ताजा अपडेट »

बुटवल उपमहानगरकाे घर-दैलाे सेवा : परामर्श र औषधिदेखि अक्सिजनसम्म

आइतबार, २६ बैशाख २०७८

बुटवल । कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको घर-घरमै सेवा पुर्याउने तथा चिकित्सकीय परामर्शसहित औषधिहरु उलब्ध गराउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।

महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघसंस्थाहरुसंगको सहकार्यमा उपमहानगरले अभियान जारी राखेको उनले बताए । यसैगरी कोरोना संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा सहयोग पुर्याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको प्रवक्ता रेग्मीले जानकारी गराए ।

अक्सिजन बैंकबाट आइसोलेशनमा रहेकाहरुलाई सेवा
उपमहानगरपालिका भित्र होम आइसोलेसन, होटल आइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई लक्षित गरी उपमहानगरले अक्सिजन बैंक सञ्चालन गरेको छ । निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरुलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ ।

बैंकमार्फत हालसम्म २७० जना बढी संक्रमितहरुले घरमै बसेर सेवा लिएका छन् । अहिले पनि २१० ले सेवा लिइरहेको उपमहानगरले जनाएको छ । पाँचजना स्वास्थ्यकर्मीहरुसहितको ४ वटा समूह निर्माण गरी संक्रमितहरुको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको छ । अक्सिजन बैंकले स्थापना भएको ५ दिनको अवधिमा दैनिक ५०/६० जना संक्रमितहरुलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरेको छ ।

लायन्स क्लब अफ बुटवल यरीया ४ ले सिलिण्डरहरु रिफिल गर्नुका साथै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको थियो । बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैकंमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

संक्रमित भई आइसोलेशनमा रहेकाहरुलाई सेवा दिन लोड गरिँदै अक्सिजन सिलिण्डर

आइसोलेसन निर्माण तथा घरदैलोमै आयुर्वेद औषधि
बुटवल उपमहानगरले कोरोना संक्रमणको दोस्रो लहरसँगै आइसोलेशन सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरले हाल बुटवल-११ देविनगरमा अवस्थित एन्फा एकेडेमीमा ४० जना क्षमताको आइसोलेशन सेन्टर स्थापना गरी सञ्चालन गरीरहेको छ भने थप क्षमता काविसका लागि समेत तयारी अवस्थामा रहेको बताएको छ ।

उपमहानगरमा थप आइसोलेशन आवश्यक परेको अवस्थामा बुटवल-११ र बुटवल–१३ नवनिर्मित वडा भवनलाई आइसोलेशनका रुपमा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको उनले बताए । यसैगरी पमहानगरले संक्रमितको घरदैलोमै भिटामिन सि, भिटामिन बि कम्प्लेक्स, जिकं, पेन्टाप्राजोल, सिटामोल, गिलोये चुर्ण, अमला चुर्ण सहितका आयुर्वेद औषधि वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

पीसीआर परीक्षका लागि स्वाब संकलन हुँदै

नि:शुल्क पीसीआर परीक्षण तथा एम्बुलेन्स सेवा
उपमहानगरले १९ वटै वडाहरुमा संक्रमितको कन्टक्टमा रहेका नजिकका व्यक्तिहरुको निशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब परीक्षण गर्ने गरिएको उपहानगरका स्वास्थ्य शाखा प्रतिनिधिले बताए । हालसम्म दोस्रो लहर सुरु भएयता एक हजार ५५ जनाको निःशुल्क स्वाब परीक्षण गरिएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी उपमहानगरको स्वास्थ्य शाखा र वडामा आउने सूचनाका आधारमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरिएको प्रवक्ता रेग्मीले बताए ।