असार १३,
काठमाण्डौं । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मा मुलुकको व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। यो घाटा गत वर्षको सोही अवधिको तुलनामा ९.५२ प्रतिशत बढी हो। घाटा चालु आर्थिक वर्ष सरकारले संशोधन गरेको बजेटको आकारभन्दा बढी हो। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ६ अर्ब रुपैयाँ व्यापार घाटा थियो। अघिल्लो वर्ष ११ महिनामा व्यापार घाटा १८.१८ प्रतिशतले बढेको थियो। जेठसम्मको व्यापारघाटा गत वर्षको यसै अवधिको तुलनामा करिब १ खर्ब २ अर्ब रुपैयाँ बढी हो।
व्यापारघाटा चुलिरहँदा अर्थमन्त्री युवराज खतिवडाले मुलुक विकासको गतिमा रफ्तार लिइरहेको अवस्थामा विकास निर्माण सामग्री आयात भइरहेको दाबी गरिरहेका छन्। उनका अनुसार पुँजीगत विकासका लागि आयात भइरहेकाले डराउनुपर्ने स्थिति छैन।
आन्तरिक उत्पादन न्यून भई आयातमा चाप बढ्दै जाँदा व्यापार घाटा बढेको हो। आयातमुखी अर्थतन्त्रमा परिणत भएदेखि व्यापार घाटा चुलिने क्रम जारी देखिन्छ। व्यापारघाटा बढ्दै जाँदा निर्यात भने केही हदसम्म बढेको छ। गत वर्षको ११ महिनाको तुलनामा यसपालि निर्यात १८.१८ प्रतिशत बढेको हो। तर आयातको तुलनामा निर्यातवृद्घि ओझेलमा परेको छ।
निर्यातमा सबैभन्दा बढी पशुजन्य बोसो, तेल तथा वेक्स बढी छन्। यो जम्मा १० अर्ब ९९ करोड रुपैयाँ मात्रै हो। यद्यपि, सोही वस्तुको आयात भने ३३ अर्ब ७२ करोड रुपैयाँ छ। त्यसपछि चिया, कफी, मसला ७ अर्ब ६१ करोड मात्रै निर्यात भएको छ। यद्यपि, सोही वस्तुको पनि आयात भने निर्यात कै तुलनामा बढी छ।
२ खर्ब ३१ अर्ब ७२ करोड ८० लाख रुपैयाँको इन्धन आयात भएको छ। ८७ अर्बको निर्यात भइरहँदा मुलुकमा करिब १२ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको त आयात नै भएको छ। यो गत वर्षको तुलनामा १७. ४५ प्रतिशत बढी हो। यसमा कुल कारोबारमा आयातनिर्यातको अंशमा कुनै फेरबदल आएको छैन।
आयात हुने र परनिर्भरता बढाउने वस्तुको सूचीमा दैनिक उपभोग हुने चामलसमेत छ। समीक्षा अवधिमा अन्न मात्रै ४७ अर्ब ९६ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांकले देखाउँछ।
यस आवमा करिब २३ अर्ब रुपैयाँको हवाईजहाज, स्पेसक्रफ्ट तथा पार्टपूर्जा आयात भएको छ। फलाम तथा स्पातको आयात १ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। गाडी तथा यस पार्ट्स ८४ अर्ब ४२ करोड रुपैयाँ बराबरको आयात भएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा शोधानान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा देखाएको छ।
प्रतिक्रिया