ताजा अपडेट »

आफ्नै पहिचान खोज्दा…

विहीबार, ०६ जेठ २०७८

एक जनासँग मेरो म्यासेजरमा चर्का–चर्की झगडा हुँदै थियो । वास्तवमा भन्नुपर्दा उनी मेरो साथी बन्न चाहान्थे । तर, साथ दिनेवाला साथी चाहीँ होइन । मान्छेहरु भन्छन्, आँ गर्दा अलंकार बुझिन्छ । त्यस्तै मैलेपनि उनको बोलीबाट उनी ठीक नभएको बुझेँ अर्थात् उनको नियत मलाई ठीक लागेन । उनीसँग पहिलो पटक बोल्दै थिएँ ,उनले आफ्नै रफ्तारमा अनेकथरी सुनाउँदै थिए । यसै क्रममा केही बहस पनि भयो । सुरुमा बोल्दानै म झोक्किएकी थिएँ, सायद त्यसैले होला उनी पनि अल्लि आवेगमै जस्तो कुरा गर्दैथिए । तर,पनि केही समय कुरा भयो,छलफल भयो ।

केही क्षणको दोहोरो बोलचाल र छलफपछि मैले उनलाई सोँधे, हुँ एम आई अर्थात् तपाइँको नजरमा म को हुँ ?’ मेरो प्रश्नको तत्काल जवाफ आयो ‘सकेसम्म आफूलाई कमजोर छु भनेर देखाउन नखोज्ने, अतितको रिस र पीडालाई वर्तमानमा पोख्न खोज्ने,कसैले प्रशंसा गर्दा आफू चनाको बोट भएनि सालको रुख सम्झिने, कोहिसँग नजिक भएर बोल्यो भने सानो हुन्छ कि भन्ने सोँचसँगै सपनामा हराएकी नारी जसले १० मा बसेर १००को रवाफ देखाउँछ त्यो हौं तिमी ।’

उनको त्यस्तो जवाफपछि मलाई कता–कता चित्त दुख्यो । किनकी मेरो वास्तविकता भन्दा फरक अझ भनौं विपरीत उनको मप्रतिको बुझाई र सोँच रहेछ । मलाई त्यसरी बुझ्दा रहेछन्,जो म छैन भन्ने कुराले मलाई केही चिन्तित बनायो। मैले सरल,सहज र सौहार्द वातावरणमा समाजमा गर्ने गतिविधि वा समाजसेवाका प्रयासहरुले पनि मलाई मेरो वास्तविकताको पहिचान गराएका रहेनछन् । ‘के मलाई समाजले पनि त्यसरी नै चिन्छ, जुन म भर्खरै एक व्यक्तिसँग सुन्दैछु ?’ भन्ने प्रश्नले मलाई एकछिन् सोँच्न बाध्य बनायो ।

मैले आफूलाई सामान्य युवती नै सोँच्थे जसको निजी इच्छा,चाहनासँगै,पारिवारिक जिम्मेवारी,दायित्वसहित समाजमा केही सहयोग पनि गरौं भन्ने रहर र प्रयासहरु थिए । म भित्र ती सबै काम,जिम्मेवारी,कर्तव्य र सहयोगका लागि हिम्मत पनि थियो । किशोरावास्था हुँदै युवा अवस्थामा म कहिल्यै डगमगाइन,हिम्मत हारिन । त्यसैले पनि मलाई उनको बुझाई र उत्तर चित्त बुझेको थिएन । कमलको पातमा परेको पानी जस्तै चलायमान रहेछ जिन्दगी । एकै छिनमा परिवर्तन हुनसक्ने जसलाई मैले उनी भनेर सम्बोधन गरिहेकी थिएँ उसैलाई हेर्ने मेरो नजर बद्लियो । एक्कासी उनी,उनीबाट उ मा परिणत भए ।

