असार १८,
बुटवल । प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन ली बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको उल्लेख गरेका थिए । समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पु¥याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्रीले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताए । त्यसैगरी उनले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाए । उनले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरेका छन् । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु-भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह समेत गरे । गभर्नर ली ले लुम्बिनी भ्रमणको निम्तो दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा-छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए ।
प्रदेश ५ कृषि र पर्यटन विकासको प्रचुर संभावना रहेको र सिचुवानले कृषिको व्यवसायिक विकास र पर्यटन प्रवद्र्धनमो हासिल गरेको अनुभव काम लाग्ने मुख्यमन्त्रीले बताए । त्यसैगरी औद्योगिक विकासको संभावना उत्तिकै रहेको प्रदेश ५ मा तीन औद्योगिक क्षेत्र बन्न लागिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले सिचुवानका लगानीकर्तालाई लगानीका लागि गभर्नरबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री-उपमहानिर्देशक भेट
यसैगरी मुख्यमन्त्रीसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमहानिर्देशक मा से सङबीच भेटवार्ता भएको छ । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पूराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पु¥याएको बताए । उनले नेकपा र नेपालले लिदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताए ।
मुख्यमन्त्रीले पार्टी निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव नेकपाका लागि काम लाग्ने र चीनको विकास प्रयास पनि नेपालका लागि काम लाग्ने बताए । उनले नेपालको विकास प्रयासमा चिनियाँ सद्भावप्रति धन्यवाद दिए । विआरआई मार्फत रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोडिने कुराले प्रदेश ५ का जनता खुशी भएको बताए । चिनियाँ रेल लुम्बिनी पु¥याउन सके नेपालको विकास प्रयासमा महत्वपूर्ण फ्डको हुने र चिनियाँ नागरिकलाई लुम्बिनी पुग्न सहज हुने उनको भनाई थियो । नेपाली नागरिक राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पु¥याउन नेता सङलाई आग्रह गरे । उपमहानिर्देशक लीले यो वर्ष नेकपाको तीन उच्चस्तरीय भ्रमण भएको र प्रदेशस्तरीय भ्रमण आदान प्रदान प्रदेश ५ बाट शुरु गरेको बताए ।
मुख्यमन्त्री—कृषि अनुसन्धान केन्द्र प्रमुख भेट
त्यसैगरी मुख्यमन्त्री र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउपिनबीच पनि भेट भएको छ । भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउपिनले सिचुवानमा कृषिको व्यवसायिक विकासमा पाएको सफलता बारे मुख्यमन्त्री सहितको नेपाली टोलीलाई जानकारी गराए । सिचुवान प्रान्त कृषि उत्पादनमा निकै राम्रो गरेको चर्चा गर्दै कृषिको व्यवसायिक विकासले किसानको जीवनस्तरमा सुधार आएको बताए । कामको खोजीमा शहर पसेका नागरिकलाई गाउँ फर्काएर कृषि कर्ममा लगाउन विशेष कार्यक्रम चलाएको बताए । कृषिकर्ममा लाग्नेलाई भत्ताको व्यवस्था गरेको र त्यसले आर्कषण गरेको उनको भनाई छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ पनि कृषिको व्यवसायिक विकासको प्रचुर संभावना रहेको बताउँदै व्यवसायिक विकास गर्न र किसानको जीवनस्तर सुधार गर्न सिचुवानको अनुभव काम लाग्ने बताए । उनले रोजगारीको लागि युवा विदेश जाने प्रवृति नेपालमा निकै रहेको र कृषिको व्यवसायिक विकास मार्फत गाउँमै युवालाई राख्न चिनियाँ अनुभव काम लाग्ने बताए । कृषि अनुसन्धानको सिचुवानको अनुभव प्रदेश ५ का लागि काम लाग्ने भएकाले प्रदेश ५ को भ्रमण गरी आवश्यक प्राविधिक सहयोग गर्न आग्रह गरे । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा
मुख्यमन्त्री १० दिने भ्रमणमा सोमबार छेन्दु पुगेका हुन् । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती रहेका छन् ।
त्यसैगरी भ्रमणका क्रममा सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ । मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया