ताजा अपडेट »

‘आईफा अवार्डले नेपाललाई विश्वभर चिनाउँछ, विरोध नगरौँ’

आइतबार, १५ असार २०७६

असार १५,
काठमाण्डौं । इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डको विरोध नगर्न आयोजकले अनुरोध गरेको छ ।  आईफा अवार्डले नेपालमा पर्यटक बढाउने र विश्वभर नेपालको प्रचार हुने भएकाले यसको विरोध नगरी सफल पार्न पनि सबैलाई अनुरोध गरेको हो ।

नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले एक पटक आईफा अवार्ड गरेपछि वर्षौसम्म त्यो देशको प्रचारप्रसार भैरहने दावी गरे । 'हामी भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा छौं, यो विश्वमै सबैभन्दा धेरै हेरिने अवार्ड हो, यो अवार्ड मार्फत भारतीय मात्र नभई विश्वभर नेपाल र काठमाण्डौको प्रचार हुनेछ,' जाेशीले भने । यसको नाम नै नेपाल आईफा हुने भएकाले नेपाललाई प्रचारको राम्रो मौका भएको उनको दावी छ ।

झन्डै १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको अवार्डको लागि राज्यकोषको एक रुपैयाँ पनि खर्च  नहुने आयोजकले जनाएको छ । 'अहिले हामीले हाम्रो भागमा ४४ करोड रुपैयाँ जति पर्ने अनुमान गरेका छौँ, राज्यले १ अर्ब खर्च गर्दैछ भन्ने हल्लाको पछि नलागौं,' जोशीले भने ।

अवार्डको लागि पाँच सयदेखि ६ सय पाहुना नेपाल आउने अनुमान गरिएको कार्यकारी निर्देशक जोशीले बताए । उनीहरुको लागि आउने जाने हवाई टिकट, काठमाण्डौमा यातायात र खाने बस्ने व्यवस्था नेपालले नै गर्नुपर्नेछ ।