नेपालको शैक्षिक प्रणालीमा सुधारसँगै कार्यान्वयनका विषयमा विभिन्न माग सहित छलफल हुँदै आएको छ । तर, ती माग र छलफल अनुसार परिवर्तन र लागू भने भएका छैनन् । समय सापेक्ष,आधुनिक शिक्षा आजको आवश्यकता हो । त्यसका लागि प्राविधिक शिक्षा मूल आधार हो । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भनिएता पनि शिक्षा क्षेत्रमा ‘घोकन्ते शिक्षा ,रटन्ते बुद्धि’ भने परिवर्तन भएको छैन । परम्परागत शिक्षा र आधुनिक शिक्षा क्षेत्रमा ‘ पाटी र कापी’ मात्रै हेरफेर भएको तर, शिक्षा पद्धतिमा सिकाई पुरातन मै सिमित भएको छ।
‘समाजवादी शैक्षिक,जीवनोपयोगी सीप आजको आवश्यकता’ मा सरकारले खासै चासो देखाएको छैन । ‘प्राविधिक शिक्षा आजको आवश्यकता हो।’ यो कुरालाई बुझेर पनि प्राविधिक शिक्षामा जोड नदिनु , प्राविधिक शिक्षाका लागि सरकारी तवरबाट बढाव नदिनु , शिक्षामा बजेट छुट्टाउँदा प्राविधिक शिक्षाका लागि सामान्य बजेट बनाइनु जस्ता गतिविधिले अत्यावश्यक प्राविधिक शिक्षालाई उपेक्षा गरे जस्तो देखिन्छ । प्राविधिक शिक्षाको आवश्यकता र महत्वलाई बुझेकै हो भने यसको विकास र सम्वद्र्धनमा ढिलाई किन ? जसरी आधारभुत शिक्षालाई निःशुल्क गरिएको छ । त्यसरी अत्यावश्यक शिक्षा,प्राविधिक शिक्षालाई निःशुल्क किन नगर्ने ?
२१औं शाताब्दीमा हरेक प्रविधि सामान्य तर, प्रयोग र प्रयोजनसँगै उपलब्धीका दृष्टिकोणले निकै महत्वपूर्ण बनेका छन् । प्रविधिका सामान्य र विशेष उपकरण भए जस्तै प्रयोगकर्ता पनि सोही अनुसार रहेका छन् । अहिले सामान्य परिवारमा पनि सामान्य प्राविधिक उपकरणहरु सहज रुपमा उपलब्ध छन् । तर, ती उपकरणको निर्माण र नतीजामुखी प्रयोगको शिक्षामा भने अभाव छ । हामी प्राविधिको पहुँच र प्रविधीमैत्री वातावरणमा भएतापनि प्राविधिक शिक्षाको कमीले गर्दा अझैपनि पछि छौं । देशका केही ठूला शहरमा प्राविधिक शिक्षालयहरु भएतापनि त्यसको पहुँच ग्रामिण भेगमा पुगेको छैन । अझै भनौ भने अधिकांश ग्रामिण भेगका विद्यार्थीहरुले त्यहाँ पुगेर भाडामा वा छात्रावासमा बसेर शुल्क तिरेर पढ्न सक्दैनन् । नेपालको अत्यधिक जनसंख्या गाउँमै छ ।
तर, राज्यले ती जनताका लागि अत्वावश्यक प्राविधिक शिक्षामा भने उदासिनता देखाएको छ । सामान्य स्वास्थ्यचौकी र स्वास्थ्य जनशक्ति अभावमा उपचार नै नपाएर गाउँका जनता मृत्वुवरण गर्न बाध्य छन् । यस्तो अवस्थमा त्यहाँका जनताका सन्तानलाई प्राविधिक शिक्षा प्रदान गरेमा त्यहाँ रहेको गरिबी र अभाव दुबै समाधान हुनेथियो । गरिबका छोराछोरीले प्राविधिक शिक्षा पढ्न पाउने कि नपाउने,एक घर एक प्राविधिक विद्यार्थी कहिले हुने, शहर केन्द्रीत शिक्षालय मात्रै बढ्ने तर गाउँमा कहिले हुने ? यी जवाफ खोज्ने भन्दापनि कोभिडबाट ज्यान जोगाउने समय हो । तर, यदि समयमा नै गाउँ-गाउँमा प्राविधिक शिक्षा र प्राविधिक उत्पादन गरेको भय कोभिडबाट हुने क्षति न्यूनिकरण भने अवश्य थियो ।
स्थानीय स्तरमा समय सापेक्ष शिक्षा र रोजगारको अभावमा लाखौं नेपाली युवा विदेशिएका छन् । प्राविधिक शिक्षाकै अभावमा विदेशमा पसिना बगाउने अदक्ष जनशक्ति ग्रामिण भेगकै युवा हुन् । खाडी मुलुकमा लेबरको काम गर्ने युवाहरु प्रायः गाउँकै छन् । कामकै लागि दैनिक सयौं गाउँले युवा विदेशिन्छन् । यसको अर्थ यो होइन कि शहरका युवा विदेशिँदैनन् । तर,उनीहरु विकसित देश जाने गर्दछन् । शिक्षा र क्षमता अनुसारको देश र रोजगार उनीहरुको रोजाई हो । तर,गाउँले युवाहरु न्यूतम पारिश्रमिकमा जोखिमपूर्ण कामका लागि खाडी मुलुक जाने बाध्यता हो ।
सरकार,शिक्षा सरोकारावाला लगाएतले यस्ता समस्यालाई समाधान गर्नेतर्फ लाग्नु पर्दछ। तर, सधैं राजनीतिक अस्थिरता प्रभावमा परेर यी कुराहरुमा ध्यान पुगेको छैन । झनै अहिले कोरोना महामारीमा जनता अस्पताल,बेड र अक्सिजन पाएर मरिरहेको बेला उनीहरु आफ्नो सत्ता बचाउन,गिराउन स्वार्थमा लागि रहेका छन् । महामारीसँगै प्राविधिक शिक्षाको आवश्यकता र महत्व बढेको छ । यसै शिक्षालाई मनन गरी अहिलेदेखि नै प्राविधिक शिक्षामा जोड दिऔं, हरेक ग्रामिण क्षेत्रमा प्राविधिक शिक्षालाय स्थापना गर, गरिबले पनि सहज रुपमा प्राविधिक शिक्षा पाउने गरी निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर ।
प्रतिक्रिया