ताजा अपडेट »

‘मारुनी’ सँग ‘कबड्डी कबड्डी कबड्डी’ भिड्ने !

आइतबार, १५ असार २०७६

आउँदो भाद्र १३ गते अर्थात् तिजको छेकोमा दुई ठूला फिल्मको बक्सअफिसमा निकै ठूलो टकराव हुने देखिएको छ । अहिलेसम्म यो डेटमा नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ एक्लै थियो । यसअघि उक्त मितिमा अभिनेता अनमोल केसीले अभिनय गर्ने भनिएको फिल्म ‘ब्याचलर बन्टी’ आउने निधो भएको थियो । तर, अनमोलले यो फिल्मबाट हात झिकेपछि भिडन्त टर्‍यो । र, ‘मारुनी’ सोलो प्रदर्शनमा आउने सम्भावना बढेको थियो ।   

तर, यो फिल्मसँग भिड्न अब रामबाबु गुरुङ निर्देशित सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ आउने भएको छ । हालै यस फिल्मको छायांकन सकिएको छ । आइतबार निर्माण टिमले एक पोस्टरमार्फत् भाद्र १३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दैछ । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । वितरक मनोज राठीले भने फिल्म भाद्र १३ मा आउने कुरालाई सत्य बताए ।  

तिजको छेकोमा फिल्म रिलिज गर्न सधैं नेपाली निर्माताबीच हानाथाप हुने गर्दछ । विदामा फिल्म रिलिज गर्दा लगानी सुरक्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले हरेक वर्षको तिजको विदामा ठूला नेपाली फिल्मको भिडन्त हुँदै आएको छ । गत वर्ष 'रोज' र 'रामकहानी' बक्सअफिसमा आमने-सामने भएका थिए । यस वर्ष यो परम्परा ‘मारुनी’ र ‘कबड्डी कबड्डी कबड्डी’ ले धान्ने भएका छन् । दर्शकमाझ दुबै फिल्मको व्यग्र प्रतिक्षा छ ।    सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजसँग बक्सअफिसमा भिडन्त गर्नु ‘मारुनी’ का लागि सहज हुने देखिन्न । किनकि, ‘कबड्डी’ नाम आफैंमा ब्रान्ड बनिसकेको छ । दर्शकले यो फिल्मको सिरिजलाई आँखा चिम्लिएर विश्वास गर्दछन् । यसकारण ‘मारुनी’ लाई ‘कबड्डी’ को तेस्रो सिरिजसँग भिडन्त गर्नु फलामको चिउरा चपाउनुभन्दा कम हुने छैन ।

अब हेर्न यो बाँकी छ कि, ‘मारुनी’ ले ‘कबड्डी कबड्डी कबड्डी’ का लागि बाटो खाली गर्नेछ वा भिडन्त गर्ने हिम्मत जुटाउने छ ।    ‘मारुनी’ मा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, रेविका गुरुङलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई पुनम गौतमले निर्माण गरेकी हुन् । यो फिल्मको पहिलो गीत ‘जाम्न माया जाम’ सार्वजनिक भइसकेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, बुद्धि तामाङ, रिश्मा गुरुङ, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले फिल्मको कथा लेखेका हुन् ।