बुटवल । कोरोना संक्रमणको दोस्रो लहरसँगै उपचारका लागि अक्सिज अभावले हाहाकार भइरहेका बेला रुपन्देहीको भैरहवामा सञ्चालित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले पनि हात उठाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै बिरामीका आफन्तहरुलाई अक्सिजनको व्यवस्था आफै गर्नु पर्ने आसय व्यक्त गरेको छ । कोभिड १९ बाट संक्रमित भई अक्सिजन उपचारमा रहेहकाहरुको लागि अस्पतालले अक्सिजन व्यवस्था गर्नका लागि एक सता अभिदेखि नै प्रयास गरे पनि असफल भएको बताउँदै आफै व्यवस्था गर्न आह्वान गरिएको हो ।
‘दैनिक करीब ७०० बढी हाराहारीमा ठूलो अक्सिजन सिलिन्डरको खपत माग भए पनि आपूर्ति गर्न जिल्लामा रहेका तीनवटै अक्सिजन प्लान्टहरुबाट मात्र नभई अन्य जिल्लाहरुबाट समेत अक्सिजन आपूर्ति गर्न कठिनाई उत्पन्न भएको अस्पतालले उल्लेख गरेको छ । ‘यस अस्पतालमा आज मिति २०७८ बैशाख २९ गते दिनको ३ देखि ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने अवस्था रहेको हुँदा त्यसपछि हुनसक्ने भवितव्यलाई मध्यनजर गरी सम्पूर्ण उपचाररत बिरामी पक्षहरुलाई यथाशिघ्र आ-आफ्नो व्यवस्थापन गर्नुहुन अन्यन्त दुखका साथ हार्दिक अनुरोध गर्दछौं ।’-विज्ञप्तिमा उल्लेख गरिएको छ,अक्सिजन आपूर्तिका लागि सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षसंग यस अस्पतालले पूनः ध्यानाकर्षणका लागि अनुरोध गर्दछौं ।

प्रतिक्रिया