।
१२. बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य र आर्य-अष्टाङ्गिक मार्गले मानव–जीवनको अर्थबोध गराई मानिसको सफल जीवन, शान्ति र मुक्तिका लागि अत्यन्तै महत्वपूर्ण सन्देश दिएको छ । गौतम बुद्धले मानव जीवनमा श्रमको निकै महत्व छ भन्ने कुरामा जोड दिएका हुनाले श्रमण संस्कृतिको निर्माणमा योगदान पुगेको देखिन्छ । जनतालाई सार्वभौम मानी प्रजातन्त्रमा विश्वास राख्दै र प्रजातान्त्रिक एवम् लोकतान्त्रिक ढङ्गले शासन चलाइयो र प्रजाको हितसम्बद्र्धन गरियो भने कुनै गणराज्यलाई खतरा हुँदैन भन्ने बुद्धका उपदेशलाई अहिलेको विश्वका शासकहरूले बुझ्ने हो र त्यसकोे आत्मसात् गरी कार्यान्वयन गर्ने हो भने विश्व समाजमा शान्ति स्थापना हुने देखिन्छ ।
१३. शान्तिका लागि भनी स्थापना भएका संयुक्त राष्ट्रसंघ लगायतका संघसंस्था, विभिन्न तह निकायहरूको भूमिका पनि विश्वशान्ति स्थापनामा सफल हुन सकेको अवस्था देखिंदैन । हिंसा र हातहतियारको प्रयोगले मानवसमाजमा शान्ति स्थापना हुन सक्दैन भन्ने कुरा पुष्टी भइसकेको छ । त्यसका लागि मानिसले आफैभित्र शान्तिको खोजी गर्नुपर्छ । त्यो वैज्ञानिक शान्ति मार्ग बौद्ध-दर्शनमा छ । यस आधारमा आधुनिक सञ्चारका माध्यमहरूले आम मानिसलाई सरल र प्रभावकारी ढंगले वैज्ञानिक विधि र शैलीद्वारा बौद्ध दर्शन बारे जानकारी गराई सकारात्मक प्रभाव दिन सक्दा विश्वमा शान्ति स्थापना हुन सक्ने देखिन्छ । बौद्ध धर्म–दर्शनको विश्वब्यापी प्रभाव विस्तारमा सञ्चारको विशेष महत्व रहेको पाइन्छ । बुद्धको जीवनकाल र सञ्चारसँगको सम्बन्ध, बुद्धकालीन सञ्चार एवम् त्यसपछि विकसित भएका सञ्चार पद्धतिहरूको उपयोगबाट नै बौद्ध धर्म-दर्शनले व्यापकता पाएको हो । सञ्चार मानव जीवनको अपरिहार्य तत्व भएकाले यसकै उपयोगबाट बौद्ध धर्मदर्शनले उचाइ प्राप्त गरेको छ ।
१४. ‘शान्तिपूर्ण सहअस्तित्व’ पनि बुद्धका विचारको महत्वपूर्ण स्थान रहेको छ । संसारका सबै समस्याको शान्तिपूर्ण समाधान संभव छ र एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु नै सहअस्तित्व हो भन्ने बुद्धदर्शनको आधार हो । उनले समानतावादी सोच र असल विचारबाट शान्ति प्राप्त हुन सक्छ भन्ने सन्देशको सञ्चार गरेका छन् । विश्वलाई बुद्धका विचार अनुसारको शान्ति, मैत्री, प्रेम र करुणाले युक्त समाजको आवश्यकता रहेको छ । विश्वशान्तिका लागि विभिन्न सिद्धान्तहरूको चर्चा र विवेचनाका साथै संयुक्त राष्ट्रसंघ लगायतबाट अनेकौँ कोशिसहरू भई आए तापनि विश्वमा शान्ति स्थापना हुन सकेको छैन । अतः द्वन्द्वग्रस्त विश्वलाई शान्तिमार्गमा ल्याउनु आवश्यक छ । यसका लागि शान्ति सम्बन्धी यसअघि भएका विभिन्न व्याख्या एवम् मान्यताको समेत अध्ययन गरी तिनीहरूमा रहेका कमीलाई दृष्टिगत गर्दै बौद्ध दर्शनको आलोकमा स्थापित सञ्चारमा शान्ति सिद्धान्तकाे निकै महत्व रहेको छ ।
१५. विश्वमा जाति तथा वर्णभेद अन्त्यका लागि बौद्ध दर्शनको व्यापक प्रचार–प्रसार आवश्यक देखिन्छ । बुद्धले घातक अस्त्रको व्यापार, मांस-व्यापार, मनुष्य-व्यापार, मादक पदार्थको व्यापार र विषको व्यापार मानव समाजका लागि हानिकारक हुन्छ भनी उपदेश दिएका थिए । ती विचारको विश्वव्यापी प्रचार-प्रसारको झनै आवश्यकता देखिन्छ । प्राथमिक विद्यालयदेखि विश्व विद्यालयसम्मका शैक्षिक प्रतिष्ठानहरू र अनौपचारिक शिक्षा प्रदानका लागि सञ्चालित हुँदै आएका विभिन्न सङ्घसंस्थामा बौद्धदर्शनको पठनपाठन संचालन गरिनु आवश्यक देखिन्छ ।भवतु सब्ब मंगलम् । -(डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ मा विद्यावारिधि (पीएच्.डी) गरेका छन् ।)
प्रतिक्रिया