बाँके । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाए।
जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए। २४ वैशाखमा इम्तियाजले पनि संसार छोेडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो।
हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो। खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो। कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ। झस्काएको छ। घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन्। इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ।
नेपालगन्जको सदरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा हल्वाइ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ। २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन्। छतहरू सबै जोडिएको एउटै गोल घर जस्तो देखिन्छ। एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन्। चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँगन छ। चारैतिर घर नै घर भएकाले पर्खाल लगाउनु परेको छैन। सबैका लागि एउटै मूल गेट छ। जहाँ अल्लाह कम्प्लेक्स लेखिएको छ।
यही कोलोनीमा ७ भाइका छोराछोरी, नातिनातिना गरी ३५ जनाको परिवार बस्छ। सदरलाइनमा पुस्तौंदेखि बस्दै आएको यो परिवार सुनारमण्डीमा भने १२ वर्षअघि सबैै भाइको एउटै थलोमा घर बनाएर बस्न थालेको थियो। मंगलबार अपराह्नतिर संवाददाता पुग्दा यो बडेमानको घर पनि सुनसान थियो। मृतकका भतिजो (जेठो दाइ हाजी सब्बिरका कान्छा छोरा) सरप्राज मेहमुद मूलद्वारमा भेटिए। उनले दाइ सहनाज आदिल (माइलो बुवाको छोरा)लाई कुरा गर्न बोलाए। सहनाजले साइलो काका रियाज अहमदलार्ई डाके। ३ तले घरको दोस्रो तलाको उत्तरतर्फको झ्यालबाट उनले हेरिरहे। तल उनी आउन मानेनन्। मात्र चिहाइरहे। संवाददाताले बोलाउँदा पनि उनी तल झरेनन्। पत्रकार भनेपछि बरु झ्यालबाटै कुरा गर्न राजी भए।
‘लगातार एकपछि अर्को भाइको मृत्युु भयो। अहिले त तल झर्न पनि हिम्मत आउँदैन’, उनले पीडा सुनाए’, ‘यो महामारी के हाम्रै घरको लागि भएको हो र ?’ बेला–बेलामा उनको बोली अवरुद्ध हुन्थ्यो। ‘सबै भाइ मिलेर बसेका थियौं। अभाव केही पनि थिएन। आवश्यक परेको बेलामा एकले अर्कोलाई सहयोग गथ्र्यौ। किन हाम्रै परिवारमाथि यस्तो समस्या भयो ?’, ३ भाइ गुमाएका रियाजले भने, ‘हामीले आफ्नो तर्फबाट बचाउन सक्ने सबै प्रयास ग¥यौं। उपचार गर्न पैसाको अभाव पनि हुन्थेन। सबै भाइ मिलेर जति लागे पनि पैसा त जम्मा भइहाल्थ्यो। पैसाले मात्र पनि मान्छे बाँच्ने रहेनछ ?’
