ताजा अपडेट »

बिना जानकारी सिलिण्डर राखे कारबाही: जिप्रका रुपन्देही

विहीबार, ३० बैशाख २०७८

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पछिको लागी भन्दै घरमा वा संस्थामा अक्सिजन सिलिण्डर स्टक नगर्न आग्रह गरेको छ । स्टक भए पनि नजिकको सुरक्षा निकायलाई जानकारी गराई दिन अनुरोध गर्दै बिना जानकारी स्टक राखेको पाईए कार्यवाही गर्ने चेतावनी पनि रुपन्देही प्रशासनले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहिबार एक सूचना जारी गर्दै कोभिडका नया भेरिएन्टबाट उत्पन्न महामारीको बिषम परिस्थितिका कारण अस्पतालहरुमा बिरामीको चाप बढेकाे र त्यसको उपचारको लागी आवश्यक पर्ने अक्सिजन ग्यासको अभावमा परिस्थिति दैनिक जटिल बन्दै गएको उल्लेख गरेको छ । अस्पतालमा अक्सिजनको अभाव भए पनि महामारीको डर र त्रासका कारण बिभिन्न ब्यक्ति तथा संस्थाले अक्सिजन सिलिण्डर घरमा लगि स्टक राख्ने गरेको सूचना जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको छ ।

महामारीको बिषम घडीमा सबै एकजुट भई महामारीको सामना गर्नु प्रत्येक नागरिकको कर्तब्य भएकोले अभाव भएको समयमा सिलिण्डर होल्ड नगर्न प्रशासनले आग्रह गरेको हो । यसरी पछि चाहिन्छ भनेर घर वा संस्थामा होल्ड गरेर राखिएका सम्पूर्ण अक्सिजन सिलिण्डरको विवरण नजिकको सुरक्षा निकायमा चाडो भन्दा चाडो जानकारी गराई दिन प्रशासनले आग्रह गरेको छ ।

“सूचनाको अवज्ञा गरि बिना जानकारी ब्यक्ति/संस्थाले अक्सिजन राखेको पाईएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने ब्यहोरा जानकारी गरिन्छ ।” सूचनामा उल्लेख गरिएको छ ।