ताजा अपडेट »

बजेटको लक्ष्य हासिल गर्न अब दैनिक २३ अर्ब खर्च गर्नुपर्ने

शनिबार, १४ असार २०७६

असार १४,

काठमाडाैं । चालू वर्षको ३४६ दिनमा आठ खर्ब ७९ अर्ब खर्च गरेको सरकारलाई बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब १६ करोड खर्च गर्न दबाब रहेको छ ।सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो ।

तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै खर्च भएको छ । सरकारले बजेटको लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब १५ करोड सकाउनुपर्छ । यसका लागि दैनिक २२ अर्ब ९५ करोड खर्च गर्नुपर्ने हुन्छ । तर, सरकारले अहिलेसम्म दैनिक औसत दुई अर्ब ५४ करोड मात्रै खर्च गरिरहेकाले लक्ष्य पूरा नहुने निश्चित छ ।

सरकारले गत फागुनमा मध्यावधि समीक्षा गर्दै बजेटको आकार ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँमा झारेको थियो । संशोधित बजेटको अहिलेसम्म आठ खर्ब ७९ अर्ब ३३ लाख खर्च भएको छ । यो रकम ७३.३० प्रतिशत हो । संशोधित बजेट पनि पूरै खर्च गर्न बाँकी १९ दिनको अवधिमा दैनिक १६ अर्ब ८४ करोड खर्च गर्नुपर्छ ।- जीवन बस्नेत / नयाँ पत्रिका