ताजा अपडेट »

बुवाको माया

शुक्रबार, ३१ बैशाख २०७८

बुवा शब्द आफैंमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोजेता पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । बुबा घरको जग हो, परिवारको उज्यालो हो । संसारको आठौँ आश्चर्य बुबा हो , जसलाई दिन मात्र आउँछ , सन्तानबाट कहिल्यै लिन आउँदैन । मेरो बुवा भन्ने गर्नुहुन्छ – जीन्दगी जिउनको लागि दुई तरिका सधैँ अपनाउनु । जे भइराख्या छ हुन देउ , सहँदै जाउँ । आफ्नो जिम्मेवारी आँफै उठाउ, आत्मबल दर्हाे बनाऊ, ती सबै उल्झनबाट आफू उत्रिनको लागि । बुवा जब खुशी हुनुहुन्छ, तब आफ्नो सन्तानलाई आफ्नो काधमा बोक्नुहुन्छ ।

बुवा सोँच्नुहुन्छ ,कि मेरो सन्तानले त्यो सबै कुरा देखोस्, जुन कुराबाट म सदैब बञ्चित थिए । हरेक बुवाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्, बुवा हिम्मत हो । बुवानै सन्तानको सुरक्षा कवच हो । बुवा सहारा हो , बुवा सन्तानको पहिलो मार्गदर्शन हो । मेरो बुवा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो । मेरो बुवा नै मेरो परिवार हो । मेरो बुवा नै मेरो घरको जग हो । बुबा नै आमाको अभिमान हो, स्वाभिमान हो । बुवा नै हो हाम्रो सपनालाई पूरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, बुवा नै हो आफ्नो परिवारको लागि आफैलाई आँफैले पर कतै लगेर बेचिदिने व्यापारी ।

सानो हुँदा मलाई हात समाउँदै डुलाउनु हुन्थ्यो । केहि पुराना याद कल्पिन मन लाग्यो । म फतक्कै गल्दा हजुर मलाई आफ्नो काधमै बोक्नुहुन्थ्यो, आँफूले नदेखेका कुराहरु पनि मलाई देख्यौ ? देख्यौ ? भन्दै सोध्नु हुन्थ्यो । त्यति बेला मलाई लाग्थ्यो , मेरो बुवा त मलाई कति माथिसम्म उचाल्न सक्नुहुन्छ , मेरो बुवाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला । बुबाले दिनरात नभनी घर माथि परिवार माथि नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नुभयो । बुवाले आफ्ना साना भाइ बहिनीलाई सदैव माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनुभयो । पैसा व्याज लगाउन दिए जस्तो होइन सम्बन्ध, एकोहोरो भएपनि उमेरको अनुभव र भोगाइले आफ्नो भाइ बहिनीलाई सुविधा दिनुपर्छ भन्नुभयो ।

बुबाले गरेको मेहनत राम्रोसँग देखेको छु । बुवा बिहानै कोदालो, हलो , फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुवाको लागि खान बनाएर लग्थे । म भ्यागुता जस्तै बुरुक–बुरुक उफ्रिन्थे, हातको सबै खाजा पोखिएर खाना मात्र बाकी रहन्थ्यो, मेरो बुवा आफ्नो बच्चाले ल्याएको भन्दै चिसो कुवाबाट बग्दै गरेको पानीले खाना मुछ्दै खानुहुन्थ्यो । बुबाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि फोरुवाले बाउसे गर्दै बस्नुहुन्थ्यो । त्यो फोरुवाले बुवाको हातमा फोकै–फोका पारिदिन्थ्यो, त्यहि फोरुवाको बिडले नै बुवाको फोका फुटाउथ्यो । हजुरले खेत रोप्ने मेलो सहज पार्दिनु हुन्थ्यो । त्यसैले त हिरा जस्तै टल्कने सेतो चामलको भात खान सक्यौं ।