कोरोनाले कसरी एक्कासि मान्छेको ज्यान लिँदोरहेछ, यो परिवार आश्चार्य चकित छ। ‘काका एजाजलाई मधुमेहको समस्या थियो। अरू कसैलाई दीर्घरोग थिएन। मधुमेहको रोगी भए पनि उहाँले औषधि सेवन गर्नु भएको थिएन। खानपिनबाटै मधुमेहलाई नियन्त्रणमा राख्नु भएको थियो’, भतिजा सहनाज आदिलले यर्थाथता दर्शाए। कान्छा जहिर क्रिकेट खेलाडी भएकाले हट्टाकट्टा नै थिए। अस्पतालमा भर्ना हुने दिनसम्म उनको अक्सिजन लेभल ९० थियो। एक्कासि सास फेर्न गाह्रो भएको थियो। तर, सुरुमा निधन उनकै भयो।
निधन भएका तीनवटै भाइलाई सुरुमा खोकी र ज्वरो आएको थियो। उनीहरूले त्यसको औषधि खाए तर निको भएन। शंका लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। जटिल स्वास्थ्य समस्या नहुँदासम्म उनीहरू होम आइसोलेसनमै बसेका थिए। तीन भाइलाई कोरोना भएपछि अरू थप ४ जनाको कोरोना परीक्षण गरिएको थियो। मृतकद्वय काइला र कान्छाकी पत्नीलाई पनि कोरोना पुष्टि भयो तर उनीहरू होम आइसोलेसनमा बसेर निको भए। ती बाहेक अरु कसैलाई कोरोना संक्रमण भएन। अस्पतालमा कुर्ने छोरा भतिजाहरूमा पनि कोरोना भएन।
आफूले काका गुमाए जस्तै पीडा अरू कसैले पनि अभिभावक गुमाएर भोग्न नपरोस् भन्नका लागि सहनाज आदिलको सुझाव छ, ‘कोरोना केही होइन नभन्नुस्। तीन÷तीन जना अंकल गुमाएका हामीलाई मात्र थाहा छ कि यो कति खतरनाक छ। यो महामारीबाट जोगिने भनेको सुरक्षा मापदण्ड पालना गर्ने र सतर्क रहने नै हो।’
घटनाको तीन, चार दिनसम्म त यो घरमा चुल्हो नै बलेको थिएन। आफन्तहरूले ल्याएर खुवाए। अन्त्येष्टिको ३ दिनपछि परिवारले अरू धार्मिक अनुष्ठान सबै फुकुवा गरिदियो। मानसिक र सामाजिक पीडा अझै निको भइसकेको छैन। अहिले पनि परिवारका आधा दर्जनभन्दा बढी महिलालाई त्यो मृत्युको घटनाले निद्रा लाग्दैन।
सासू–बुहारीको निधन सुनारमण्डीमा मात्र होइन, जिल्लामा कोरोना र त्यसको प्रभावले एकैघरमा दुई वा सोभन्दा बढी ज्यान गुमाउने अरू पनि छन्। खजुरा गाउँपालिकामा सासू–बुहारीले नै ज्यान गुमाए। खजुरा ३ की ७२ वर्षीया खुमकला पुलामीले ११ वैशाखमा भेरी अस्पतालमा उपचारको क्रममा कोरोनाबाट ज्यान गुमाइन्। त्यसको २ दिनपछि १३ वैशाखमा ४७ वर्षकी बुहारी लक्ष्मी थापा पुलामीको पनि कोरोनाबाटै निधन भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले जानकारी दिए। ७ वैशाखमा उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो। खुमकलाका पति, नातिनीसहित अरू ४ जनालाई पनि कोरोना भएको थियो। सबै निको भए।
दम्पती नै लग्यो कोरोनाले
त्यस्तै, नेपालगन्ज–५ को बच्चुपुरुवाका २८ वर्षका अशोक मौर्य (मुराउ)ले कोरोनाबाट ६५ वर्षका पिता रामगोपाल मुराउलाई भेरी अस्पतालमा उपचारको क्रममा गुमाए। बुबाको मृत्युको १४ घण्टामै ६० वर्षीया आमा सावित्रीदेवी मुराउको पनि मृत्यु भयो। उनी भन्छन्, ‘आमालाई पनि बुबालाई जस्तो कोरोनाको लक्षण थियो तर परीक्षण नै गरेनौं।’ उनको परिवारमा २ दाजुभाइ र ५ दिदीबहिनी छन्। घरको आर्थिक अवस्था कमजोर छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बुधबार दिउँसो ३:३० बजेसम्म बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ५३ पुगेको छ। बाहिरी जिल्लाबाट भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गर्न आएका २०९ गरी यहाँका अस्पताल र आइसोलेसनमा मृत्यु हुनेको संख्या ४ सय ६२ पुगेको छ। धेरैले गत चैत महिनायता ज्यान गुमाएका छन्। जिल्लामा मंगलबारसम्म ७१ हजार ९५५ जनाको स्वाब परीक्षण गरिएकोमा १६ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जेठ महिना लागेसँगै बाँकेमा संक्रमण दर र मृत्युदर पनि घट्दो क्रममा रहेको ओलीले दाबी गरे। अन्नपूर्ण पोस्ट दैनिकमा शंकरप्रसाद खनालले खबर लेखेका छन् ।
प्रतिक्रिया