असार १४,
काठमाण्डौं । सरकारले आजदेखि देशभर वृक्षरोपण अभियान सञ्चालन गरेको छ । हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षमा ३ करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिएको छ ।
काठमाडौंको कोटेश्वर-कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे । प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ ।
लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने निर्णयसमेत सरकारले गरेको छ । प्रधानमन्त्री ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान सुरु गरेका थिए ।
त्यही अभियानअन्तर्गत देशभरमा गरी २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७६/०७७ लाई ’वृक्षरोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण अभियान सुरु हुन लागेको हो । वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा ’क्लस्टर’ निर्धारण गरेको छ ।
प्रतिक्रिया