अनि मैले पनि जवाफ दिएँ, अक्सर मान्छेहरु मान्छेलाई नै चिन्न नसकेर धोका खान्छन्, ती मध्य तपाइँपनि एक हुनुहुन्छ र तपाइँको साथी बन्ने प्रस्ताव त्यतिबेला राख्नु होला जब तपाइँको सोँच मेरो सोँचसँग् मिल्छ वा मलाई यथार्थ रुपमा बुझ्नु हुन्छ ।’ रातिको समय थियो खाली दिमाग सैतानका घर मोवाइलको नोट प्याड खोलेर एउटा शिर्षक चयन गरी सोही शिर्षमा लेख्न थालेँ । को हुँ म ? एउटा व्यक्तिसँग एकपलको कुराकानी र उसको मप्रतिको सोँच र बुझाइले मलाई आफैलाई प्रश्न सोध्न मनलाग्यो र त्यही प्रश्नको जिज्ञासामा लेख्न सुरु गरेँ ।

म को हुँ ?
मेरो अस्तित्व मलाई नै थाहा थिएन आखिर को हुँ म..? दुनिया स्वार्थले भरिएको छ। यहाँ हरेक कोहीमा स्वार्थ लुकेको छ। मानिसले जन्म लिइसकेपछि आफ्नो अधिकारले बाँच्न पाउनुपर्छ । तर, यो सिर्फ भनाइमा मात्रै सिमित छ । मैले आफैँलाई समेट्ने कोसिस गर्दै छु, आफैलाई बुज्ने कोसिस गर्दै छु , कि म को हु..? म त्यो हुँ जसलाई अरुको दुःख देख्दा सह्य हुँदैन, म त्यो हुँ जसको मनले कसैलाई गलत सोँच्दैन । मेरो लागि खुट्टा तान्ने र लात हान्नेको कमी कहिल्यै भएन । एउटा सानो सपना समाजसेवा गर्ने तर, मैले गरेको त्यही समाज सेवालाई देखावटीको नाम दिनेको पनि कमि थिएन ।

‘साथ दिन्छु’भन्ने कैयौं थिए । तर, भन्नको लागि मात्रै थिए, जब–जब जिन्दगीलाई नजिकबाट नियालेर हेरेँ केही नजिकका मान्छेलाई धेरै नै टाढा देखेँ। मेरो ठाडो शिरलाई झुकाउने कोसिस त गरे तर, असफल रहे ती कथित महान व्यक्तिहरु । तर, मैले भने सम्मानका रुपमै लिए । किनकी मेरो सोँच र संस्कारले अरुलाई सम्मान गर्दछ । जीवन भनैकै बाँचुञ्जेलसम्म हो , आजसम्म अर्थात् यहाँसम्मको जीवन यात्रामा धेरै संघर्ष, पीडा र चूनौती पार गरेकी मैले ती विगतका पीडा र चूनौतीको बयान गर्नै सक्दिन ।

हाम्रो समाजमा हुर्कँदै गरेकी छोरी,किशोरावास्थादेखि युवा अवस्थाउन्मुख छोरीले समाजमा हिँडेर केही गर्न चाहाँदा धेरै प्रश्नहरु उठ्छन् । अझै निरन्तर समाज र सामाजिक कार्यमा हिड्दा पछाडि धेरै कुरा काटिन्छन् । यस्तै पृष्ठपोषणबाट गुज्रेकी म चाहान्छु , अरुले त्यसरी गुज्रिन नपरोस्, छोराछोरी दुबै बराबरी भने जस्तै भूमिका ,जिम्मेवारी र व्यवहारमै पनि बराबरी हुन सकुन्।’ मेरो यहाँसम्मको यात्रामा मैले समस्या भोग्दा मेरा बा–आमाको साथ हौसला र सहयोग रह्यो जसले गर्दा विचलित भएकी थिइन। जन्मघर र जन्मदिने बा–आमा पहिलो पाठशाला र गुरुहरुबाट मलाई शिक्षा संस्कारसँगै प्रेरणा पनि मिलिरहेको थियो ।

तर,मैले मेरो पहिचान,यथार्थ चिन्न र जान्न मन लाग्यो । म आफूलाई म को हुँ,कस्ती हुँ ? भनेर चिन्न चाहेँ । मलाई परिवार,आफन्त र समाजले चिन्ने र म आफैं भकएको बीचको भिन्नता र यथार्थ छुट्टाउन मनलाग्यो । म अरुले सोँच्ने र म जे छु त्यो फरक छ भन्ने कुरामा विश्वस्त भएँ । किनकी मलाई देखेर नजिक हुन चाहाने,नजिकिने धेरै भएतापनि मलाई बुझेपछि उनीहरु मेरो साथ हुँदैनथे ।यसो भनिरहँदा धेरै जनासँग संगत गरेको भन्ने गलत व्याख्यापनि लाग्ला । तर,हामी जीवनयात्राको क्रममा साथी,भाई,इष्टमित्र,समाज,विभिन्न संघसंस्था लगाएतका धेरै व्यक्तिहरुको सम्पर्कमा हुन्छौं । त्यही क्रममा म कतिसँग नजिक भएँ, मसँग कति नजिक भए । तर,मलाई बुझ्ने मेरो साथ भएनन् । यद्यपि गुनासो थिएन र छैनपनि ।

