असार १६,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले माग्यो भन्दैमा खुरुखुरु पैसा नदिने बताएका छन्।
निगम व्यवस्थापनले पछिल्लो समय स्वेतपत्र जारी गर्दै संस्थाको ऋण ३७ अर्ब रुपैयाँ पुगेको र त्यति नै रकम सरकारले भरताल गरिदिए ठूलो राहत मिल्ने माग गर्दै आएको छ। निगमलले सोमबार आयोजना गरेको ६१औं वार्षिकोत्सवमा पनि व्यवस्थापनका अधिकारीहरूले सरकारले उक्त परिमाण बराबरको रकम सहयोग गर्न माग गरेपछि प्रधानमन्त्री ओलीले निगमलाई भन्नासाथ पैसा नदिने स्पष्ट पारेका हुन्।
‘निगम व्यवस्थापनको उचित व्यवस्था नभएसम्म उसलाई खुरुखुरु पैसा दिन मिल्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले ३७ अर्ब माग्छ, अनि दियो भने अर्को साल फेरि ३७ अर्ब माग्छ। यसरी सधैं पैसा दिइरहने ? भएका जहाज उडाएर आम्दानी गर्नु छैन, पैसामात्र मागिरहने?’
ओलीले निगमको वार्षिकोत्सव सफल हुने भए पनि निगमको सफलता त्यति सजिलो नभएको धारणा राखे। ‘६१ वर्ष पूरा गरेको संस्थाको प्रगति के भयो ? ३७ अर्ब ऋण,’ उनले भने, ‘उड्डयन क्षेत्र दान पूण्य र समाजसेवाका लागि मात्र काम गर्ने क्षेत्र होइन, यसले व्यापार पनि गर्नुपर्छ। यो क्षेत्र निःशुल्क स्वास्थ्यशिविर चलाएजस्तो होइन।’
ओलीले ६ थान चिनियाँ र दुई थान वाइड-बडी जहाज किन्न सक्ने तर पाइलट र गन्तव्य व्यवस्था गर्न नसक्ने भन्दै निगमको आलोचना गरे। जहाज किन्नुअघि नै यसबारे नसोचिएकोमा उनले रोष प्रकट गरे।
‘अहिले निगमले जापानको ओशाका उडान गर्ने तयारी गरेका रहेछ, तर त्यहाँ होइन अर्को सहर नारितामा उडान गर्नुस्,’ ओलीले भने, ‘सरकारले निगमलाई सहयोगमात्र होइन, काँधै थाप्ने छ।’ वाइड-बडी जहाज उपयुक्त ढङ्गमा सञ्चालन नगरेको ओलीले आरोप लगाए। लामो दुरीमा उडान गर्नुपर्ने वाइड-बडी एक-डेढ घन्टाको दुरीमा उडाएर कहिल्यै फाइदा नहुने उनको भनाइ थियो।
‘जहाज किनिरहने तर उडाउन नसकेर एयरपोर्टमा लडाएर राख्ने?,’ प्रधानमन्त्री ओलीले भने, ‘निगमसँग अझै यति धेरै जहाज छन्, तर आकाशमा होइन सबै जमिनमा छन्। जहाज र त्यसका इन्जिन मर्मत गर्नुस्, स्पेयर पार्ट्स किन्नुस्, चुस्त-दुरुस्त राख्नुस् अनि गन्तव्य खोज्नुस्।’
उडान सुरक्षामा खेलाँची नगर्न प्रधानमन्त्री ओलीले निगम व्यवस्थापनलाई आग्रह गरे। नीति, नियम अन्तर्राष्ट्रिय मापदण्ड सबै पालन गरी अरूलाई भन्ने ठाउँ नदिन उनले अनुरोध गरे।
प्रतिक्रिया