जति नै दुःख भएपनि हजुरको आँखा भिजेको कहिल्यै देखिन बुवा । हजुरको न कुनै दराज छ, न कुनै मधुुस, यति धेरै दुः ख हजुर कहाँ लुकाएर राख्नु हुन्छ ? दुखेको त्यो खुट्टाले सकी नसकी झीजै झिजा मसिना बासका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनुभयो। तरकारी राम्रो होस् भन्दै डोका कै डोका मल खन्याउनु भयो , त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुने गरि विभिन्न थरीका फलफूल फुलेका छन् । सन्तानको भविष्य उज्ज्यालो होस् भनेर दुनियासँग कति झुक्नु भयो होला है ? तर आज हजुरकै सन्तानले महेनत नै नगरी भाग्यलाई दोष दिदै बस्दा हजुरको सपना त बन्द सटर भित्र खापिदै खापिदै ढुसी लाग्दै गुम्सेको पो रहेछ ।

बुवा हजुर बजार जानहुन्थ्यो, तर कैयौ दिनको पसिनाको कमाइले आमालाई साडी ल्याइदिने सपना राख्नु हुन्थ्यो । बुवा हजुरको खल्तीमा पैसा नहुदा पनि त्यहि साडी हेर्दै जाने हेर्दै आउने गर्नुहुन्थ्यो । काम देखि घरमा आउन एकमुष्ठ पारेको पैसाले आमाको सुन्दर मुहारमा खुसि छर्नको लागि किन्देको त्यो साडी हेर्दा मलाई लाग्छ मेरो बुबासँग टन्नै पैसा छ । त्यो साडी त्यति बाक्लो रैछ कि मेरी आमाले आजसम्म अर्कै साडी फेरौ न भनेर बुबालाई कहिल्यै भन्नै सक्नु भएन । म अझै दोधारमै छु , आमाको साडी निकै बाक्लो थियो ? या बुवाको खल्ती पातलो ?

आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आफ्नो काध नै दाउमा राख्ने बुवाको इतिहास कसैले पढ्दैन, किन ? हरेक बुबाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन । बुबाले बारम्बार झकझकाउने पनि गर्नु भएको छ, आफ्नो जीवनमा आइपरेको काँडा आफै निकाल्न कहिल्यै बुवा आमाको आशमा नबस्नु , जति नै हुने खाने भएनी माइतीको धाक नलगाउनु । बुबा आमाको अनुपस्थितिमा पनि आफ्नो जीवनलाई उत्तिकै सार्थक बनाउन सक्नु । जसले तिम्रो हृदयलाई प्रेम गर्छ , उसलाई हृदयदेखि सम्मान गर्नु ।

हजुरले आफ्ना आफन्तसँग कुरा गर्दा गर्दै सुनेको छु, हजुर भन्ने गर्नुहुन्छ रे । यो सबै बच्चा माथिको जिम्मेवारी हो मेरो, बुवा हजुरले कसरी सोच्नु भयो कि सबै हजुरकै जिम्मेवारी हो हामी माथि भनेर ? हजारौ जुनी चुकाउन सक्दैनौ, सबै मायाको ऋण थियो हामी माथि, बुवा जब दुनियाले मुख बटारेर हिड्छन् । असफलताको आँशु बनेर आँखा नै ओभानो हुन दिदैन, त्यसै बेलामा हामीलाई परबाट एक आवाज आउँछ, हामीले त्यो सुन्न सक्नुपर्छ जुन आवाज हाम्रै मुटुमा धड्किरहेको हुन्छ, अनि भन्नु हुन्छ किन? किन चिन्ता लिन्छौ ? म सधैं तिमिसँगै तिम्रै छायाँ बनेर हिडेको हुन्छु । त्यहीपनि भन्नुहुन्छ मेहेनत गर, म छु । बुवाको यहि कुराले हामीलाई थप हौशला दिन्छ, त्यसैले त कम्मर कस्न सकिन्छ नि बुवाको चिन्तालाई सफलतामा बदल्नु । बुवा कस्तो माया हो यो ?

