ताजा अपडेट »

ट्रम्प र किम जोङ उनबीच भेटवार्ता

आइतबार, १५ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । कोरियाली प्रायद्विपको सिमानामा रहेकाे असैनिकीकृत क्षेत्र पान्मुन्जोममा उनीहरुको भेट भएको हो । 

उत्तर कोरीया र अमेरिका आमनेसामने भएर कोरीयाली सिमानाको असैनिकीकृत क्षेत्रमा भेटघाट भएकाे याे पहिलाे पटक हाे । भेटमा किमले ट्रम्पसँग फेरी भेट्न पाउँदा खुसी लागेको बताए । “अर्कोपटक यसरी भेट्न पाउँदा खुसी लागेको छ” उनले भने “यो ठाउँमा यसरी भेट होला भन्ने अपेक्षा थिएन ।” 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्म्पले ट्वीटमार्फत किमसँग भेटका लागि आफू उत्सुक रहेको  बताएका थिए ।  ट्रम्पले शनिवार अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेपछि एक प्रकारको तरङ्ग उत्पन्न गराइदिएकाे थियाे । भेटमा किमले ट्रम्पसँग ट्वीटमा भेटको लागि गरेको प्रस्तावले आफू आश्चर्यमा परेको बताए ।

दुईजनाले हात मिलाउनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ह्वाइट हाउस आउन निम्तो गरेका थिए । “म उहाँलाई तत्कालै ह्वाइट हाउसमा निम्तो गर्दछु” हात ठीक अघि ट्रम्पले भने । उनले धेरै कुराहरु सकारात्मक भएको पनि बताए । अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प निर्वाचित भइसकेपछि सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर कोरियासँग दुई पटक शिखर बैठक भइसकेका छन् । कोरियाली प्रायद्वीपका बीचमा सन् १९५० देखि शुरु भएको भएको युद्धपछि सन् १९५३ मा टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेपछि उत्तर काेरियाकाे अमेरिकासँगकाे सम्बन्ध सत्रुतापूर्ण थियाे । 

पहिलो बैठक अन्त्यन्त सकारात्मक भएपनि दोस्रो बैठक भने अपेक्षित नभएपछि फेरी दुई देशकाबीचमा अविश्वास बढिरहेका बेला अहिले यो भेटवार्ता शुरु भएकाे हाे । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इनले ट्रम्प र किमबीचकाे यसपटककाे भेटवार्ता ऐतिहासिक र अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। जी २० शिखर सम्मेलनका लागि जापान पुग्नुभएका ट्रम्प त्यतैबाट दक्षिण कोरिया गएका हुन् ।