किनकी कोही स्वार्थका लागि नजिकिए,स्वार्थ पूरा नहुँदा टाढिए । एक नारी सरल र सहज हुनुमा उसको चरित्र र नियतलाई जोड्नु कदापि सही होइन । अलिकति सामाजिक हुँदा, खुलेर बोल्दा, कसैको कुराको जवाफ दिँदा वा कुनै कारण र काम विशेषले कोही महिला वा पुरुषसँग बोल्दा उसँग नजिकनै हुन चाहेको सोँच्नुले पनि जीवनमा असमझदारी उत्पन्न हुँदा रहेछन् । सरल,सहज र व्यवहारिक हुँदैमा कसैले नजिक सोँच्नु र नाजायज फाइदा लिन खोज्नुमा दोषी को ? हो, मैलेपनि करिब १ वर्ष अगाडिसम्म यस विषयमा सोँचिन जब सोँचे अनि आफैलाई चिन्न मनलाग्यौ । एकपटक विगत र वर्तमान औंल्याउन मन लाग्यो ।

र, सोँचेँ नारी भनेको सहनशील,गम्भीर, कसैको अगाडि जवाफ नफर्काउने,शिर झुकाई बोल्ने र हिड्ने गरे मात्रै उ असल हो र ? के उसले आफूले इच्छाएका जसबाट अरुलाई असर नपरोस् ,त्यस्ता इच्छा, आकांक्षा,चाहना अनुरुप स्वतन्त्र भएर आफ्नो मनको शान्ति,सन्तुष्टि,परिवार,समाज र राष्ट्रका लागि केही गर्नु वा प्रयास गर्नु अनुचित हो ? त्यहाँपनि त सहनशीलता चाहिन्छ त, यस्ता कार्यमा झनै सरल र सहजतासँगै गम्भीरताका साथ अगाडि बढ्नुपर्छ , हैन र? २१औं शाताब्दी, आधुनिक ,प्रविधिमैत्री समयकी म नारी, मलाई स्वतन्त्र जिउने अधिकार मेरो परिवारले मात्रै होइन देशको प्रमुख कानून संविधानले पनि दिएको छ ।

आधा आकाश,श्रृष्टिको नविनतम् सिर्जना ,लक्ष्मीरुपी सन्तान, वंश रक्षा र वृद्धिमा मात्रै नभई पुरुषको सारथी,सम्पूर्ण जीवनको सहयात्री , ममतामयी आमा,सासु पो हुन् नारी । यी सबै सम्भेर गर्व गर्ने मलाई पछिल्ला दिनहरुमा केही हिनताबोध हुनलाग्यो, सरल,सहज र व्यवहारिक भए कुरा काट्ने, चरित्रमा नै प्रश्न उठाउने अल्लि गम्भीर देखिँदा घमण्डी, ठूली,दम्भ भएकी , जस्ता आलोचना र ताना सुनाउने आदि । हो जोकोहीको पहिलो प्राथमिकता घर,परिावार हो । तर, घरभित्रै , परिवार भित्रै सिमित रहनु पर्दछ भन्ने प्राचिन मान्यता हटेको पनि त धेरै भयो नि । मैले मेरो अफ्नो कुरा गरिरहँदा , पासाङ्ग ल्हामु शेर्पा, अरुणा लामा,अनुराधा कोइराला,हालकी ओनसरी घर्ती,विद्यादेवी भण्डारी अझ भनौ सपना मगर,लगाएतलाई कसले छेकेको छर ? भन्नेपनि होला ।

