रुपन्देही । कोरोना सङ्क्रमितको उपचारलाई सहज बनाउन बनाउन लुम्बिनी प्रदेशमा अक्सिजनको आपूर्ति श्यैया थप गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । अक्सिजन र श्यैया को अभावमा उपचार सेवा प्रभावित भएपछि यी काम अघि बढाइएको हो । भैरहवास्थित भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा लिफ्ट सहित १५ वटा श्यैया सञ्चालनमा ल्याइएको छ । लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षमा तीन वटा आइसियुसहित १५ वटा श्यैया सञ्चालनमा ल्याइएको हो । हाल जडित तीन वटा आइसियु वेड मध्ये २ वटामा जर्मन टेक्नोलोजीको भेन्टिलेटर, र १२ वटा वेड एचडियु अक्सिजन पाइपलाइन र मोनिटर सहितको रहेको प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले जानकारी दिए । दुई तले अत्याधुनिक भवन स्वास्थ्य मन्त्रलायको मापदण्ड अनुसार निर्माण गरिएको छ ।
यसैबिच रुपन्देहीमा कोरोना सङ्क्रमण हुनेको भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दो छ । रुपन्देहीमा पछिल्लो २४ घण्टा (बुधबार साँझ)मा तीन सय ६१ जना कोरोना सङ्क्रमित थपिँदा सात ७८ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका विभिन्न प्रयोगशालामा आठ सय ८८ पिसिआर परीक्षण गर्दा तीन सय ६१ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन परीक्षण तर्फ दुई हजार चार सय ५० जनाको परीक्षण गर्दा नौ सय ९० जनामा रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लामा थप पाँच ५ जनाको मृत्यु भएको छ ।
भेरीमा भण्डारण गरियो लिक्विड अक्सिजन
पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालमा जडान गरिएको अक्सिजन ट्याङकमा आज लिक्विड अक्सिजन भण्डारण गरिएको छ ।अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित विरामीलाई अक्सिजन अभाव हुन नदिन जडान गरिएको अक्सिजन ट्याङ्कमा लिक्विड अक्सिजन भण्डारण गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताए । उनका अनुसार भारतबाट आज दिउँसो आइपुगेको ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकरबाट अस्पताल परिसरमा जडान गरिएको ट्याङ्कमा लिक्विड अक्सिजन भण्डारण गरिएको हो । ट्याङकरमा आएको २० हजार लिटर ‘लिक्विड अक्सिजन मध्ये १० हजार लिटर भेरी अस्पतालको ट्याङ्कमा भण्डारण गरिएको छ भने बाँकी १० हजार लिटर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि पठाइएको छ ।
अस्पतालको अक्सिजन ट्याङ्कमा अक्सिजन भण्डारण भएपछि कोरोनाका बिरामीलाई उपचार गर्नमा अव सहजता हुने डाक्टर थापाको भनाई छ । कोरोना दोस्रो लहरमा विरामीलाई अक्सिजन अभाव भएपछि भेरी अस्पतालमा २० हजार लिटर अक्सिजन लिक्विड भण्डारण क्षमताको अक्सिजन ट्याङ्क जडान गरिएको हो । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । भेरी अस्पतालमा दिनमा २ सय ५० देखि ३ सय थान अक्सिजन सिलिन्डर खपत भइरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. थापाले बताए ।
उनका अनुसार, सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकोमा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत पनि बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् ।एउटा अक्सिजन सिलिन्डरका लागि रु. ९ सय १५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा. थापाले बताए।
कोरोना नियन्त्रणमा रामपुर नगरपालिकाको सहयोग
पाल्पाको रामपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्कालको लागि रु.१० लाख सहयोग गर्ने भएको छ । कोभिड नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि जिल्लाको कोभिड प्रयोगशाला तथा रामपुर अस्पताललाई रु. पाँच/पाँच लाख उपलब्ध गराउने भएको हो ।कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सङ्कटको परिस्थितिमा आर्थिक अभावका कारण थप जोखिम नभित्रियोस् भनेर सहयोग गर्ने निर्णय भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । जिल्लामा कोरोनाका बिरामी बढ्दो क्रममा रहेको र विभिन्न अस्पतालमा आर्थिक अभावका कारण अक्सिजन लगाएतका स्वास्थ्य सामग्री र उपकरण अभाव नहोस् भनेर नगरपालिकाले सहयोग गरेको नगरप्रमुख थापा बताउँछन् ।
नगरापालिकाले कोरोना सङ्क्रमणका बिरामीलाई अस्पतालसम्म पु¥याउने, ल्याउने तथा कोरोनाका कारण ज्यान गुमाएकाको शव व्यवस्थापनका निम्ति सवारी चालकको पारिश्रमिक निर्धारण गर्ने, सहयोगका निम्ति कालीगण्डकी फाउण्डेशनको एम्बुलेन्स र एउटा जीप तयारी अवस्थामा राखिने नगरप्रवक्ता हुमनाथ न्यौपानेको भनाइ छ । नगरपालिकाले हप्ताको दुई दिन आइतबार नगरपालिकाका विभिन्न वडा र बुधबार नगरपालिका परिसरमा एण्टीजेन परिक्षण गर्ने, निर्माणकार्यमा १५ जनाभन्दा बढी कामदार सहभागी हुन नपाइने व्यवस्था गरेको छ ।
प्रतिक्रिया