बुटवल । नेपालमा नयाँ भेरियण्टको कोरोना संक्रमण दर वृद्धि भइरहेको बेला यो दर अझै करिब एक महिना लम्बिने जनस्वास्थ्यविद्ले जनाएका छन् । जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था रहेको बताएका छन् । उनले सो कुरा सामाजिक सञ्जाल फेसबुकमार्फ व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
उनले भनेका छन् ‘ आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दःुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाधान्न दैनिक किन्ने नगरौं । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दूरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौँ ।’
‘यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाई गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।’ उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया