ताजा अपडेट »

कोरोना प्रभाव : बुटवलका करिब ७५ प्रतिशत योजना बाँकी

मंगलबार, ११ जेठ २०७८

बुटवल । विश्वव्यापी कोरोना महामारीका कारण बुटवल उपमहानगरका आधा बढी योजना अधूरा तथा बाँकी रहने भएका छन् । कोरोनाको नयाँ भेरियन्टसँगै गत बैशाख १६ गतेदेखि आह्वान गरिएको निषेधाज्ञाले योजनाका कामहरु रोकिएका छन् । कोरोना संक्रमणको जटिल अवस्थासँगै आर्थिक वर्ष समाप्त हुन करिब डेढ महिना बाँकी भएकाले चालु आर्थिक वर्षमा तय गरिएका झण्डै ७५ प्रतिशत योजना बाँकी रहने भएका हुन् ।

महामारीको अवस्था केही सामान्य हुँदै गएको अवस्थामा पनि वर्षायाम सुरु हुने हुँदा गत वर्ष जस्तै योजनाहरुका कामहरु अर्को वर्ष सक्नेगरी स्थगित गर्नुपर्ने भएको उपमहानगरका प्रवक्त रामप्रसाद रेग्मीले बताए । उपमहानगरमा चालु आर्थिक वर्षका लागि गतवर्ष सहितका ८ सय १४ योजना स्वीकृत भएका थिए । यी मध्ये ६ सय ९६ योजना कार्यान्वयनमा गएका थिए । कार्यान्वयमा गएका मध्य अधिकांश योजनाहरु समेत कोरोना महामारीले बीचमै अलपत्र अवस्थामा रहेका छन् ।

उपमहानगरले गत आर्थिक वर्षमा बाँकी रहेका योजनाहरुलाई यस आर्थिक वर्षमा कार्यान्वयन गरेर सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि यसपटक समेत पूरा नहुने देखिएको छ । गत वर्ष २ सय ८९ योजनाहरु बाँकी रहेका थिए । उपमहानगरले गत चैत्र मसान्तसम्मको तथ्यांक अनुसार बाँकी रहेका मध्ये २ सय ४८ योजना पूरा गरिसकेको छ । बाँकी रहेका योजनाहरुलाई कार्यान्वयनमा लैजानका लागि बैशाख १५ सम्मको समय थप गरेको भए पनि योजना सम्झौता बाहेक कार्यगत प्रगति भने हासिल गर्न सकेको छैन ।

पुराना योजनाहरुलाई नै सक्ने गरी लागेको उपमहानगरले कार्य सम्पन्न गर्नका लागि पटक–पटक समय थप गरे पनि अन्तममा आएर गत वर्षको जस्तै कोरोनाको मारमा परेको छ । फागुन मसान्तसम्म बाँकी योजना सक्ने योजना लिइएकोमा म्याद थप गरी चैत्र मसान्त तथा पुनः म्याद थप गरी बैशाख १५ सम्म ल्याइएको थियो ।

गत चैत्र मसान्तसम्मको तथ्यांक अनुसार बुटवल उपमहानगरले चालु आर्थिक वर्षमा तय गरेका ४ सय ७ योजना मध्ये २५ योजना मात्रै सम्पन्न भएको छ । विकास निर्माणको काम अवरुद्ध भएसँगै पूँजीगत खर्चमा समेत लक्ष्य हासिल गर्न मुस्किल पर्ने देखिएको छ । उपमहानगरले गत चैत्र मसान्तसम्ममा ३६.२४ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको थियो । केही योजनाहरु सम्पन्न भएर तथ्याङ्कमा उतार्न बाँकी रहेकाले पूँजीगत खर्चको अवस्थामा सुधार देखिने भए पनि अपेक्षित लक्ष्य हासिल गर्न भने गाह्रो देखिएको हो । चेत्र मसान्तसम्म बुटवलले चालु खर्च ४४.८१ प्रतिशत र वित्तीय खर्च ४२.६६ प्रतिशत गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनुमानित आएको ७०.४५ प्रतिशत आम्दानी गरेको उपमहानगरले जनाएको छ।

२ अर्ब २० करोड ३४ लाख अनुमानित आम्दानी लक्ष्य राखेको उपमहानगरले १ अर्ब ६२ करोड १४ लाख आम्दानी गरिसकेको जनाएको छ । संघीय सरकारबाट अनुमानितको ५३.६३ प्रतिशत, प्रदेश सरकारबाट ८०.९८ प्रतिशत, राजस्व बाँडफाँडबाट ७४.८१ प्रतिशत, आन्तरिक श्रोत ऋण समेत गर्दा ७०.६२ प्रतिशत आम्दानी गरेको जनाइएको हो ।