उहाँहरु केही प्रतिनिधि हो । म र म जस्ता हजारौं युवतीहरु अझैपनि केही पुरातन समाज,सोँच र संस्कारले पछि परेका छन् । केही अतिवादी र पुरुषवादी सोँचले अघि बढ्न सकेका छैनन् । म पनि हजारौं त्यस्ता युवतीहरुको प्रतिनिधि हुँ , जसलाई आफू,आफ्नो परिवार, समाज र राष्ट्रका लागि खुलेर केही गर्ने सोँच छ , दृढता छ । मैले मेरो पहिचान खोज्दै जाँदा अरुको अस्तित्वको पनि सम्मान पक्कै गर्नुपर्दछ । म पनि समामान्य युवा मेरा कमीकमजोरी पनि पक्कै हुन्छन् । तर, लिङ्गका आधारमा वा युवती भएकै आधारमा गरिने,सोँचिने कैंयौं अस्वभाविक व्यवहार हुँदै आएका रहेछन् । विशेषगरी सामाजिक सञ्जालमा बोल्न चाहाने, मैले नचाहानेवा मैले जवाफ नफर्काउँदा आउने वचनले मलाई नारी हुनुका दुःख,असहजताहरु र अफ्ठ्यारा स्थिति र चूनौतीहरु धेरै छन् ।

मैले मलाई बुझ्दा एक परिवारकी प्यारी मात्रै होइन,जिम्मेवार छोरी,बहिनी,दिदी,नातिनी,आफन्तकी आफन्त, समाजकी चेली र, भोलि कसैकी अर्धाङ्गिनी,बुहारी,इज्जत,त्यो परिवारका आफन्तको पनि आफन्ती , अर्को समाजकी पनि चेली र राष्ट्रकी नागरिक हुँ। यससँगै मेरो व्यक्तिगत मात्रै, परिवार,समाज र राष्ट्रप्रति जिम्मेवारी छ । पहिचान केवल ठूलो पद र प्रतिष्ठा मात्रै होइन । आफ्नै छुट्टै विशेषता,सोँच र कामको पनि हुन्छ । त्यसैले म आफूलाई एक उर्जाशिल युवा,नारी,नागरिकका रुपमा ठान्दछु । र, म जस्तै हजरौं युवायुवतीहरुको पनि त्यही पहिचान छ । तर, युवा नारी भएकै कारण मप्रति बनाइने गलत दृष्टिकोण र व्यवहार भने मान्य हुनेछैनन् । यसर्थ नारी र पुरुषको आधारमा भन्दा पनि भावना,सोँच र व्यवहारका आधारमा समान व्यवहार गरौं । हुन त युवती वा नारी भएकै भरमा म लगाएत अरुपनि यस्तो व्यवहारबाट गुज्रिएका छौं भन्ने मात्रैपनि होइन ।

किनकी कैंयौं युवा तथा पुरुषहरुपनि त्यस्तो व्यवहार र सोँचबाट पीडितनै बन्नु भएको छ । तर,जो कोही भएतापनि गलत सोँच र व्यवहारबाट उत्पीडित हुनु हुँदैन। कसैले कसैको निजी र सामाजिक आचरण र व्यवहारलाई गलत व्याख्या गर्न र मूल्यांकन गर्न छुट छैन । सामाजिक सोँच र चिन्तनका साझा विषयमा महिला पुरुष सबै मिलेर काम गरौं । महिला पुरुष बराबर भन्ने सोँचलाई व्यवहारमा उतारौं । लैंङ्गिक आधारमा भन्दा पनि सोँच र व्यवहारका आधारमा सहकार्य गरौं । समाज साझा हो,समाज सेवामा अस्वस्थ प्रतिष्पर्धा होइन , स्वच्छ र सौहार्द रुपमा गरौं । सेवा भनेको दिनसक्नेले चाहिनेलाई गर्ने हो । म मेरोतर्फबाट जति सक्छु ,त्यति गर्छु । तर, देखावटी र प्रचारका लागि नगरौं । र, सक्दो सेवा गर्नेलाई सक्छौं सम्मान गरौं, सक्दैनौं भने अबमूल्यन पनि नगरौं । म एक युवा मेरा निजीसँगै पारिवारिक र सामाजिक दायित्व पनि छन् भन्ने बुझाइका साथ म अगाडि बढ्दैछु।

https://www.globalaawaj.com/archives/106102