ताजा अपडेट »

लुम्बिनी प्रदेशमै पहिलो पटक तिलोत्तमामा ‘ट्राफिक लाइट’

आइतबार, ०९ जेठ २०७८

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–मणिग्राममा ट्राफिक लाइट जडान भएको छ । तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो । तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा ब्यपारीक मार्गको अत्याधिक ब्यस्त हुने क्षेत्रहरुमा ट्राफिक लाईट जडानको लागी चालु आर्थिक बर्षमा २० लाख बजेट छुट्टयाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । उनले अहिले पहिलो चरणमा मणिग्राममा जडान गरिएको जानकारी दिए ।

आवश्यकताको आधारमा यसलाई ड्राइभर टोल, भलवारी र कोटिहवा लगायतका क्षेत्रमा पनि जडान गरिने प्रवक्ता श्रीले बताए । ‘अहिले नगर क्षेत्रमा सबै भन्दा बढी सवारी चाप हुने क्षेत्र मणिग्राम चोक नै हो, त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेर जडान गर्यौं।’ उनले भने ‘यसले त्यो क्षेत्र भएर तिव्र गतिमा गुड्ने सवारीहरुलाई नियन्त्रण गरि दुर्घटना न्यूनिकरण हुने अपेक्षा गरेका छौं ।’ अहिले जडान भएको सडक बत्ती उच्च गुणस्तरको रहेकोले सोचे भन्दा धेरै लागत परेको प्रवक्ता श्रीको भनाई छ । मणिग्राम रहेको बत्तीले जोखिम न्यूनिकरण गरेको आधारमा नगरको थप भागमा नै अन्य बत्ती जडान गरिने उनले बताए ।