हजुरको लहरे खोकीले हल्ला भयो भन्दै म कानमा चर्को आवाजको गीत लगाएर सुत्छु, कस्तो प्रगाढ सम्बन्ध यो बुवा र सन्तानको १ बच्चा थोरै पीडामा भएपनि आफै अगाडि आएर सबै दुस्ख पानी पिएजस्तो घुटुक्क निलिदिन्छु । बुवा मेरो मन विनाकारण दुखि हुन् । बुवा मेरो मन विनाकारण दुखि हुन्छ, हजुर भोकै बसेर दमित आवाजमा रुनुहुन्छ, विना आवाज, विना आँशु बुवा रुनुहुन्छ, आफ्नो बच्चाको दुःखको काडा आफ्नै पोल्टोमा सिउरिनु हुन्छ, त्यो काडाले बुवालाई कति घोच्छ होला है ? तर कहिल्यै आफ्नो घाउ देखाउनु नै हुन्न । बुवा जिन्दगीमा प्रगति होला नहोला त्यो त अनुमान लगाउनै सक्दिन तर मनलाई बेस्सरी दुखले च्यापेको बेलामा आफ्नो बुवाको काखमा आएर रुन सके भने पनि मलाई सात जूनी रुन नपर्ने आशिश हजुरको अँगालोले दिन्छ जस्तो लाग्छ ।

सानैबाट सन्तानले बुबा आमालाई प्रयोग गर्दै आयौ, कहिल्यै भीडमा हराइन्छ कि भन्ने डरले हरेक ठाउँमा आफ्नै साथ लग्यो, उहाँको हात कहिल्यै छोड्नै खोजेन मात्र आफ्नो स्वार्थको लागि । जब उहाँहरुलाइ हाम्रो साथको आवश्यकता रह्यो , हामी कहिले पढाईको बहानाले, कहिले आफ्नो इच्छाको बहानाले, कहिले स्वतन्त्रताको बहानाले आफूबाट निकै टाढा गर्न खोज्यौँ । त्यो बुवाआमा नै हो आफ्नो सन्तानको लागि आफुसँग भएको अन्तिम चिज पनि बेचिदिने । आमाको तित ढिके फुलि, बुवाको लालपुर्जा बेचेर हामीले आफ्नो सपना पुरा गर्यौ तर बुबाआमाको अन्तिम श्वाशमा पनि हामी उहाहरुलाई मठमै सुताएर दराज फुटाल्दै उहाकै ज्यूनी खोज्न पनि पछि पर्दैनौ । अब हामी सबैले आँफै विचार गरौ न त के हामीहरुले उहाहरुलाई उहाहरुले जत्तिकै निश्चल माया गरेका रहेछौ त?

म अझै पनि दोधार मै छु हाम्रो लागि दुःख गर्दा–गर्दै गलेको त्यहि शरीर माथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए, भने हामी उहाहरुसँगै बसेर उहाँले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौ होला? या फेरी पनि बहाना बनाउँदै पर–पर भाग्छौ होला ? आफ्नो सन्तान भन्दा भन्दै परिवारलाई संस्कारी मूर्तीमा राख्दा–राख्दै, बुढेसकालमा पनि नथाक्ने त्यो बुढो काधको भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौ होला ? बुवाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान, उहाकै अस्तित्वको सम्मान गर्दै उहालाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौ होला ?

बुवाले हामीलाई सानो छँदा दिएको संस्कार , शिक्षा, सहि मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया , त्यो काधको जिम्मेवारी हामी अभिभावक हुँदा त्यो सबै कर्तव्य उहाहरुले जस्तै गरि आफ्नो सन्तानको लागि पुरा गर्न सक्छौ होला ? बुवाको सम्पति होइन बुवाको छाया आफूसँग झल्कनु नै ठुलो आशिर्वाद हो । मैले सन्सार मा सबैभन्दा बढी बिश्वास गर्ने ब्यक्ति नै आफ्नो बुवा हो, उहाँको पेट दस दिनकै भोको किन नहोस् तर उहाँले आजसम्म आफ्नो ईमान बेचेर क्षणिक खुसी हुने दुस्प्रयास कहिल्यै गर्नुभएन । मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जीवनदाताको कथा कोर्न मन छ, सम्पूर्ण बुबामा धेरै माया, अब त आफ्नो काँधको भारी बिसाइदिनुस् न है !

https://www.globalaawaj.com/archives/106250